नेभिगेशन
घटना/दुर्घटना

रुकुमबाट सुन र रुपियाँ चोरेर भागेका राम पर्सामा पक्राउ

रुकुम पश्चिममा घरभित्र राखिएको पाँच लाख १५ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ का स्थायी बासिन्दा १८ वर्षीय गणेश कुमार राम रहेका छन् । उनी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० मा डेरा गरी बस्दै आएका थिए।

गत कात्तिक ४ गते त्रिवेणी गाउँपालिका–१० स्थित घमण्ड बहादुर बुढाको घरको कोठाभित्र राखिएको पाँच लाख १५ हजार रुपैयाँ नगद र आठ आनाको सुनको तिलहरी चोरी भएको थियो। घटनाको जानकारी पाएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनापछि राम फरार रहेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्सासँगको समन्वयमा प्रहरीले आरोपित रामलाई कात्तिक ६ गते वीरगञ्ज महानगरपालिकाको लिङ्क रोडस्थित खानतलासीका क्रममा फेला पारेको हो। प्रहरीले उनको साथबाट चोरी भएको रकममध्ये दुई लाख ६ हजार रुपैयाँ नगद, एक थान कीप्याड मोबाइल र एक थान सिमकार्ड बरामद गरेको जनाएको छ। पक्राउ परेका रामलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना