बैंकका कर्मचारीबाटै रकम अपचलन

‘मैले १७ लाख रुपियाँ बैंकमा दिएको हुँ, हराएको सुनेर छाँगाबाट खसेजस्तो भएको छु’

सोमबार, माघ २९, २०८०
  • डण्डे कुसारी

मेरो माईलो छोरा वैदेशिक रोजगारीमा जाने क्रममा अहिले अर्को देश पुगेको छ । महिनौ भयो गन्तव्यमा नपुगेर अर्काको देशमा रोकिएको छ । हामीले ऋण कारेर, जग्गा बेचेर छोरालाई राम्रो देशमा रोजगारीको लागि पठाउन थालेका हौ ।

छोरालाई पैसा चाहिएपछि जसोतसो गरेर पैसा जम्मा गरेका थियौ । उक्त पैसा पठाउनको लागि म माघ १७ गतेका दिन राडिमा रहेको प्रभु बैंकमा गए । हाम्रो यस पालिका क्षेत्रमा यो एक मात्र बैंक हो । यहाँ सिंगो आठविसकोटवासीको कारोवार हुन्छ, पसिना र रगत साटेर कमाएको एक–एक रकम सबैले यहि बचत गर्छौ । बैंकप्रति सबैको विश्वास र भरोसा पनि रहेको हुन्छ । 

बैंकमा गएर त्यहाँका निराजन बाबू (बैंकका अपरेशन ईन्चार्ज निरज बिक्रम शाह) लाई भेटे । उहाँलाई यो पैसा आईपिएस गरेर पठाउनुछ भने । उहाँले ‘भैहाल्छ, म गर्दिन्छु’ भन्नुभयो । मैले १७ लाख रुपियाँ उहाँको टेबलमा राखिदिए । उहाँले पैसा गनेर कम्फर्म गर्नुभयो । 

आईपिएसको फाराम भर्नुभयो । मैले सहि गरे । उहाँले पनि सहि गरेर बैंकको छाप समेत हान्नुभयो । फारामको तल्लो प्रति मलाई दिनुभयो । त्यसमा कस्को, कति पैसा, कस्लाई पठाउने सुनिश्चित गरेर बैंकको छाप हानेर हस्ताक्षर समेत गरिएको छ । 

recieve letter1707703901.png

म त्यहि पर्खिरहेको थिए । उहाँले ‘नेट चलेन, दुई तीन घण्टाभित्र चल्छ, म पठाईहाल्छु, यो पैसा रिसिभ गरेको प्रमाण उता पठाईदिए हुन्छ, यहाँ बस्नुपर्दैन’ भन्नुभयो । मैले पनि बैंकले छाप हानेको, रकम बुझेको कागज लिएर निस्के । 

छोराको लागि जस्लाई पैसा पठाउनु थियो, उहाँलाई त्यो कागज पठाईदिए । आजै आउँछ भनेर खबर गरे । भोलिपल्ट अझै पैसा जम्मा भएको छैन भनेर काठमाडौबाट खबर आयो । मैले निराजनलाई पैसा अझै जम्मा गएको छैन रे, किन के भयो भनेर फोन गरे । उहाँले यताबाट भन्नुभयो, ‘हिजोदेखि सिस्टमले काम गरेको छैन, आज जम्मा गर्दिन्छु, ढुक्क हुनुस्, अब फोन गर्न पर्दैन ।’ 

‘छोरा अर्काको देशमा अलपत्र जस्तै छ, उसलाई पठाउन भनेर जम्मा गरेका १७ लाख रुपियाँ बैंककै कर्मचारीले गायब गरेको खबर छ । हामीलाई ठुलो तनाव भएको छ ।’

म आज त काम होला भनेर ढुक्क भए । काठमाडौ र यता छोरालाई त्यहि अनुसारको खबर गरे । छोरा आत्तिएको थियो । पैसा नभएर अगाडि बढ्न पाईएको छैन भनेर घरमा गुनासो गरिरहेको थियो । 

शुक्रबार साँझसम्म पनि आईपिएस गरेको पैसा दिएको खातामा जम्मा भएनछ । उता छोरालाई तनाव, यता हामीलाई । छोरा अर्काको देशमा अलपत्र पर्ने हो कि भन्ने पीरमा घरमा झन् तनाव भयो । 

आईतबार निराजनको मोबाईलमा फोन गरे । उहाँले म त नेपालगञ्ज आएको छु । त्यहि गएर बैंकमा बुझ्नु, फोन गरेर तनाव नदिनु भन्नुभयो । 

म बैंकमा आएर यो कुरा भने । बैंकका अरु कर्मचारीहरुले ‘उहाँ त बिदामा जानुभएको छ, उहाँ आएपछि आफै गर्नुहुन्छ, हामीलाई पैसा दिनुभएको छैन’ भन्नुभयो । मलाई ठुलो तनाव भयो । त्यसदिन यता राम्रोसँग खान र निदाउन सकिरहेको छैन ।

अस्तिदेखि बैंकको पैसा हिनामिना गरेर निराजन फरार भएको समाचार आईरहेको छ । जानकारी र अनुमति बिनै धेरै जनाको रुपियाँ बैंकको खाताबाट निकालेको गुनासो छ । हामीलाई घरमा ठुलो सन्ताप परेको छ । उता छोराको पीर, यता ऋण, सापट गरेर निकालेको पैसा दिएर बैंककै कर्मचारी गायब ! 

अब हामी के कसो गर्ने हो ? त्यो पैसा पाउँला कि नपाउँला । फरार भएका भनिएका निराजन आउँलान् कि नआउलान् ? यो सम्झेर म छाँगाबाट खसेजस्तो भएको छु । परिवारमा साह्रै तनाव भएको छ । 

- (आठविसकोट नगरपालिका –१२, रुकुम पश्चिम निवासी कुसारीसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचार ...

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्