नेभिगेशन
राष्ट्रिय

कर्णालीको उत्कृष्ट गाउँपालिकाका रूपमा रुकुम पश्चिमको सानीभेरी छनोट

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशको उत्कृष्ट गाउँपालिकाका रूपमा छनोट भएको छ।

विद्यालय शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै प्रधानाध्यापक संघ नेपालले  सानीभेरी गाउँपालिकालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ । प्रधानाध्यापक संघ नेपालले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ को अवसरमा सानीभेरी गाउँपालिकालाई कर्णाली प्रदेशको उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको छ। संघले विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, विशिष्ट शिक्षाविद् तथा सञ्चारकर्मीहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्ने जनाएको छ।

यसै क्रममा कर्णाली प्रदेशको उत्कृष्ट गाउँपालिकाका रूपमा सानीभेरी गाउँपालिकालाई छनोट गरिएको हो। सम्मानका लागि गठित समितिले निष्पक्ष, पारदर्शी, विश्वसनीय र योगदानमा आधारित छनोट प्रक्रियाबाट सानीभेरी गाउँपालिकालाई छनोट गरेको संघले जनाएको छ। संघले गाउँपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी मंसिर ४ गते सम्मान तथा पुरस्कार ग्रहणका लागि औपचारिक निमन्त्रणा गरेको छ।

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी मंसिर ४ गते धनुषाको जनकपुरधाममा आयोजना हुने भएको छ। जनकपुरधाम–४ स्थित महेन्द्र नारायण निधि सभा हलमा हुने कार्यक्रममा सानीभेरी गाउँपालिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। सम्मेलनको मूल नारा (‘Let's Build Better Schools, Together’’ अर्थात् ‘आउनुहोस्, मिलेर अझ राम्रा विद्यालय निर्माण गरौँ’ रहेको छ।

संघले उक्त कार्यक्रममा गाउँपालिकाको सहभागिताले नेपालको शिक्षा क्षेत्रमा उत्कृष्टता, उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियानलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। विद्यालय शिक्षाको गुणस्तर सुधार तथा शिक्षा क्षेत्रमा स्थानीय सरकारको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गर्न लागिएको यस सम्मानले सानीभेरी गाउँपालिकाको शैक्षिक पहिचानलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय