आठविसकोटमा बैंकका कर्मचारीले ‘हिनामिना’ गरेको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता

आइतबार, फागुन १३, २०८०

रुकुम पश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखामा अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो । 

आईतबार १४ जना ग्राहकको रकम उहाँहरुकै खातामा जम्मा गरिएको हो । अपरेशन ईन्चार्ज शाहले ग्राहकको रकम हिनाहिना गरेको गुनासोपछि संगठित भएका पीडितहरुले लगातारको दवावपछि आफ्नो रकम फिर्ता पाएको बताएका छन् । पीडितहरुको तर्फबाट छानबिन समितिको संयोजक रहनुभएका विद्यार्थी नेता हरि पुनका अनुसार आज बैंकले विभिन्न १४ जना पीडितहरुको रकम फिर्ता गरेको हो । 

उहाँका अनुसार बैंकको खातावालाहरु खले कामीको एक लाख, पदम कुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मन बहादुर कुसारीको दुई लाख १६ हजार, काली बहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको ६ लाख ९९ हजार र नयन सिंह ओलीको सात लाख रुपियाँ फिर्ता गरिएको हो । 

त्यसैगरी जितबहादुर खत्रीको ६ लाख, रेखा कुमारी रावतको एक लाख ५० हजार, डण्डे कुसारीको आठ लाख, पीसजोन बोर्डिङ स्कुलको नौ लाख, शंकर बहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र बिमला ओलीको चार लाख रुपियाँ उहाँहरुकै खातामा बैंकले जम्मा गरिदिएको हो । 

बैंककै जिम्मेवार कर्मचारीले सेवाग्राहीको रकम अपचलन गरेपछि बैंकले जिम्मेवार भएर उक्त रकम फिर्ता गरेको हो । रकम हिनामिनाको आरोप लागेका शाह भने फरार रहेको बताईन्छ । 

बैंकमा रकम हिनामिना भएको गुनासोपछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आन्तरिक छानबिन टोली आठविसकोट आएको थियो ।  बैंकले कर्मचारी शाह बिरुद्ध बैङ्किङ कसुर शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा समेत दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयले अपरेशन ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थान्तरण गर्ने गरेको आरोपसहितको मुद्धा दर्ता भएको र प्रहरीले छानबिन सुरु गरेको जनाएको छ ।

उक्त मुद्धामा प्रारम्भिक छानबिनको क्रममा शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको उल्लेख छ । उक्त रकम विभिन्न सरकारी निकायको भएको बताईन्छ । 

सम्बन्धित समाचार ...

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्