बचतकर्ताको ‘करोडौ रकम कुम्ल्याएर’ प्रभु बैंक आठविसकोटका कर्मचारी गायब !

शुक्रबार, माघ २६, २०८०

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर गायब भएको बताईएको छ । 

बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली आईपुगेको छ । श्रोतका अनुसार उक्त टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने थप अनुसन्धानका लागि केन्द्रिय टोली समेत आउने भएको छ । 

आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले ठुलै रकम लिएर कर्मचारी भागेको कुरा आफूले सुनेको तर यथार्थ कुरा बुझ्न बाँकि रहेको बताउनुभयो । छानबिनको लागि बैंकको माथिल्लो निकायबाट टिम आएको समेत नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

मूलपाटीको सम्पर्कमा आउनुभएका एक बचतकर्ताले आफ्नो खाताबाट जानकारी बिनै १० लाख रकम अर्काको खातामा ट्रान्सफर गरिएको पत्ता लागेको बताउनुभयो । बैंकमा गएर बुझ्दा आफ्नो खाताको रकम अन्तै पठाईसकिएको पाईएपछि आफुहरुले त्यसो गर्ने कर्मचारी प्रति कारबाहिको माग गरेको बताउनुभयो । 

श्रोतका अनुसार ती कर्मचारीले विभिन्न व्यक्तिका खाताको रकम निकालेर दुरुपयोग गरेका छन् । वडा कार्यालय, नगरपालिका समेतको नाममा रहेको खाताको रकम दुरुपयोग भएको बताईन्छ । कति जनाको र कति रकम कानून विपरित निकालियो भन्ने विषयमा बैंकले बाहिर खुलाउन चाहेको छैन । 

रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताईन्छ । शाहले उपचारको लागि भन्दै सात दिन पहिला १२ दिनको बिदा लिएर गएको बताईन्छ ।

यस बिषयमा शाखा प्रबन्धक डम्बर गौतमको मोबाईल नम्वर .......५०१ मा पटक पटक फोन गर्दा पनि फोन उठेन । लामो समयदेखि उक्त बैंकको सेवाको विषयमा ग्राहकहरुको गुनासो रहदै आएको थियो । श्रोतका अनुसार सयौ बचतकर्ताहरुको रकम हिनामिना भएको छ ।

बैंकले आन्तरिक छानबिन गरिरहेकोले यस विषयमा यथार्थ विवरण आउने र दोषिलाई कारबाहि गर्ने भन्दै बचतकर्ताहरुलाई हल्ला नगरिदिन अनुरोध गर्ने गरेको बताईएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्