प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख 'हिनामिना' भएको प्रारम्भिक निष्कर्ष

सात दिन देखि आरोपी कमर्चारी फरार
शनिबार, माघ २७, २०८०

प्रभु बैंकका आठविसकोट शाखाका एक कर्मचारीले ग्राहकको एक करोड ३५ लाख रुपियाँ हिनामिना प्रारम्भिक छानबिनको क्रममा भेटिएको छ ।   

बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको छ । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाईएपछि उक्त रहस्य खुलेको हो ।

बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा चलाउने तयारी गरेको छ । 

प्रारम्भिक छानबिनपछि जिल्ला प्रहरी कार्यालयमा आएको उक्त टोलीले इन्चार्ज शाहले करिब एक करोड ३५ लाख रुपियाँ हिनामिना गरेको निश्कर्ष निकालेको छ । मुद्धाको प्रकृति अनुसार जिल्लामा उक्त मुद्धा नचल्ने भएपछि उच्च अदालतमा जाने निश्कर्षका साथ बैंकको टोली गएको प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

बैकलाई उद्धृत गर्नुहुँदै उहाँले खातावालाको रकम आफु अनुकुल निकाल्ने, अपचलन गर्ने गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । खातामा जम्मा गर्न आएकाहरुको ठुलो रकम अहिले बैंकको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत बताईएको छ । 

बैंकको आन्तरिक छानबिन टोलीले शाखामा कार्यरत सबै कर्मचारीहरुलाई कारबाहिको प्रक्रियामा लिएको बुझिएको छ । उक्त शाखामा कार्यरत नौ जना कर्मचारीहरुलाई जिम्मेवारविहिन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अप्रेशन इन्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर व्यक्तिगत र सरकारी निकाय समेतको रकम हिनामिना गरेको पाईएको छ ।

प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडिबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाईन्छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् । 

पीडितहरुले दिएको जानकारी अनुसार शाहले आठविसकोट नगरपालिका –१३ का शंकर पुनको खाताबाट १० लाख, वडा नम्वर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाईएको छ । यसका साथै वडा नम्वर १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपियाँ इन्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको पाईएको छ । 

रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताईन्छ । शाहले उपचारको लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्विकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिनुभयो । यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहिको प्रक्रियामा जाने बैंकको भनाई छ । 

सम्बन्धित समाचार ...

बचतकर्ताको ‘करोडौ रकम कुम्ल्याएर’ प्रभु बैंक आठविसकोटका कर्मचारी गायब !

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्