नेभिगेशन
समाज

होप परियोजनाद्वारा पाँच समुहका सदस्यहरुलाई पानीका फिल्टर र तरकारीको बिउ वितरण

रुकुम पश्चिमकोको आठबिसकोट नगरपालिका ७ र ८ का रहेका पाँच वटा कृषक समुहलाई पानीका फिल्टर र तरकारीको बिउ वितरण गरिएको छ । 
सहास नेपाल र ग्रामीण युवा सरोकार केन्द्रको साझेदारिमा सन्चालित होप परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका ८ मा गठन गरिएको काँडाचौर कृषक समुहमा पानीका फिल्टर वितरण गरिएको हो भने सोही वडाको चौतारी कृषक समुह र चुर्तिपाखा कृषक समूहलाई तरकारीको बिउ उपलब्ध गराईएको हो । त्यसैगरी वडा नम्वर ७ को साउनेपानी कृषक समूह र दाँजे कृषक समूहलाई पनि तरिकारीको बिउ वितरण गरिएको हो ।

परियोजनाका संवाद सहायक रिता ओलीका अनुसार बिहिबार काँडाचौर कृषक समुहका २५ जना  सदस्यहरूलाई स्वच्छ खानेपानीको पहुँचमा सहयोग पुर्‍याउने तथा स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पानी फिल्टर वितरण गरिएको हो ।

सो अवसरमा कृषक समूहका सदस्यहरूलाई पानी फिल्टरको महत्व, यसको प्रयोग विधि तथा सरसफाइ र स्वास्थ्यसँग यसको सम्बन्धबारे जानकारी गराइएको थियो। त्यसैगरी पानी फिल्टरको सहि र उचित प्रयोग र नियमित सरसफाइ गर्नुपर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।

यस कार्यक्रमले कृषक समूहका सदस्यहरूको स्वच्छ खानेपानी प्रयोग गर्ने बानीको विकास गर्न तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी वडा नम्वर ७ को साउनेपानी कृषक समूह र दाँजे कृषक समूह, वडा नम्बर ८ को चौतारी कृषक समूह र चुर्तिपाखा कृषक समूहमा तरकारीको बिउ उपलब्ध गराईएको छ । समुहका सदस्यहरुको जिविकोपार्जन र पोषणमा सुधार ल्याउने उद्देश्यले बन्दा, काउली , धनियाँ, मुला र केराउको बिउ वितरण गरिएको हो । 

वडा नम्वर ८ का वडा अध्यक्ष खकेन्द्र बिकले समुहका सदस्यहरुलाई पानीका फिल्टर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा समूहका अध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। 

hope-(3)-1793892273.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज