नेभिगेशन
खेल

सहिद स्मृति मेला सम्पन्न

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको मग्मामा सञ्चालित सहिद स्मृति मेला–२०८३ सम्पन्न भएको छ ।

प्रगतिशील युवा क्लब बाँफिकोट–६र७ को आयोजनामा गत कात्तिक ६ गतेदेखि सुरु भएको मेला कात्तिक १० गते सम्पन्न भएको हो । मेलामा पुरुष भलिबल, ब्याडमिन्टन प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको पुरुष भलिबल प्रतियोगितामा आयोजक ए टिम बाँफिकोट गाउँपालिका वडा नम्बर ७ ले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलको टिमले दृतीय स्थान हासिल गरेको छ भने सानीभेरी गाउँपालिका वडा नम्बर ३ को टिम तृतीय भएको छ ।

प्रतियोगितामा आयोजक बी टिम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ ले सान्त्वना स्थान प्राप्त गरेको आयोजक प्रगतिशील युवा क्लबले जनाएको छ । मेलाको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शिशिर केसी र रोहित ओलीको जोडी प्रथम भएको छ ।

त्यसैगरी खिम खनाल र खुबी शाहीको जोडीले दृतीय स्थान हासिल गर्दा खगेन्द्र खनाल र विशाल विष्टको जोडीले सान्त्वना स्थान प्राप्त गरेको छ । मेलामा खेलकुद प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

विभिन्न स्थानबाट सहभागी कलाकार तथा सांस्कृतिक समूहले मौलिक कला र संस्कृति झल्काउने मयूर नाच, सिङ्गारु नाच, सांस्कृतिक झाँकी तथा एकल नृत्य प्रस्तुत गरेका थिए । क्लबले देश तथा विदेशमा रहेका आर्थिक सहयोगदाता, व्यवसायी, स्थानीय सरकार, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेवक, कलाकार, खेलाडी , दर्शकहरू भौतिक, नैतिक तथा व्यवस्थापकीय सहयोग गर्ने सबैप्रति आयोजकले कृतज्ञता व्यक्त गरेको छ ।

त्यसैगरी आयोजकले मेलाका क्रममा भएका कमी–कमजोरीप्रति क्षमायाचना गर्दै प्राप्त सुझाव र सल्लाहलाई आगामी दिनमा मार्गदर्शनका रूपमा लिने प्रतिबद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल