प्रभु बैंक आठविसकोट : कर्मचारीको जिम्मेवारी खोसियो, नयाँ कर्मचारीबाट दैनिक काम 

आइतबार, माघ २८, २०८०

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकमा भएको रकम अपचलनको घटना सार्वजनिक भएपछि कार्यरत सबै कर्मचारीको जिम्मेवारी खोसिएको छ । 

बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाह (निराजन) ले दर्जनौ ग्राहकहरुको रकम अपचलन गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन गरिरहेको छ । बैंकका कर्णाली प्रदेश शाखा प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले शाहले एक करोड ३५ लाख रुपियाँ अपचलन गरेको प्रारम्भिक निश्कर्ष समेत निकालेको बताइन्छ । 

उक्त घटना बाहिरिएपछि अहिले उक्त शाखामा कार्यरत शाखा प्रबन्धकसहितका कर्मचारीहरुलाई जिम्मेवारीमुक्त गरिएको छ । शाखा प्रबन्धक डम्बर गौतमले उक्त घटनाको छानबिन चलिरहेकोले आफुसहितका कर्मचारीहरुको जिम्मेवारी खोसर नयाँ कर्मचारीबाट नियमित काम भईरहेको बताउनुभयो । जिम्मेवारी दिएका कर्मचारीले बदमासीको गरेको गुनासोपछि सबै कर्मचारीहरु मारमा परेको उहाँको भनाई छ ।  

नौ जना कर्मचारी कार्यरत रहेकोमा करार र कार्यालय सहयोगी बाहेकका अरु कर्मचारीहरुको जिम्मेवारी खोसिएको हो । आजदेखि कर्णाली प्रादेशिक कार्यालयका प्रमुख तिमिल्सिनासहितको ६ जनाको नयाँ कर्मचारीको टोलीले शाखामा काम गरिरहेको बताईन्छ । यसका साथै केहि थप कर्मचारीहरु काठमाडौबाट आउदै गरेको बताईन्छ । 

ग्राहकको बैंक खातामा अपरेशन ईन्चार्ज शाहले अनूमति बिना, किर्ते हस्ताक्षर गरेर करोड रकम अपचलन गरेको खबरपछि उक्त शाखामा दिनभर ग्राहकहरुको भिड रहेको थियो । अधिकांश बचतकर्ताहरु आफ्नो पनि खाताको रकम दुरुपयोग भएको चिन्ता बोकेर बैंकमा आएको बताईन्छ । 

बैंकले ग्राहकका गुनासोहरु उपर आवश्यक कारबाहि सुरु गरिएको र केहि दिनमा अपचलन भएको विवरण पत्ता लाग्ने जनाएको छ । 

सम्बन्धित समाचार ...

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्