नेभिगेशन
राजनीति

इतिहास फर्काउने दाउमा रुकुम कांग्रेस

विभाजनको गणितमा राजु केसीको कति सम्भावना ?

रुकुम पश्चिमको राजनितिक इतिहास सधैं शक्ति सन्तुलन, विचारधारा र व्यक्तित्वको टकरावले बनेको छ । एक समय नेपाली कांग्रेसले सजिलै चुनाव जितेको यो क्षेत्र पछिल्लो करिव दुइ दशक भन्दा धेरै बाम राजनीतितर्फ झुकेको छ । 

तर यसपटक फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले फेरि पुरानो इतिहास फर्काउने कि नफर्काउने भन्ने निर्णायक मोड बनाइरहेको छ । २०६४ यता लगातार चुनाव जित्दै आएका जनार्दन शर्माले यो जिल्लालाई वाम गढका रूपमा स्थापित गरेका थिए । नेकपा माओवादी केन्द्रको एकिकृत मत, बलियो संगठन र व्यक्तित्व–आधारित राजनीति उहाँको जितको आधार थियो ।

तर यसपटकको निर्वाचन अघिल्ला जस्तो छैन । समीकरण बदलिएको छ । नेतृत्वमा दरार देखिएको छ । र त्यही दरार कांग्रेसका लागि अवसर बन्न सक्ने संकेत पनि देखिदैछ ।

पार्टी भित्रको असन्तुष्टि र राजनीतिक मतभेदपछि जनार्दनले यसपाली अलग धार समातेको र नयाँ राजनीतिक संरचना अघि सारेको सन्दर्भले साविकको माओवादी केन्द्रको मतलाई दुई भागमा विभाजित गरेको छ ।

यता नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा छन् भने अर्काे तिर जनयुद्धकालदेखि आबद्ध रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अलगिएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘आँखा’ चुनाव चिह्नसहित चुनावी मैदानमा छन् । यसको सीधा अर्थ हो—पहिले एउटै झोलामा पर्ने मत अब छुट्टाछुट्टै बक्समा खस्ने पक्कापक्की हो ।

987e7b41-536e-490f-bb84-096fd95dfb02-1772459967.jpgगएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ जित–हारको अन्तर प्रायः अत्यन्तै ठूलो छैन, त्यसैमाथी ६ स्थानीय तह रहेको यो क्षेत्रमा दुइ पालिका त कांग्रेसले नै चुनाव जितेको छ । केही हजार मतको विभाजनले यसपालीको परिणाम उल्ट्याउन पनि सक्छ ।

यसपाली जनार्दनको व्यक्तिगत प्रभाव र साविकको माओवादी केन्द्र अहिलेको नेकपाको संगठनात्मक मत अलग–अलग दिशामा जाने करिव निश्चित जस्तै छ । जसले गर्दा वामको कुल शक्ति कमजोर हुन जान्छ । यही अवस्थाले कांग्रेसलाई झन मजबुद बनाएको छ । 

यही पृष्ठभूमिमा कांग्रेसका उम्मेदवार राजु केसी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका, व्यवसाय र सहकारी क्षेत्रमा सक्रिय रहँदै जिल्लासँग सम्बन्ध जोगाइराखेका केसीले आफूलाई विकासमुखी र परिणाममुखी नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् ।

उनको छवि परम्परागत भाषणभन्दा फरक छ– उद्यमशीलता, रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वमा आधारित । कोरोना महामारीका बेला सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरणजस्ता गतिविधिले स्थानीय स्तरमा विश्वास निर्माण गरेको छ ।

वाम शक्ति विभाजित देखिएको अवस्थामा स्थिर मत आधार जोगाउन सफल उम्मेदवार नै निर्णायक बन्न सक्छ । कांग्रेसले यदि आफ्नो परम्परागत मत सुरक्षित राख्दै असन्तुष्ट वाम मतदाता र नयाँ पुस्तालाई आकर्षित गर्न सफल भयो भने केसीको सम्भावना बलियो देखिन्छ ।

यसपटक अर्को ‘एक्स–फ्याक्टर’ पनि छ - राष्ट्रिय स्वतन्त्र पार्टी 

यसपटक अर्को चासोको विषय हो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव । यदि रास्वपाले असन्तुष्ट वाम मतदातालाई तान्यो भने वाम मत थप कमजोर हुन सक्छ । तर यदि वैकल्पिक राजनीति खोज्ने कांग्रेस झुकावका युवा मतदाता त्यतातिर सरे भने कांग्रेसलाई असर पर्न सक्छ ।

अर्थात्, रास्वपाको मत सानो वा ठुलो जस्तो देखिए पनि त्यसको स्रोत कुन पक्षबाट आयो भन्ने कुरा नै निर्णायक बन्न सक्छ । यसको अर्थ हो यदि रास्वपाले असन्तुष्ट वाम मत काट्यो भने वाम खेमालाई थप धक्का पुग्न सक्छ र विभाजित वाम मतमा रास्वपाको थप क्षति जोडियो भने कांग्रेसको जितको बाटो अझ फराकिलो बन्न सक्छ । रास्वपाका उम्मेदवार मानबहादुर शाही पनि पुर्व माओवादी नै हुन् । 

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार जनार्दन शर्मा कांग्रेसका गोपालजी जङ्ग शाहसँग पराजित भएका थिए । त्यो परिणामले रुकुममा कांग्रेसको सांगठनिक बल देखाएको थियो । तर द्वन्द्वकालीन राजनीति र वाम एकताले त्यसपछि शक्ति सन्तुलन ठिक उल्टो बनाएको थियो ।

रुकुम लामो समयसम्म वाम प्रभावको केन्द्र बन्यो । तर अहिले त्यही आधारभित्र दरार देखिएपछि २०६४ पछिको निरन्तरतामा आधारित राजनीति यसपाली क्रम भंग हुन सक्छ । पहिलोपटक देखिएको वाम खेमाभित्रको स्पष्ट दरारलाई कांग्रेसले अवसरमा बदल्न सके लामो समयपछि विरासत फर्काउन सक्ने छ । 

अव फागुन २१ गतेले नै तय गर्नेछ, यस पटक पनि जिल्लामा निरन्तर वाम प्रभुत्व कायम रहन्छ कि विभाजनको गणितले रुकुममा नयाँ राजनीतिक अध्याय सुरु हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्