नेभिगेशन
राजनीति

जेन–जेड पुस्ताको आन्दोलन, पुनर्जागरण र बौद्धिक वर्गको भूमिका

युरोपको पुनर्जागरणको पृष्ठभूमि हेर्दा मध्ययुगीन युरोप धार्मिक अन्धविश्वास र चर्चको सर्वसत्तात्मक नियन्त्रणमा थियो। चर्चले धर्मलाई जनतामाथि शासन गर्ने हतियारको रूपमा प्रयोग गरेको थियो । विशेष गरी १६औँ शताब्दीमा स्वर्ग जाने टिकट बेच्ने प्रचलन चर्चभित्र व्यापक भयो। जसले बढी पैसा तिथ्र्यो, उसलाई पापमुक्त हुने र स्वर्गमा जाने आश्वासन दिइन्थ्यो। यसले धर्मलाई व्यवसायमा बदल्यो र जनतामा असन्तोष फैलियो ।

यही असन्तोषकै परिणामस्वरूप सुधार आन्दोलन जन्मियो, जसले पुनर्जागरणको नाम पायो । यस आन्दोलनले मानिसलाई आलोचनात्मक सोच, विज्ञान र मानवकेन्द्रित चेतनाको बाटोमा अघि बढायो। एक किसिमले युरोपको पुनर्जागरणको पृष्ठभूमि जस्तै नेपालको जेड पुस्ते आन्दोलनको पृष्ठभूमि पनि देखिन्छ ।  

नेपालमा २०४७ को दशकपछि दलतन्त्रात्मक अभ्यास भएको र यस अवधीमा राजनीतिक दलहरू समाजका प्रमुख अवसर र पदलाई आफ्नो स्वार्थअनुसार बाँडफाँड गर्ने प्रवृत्तिमा केन्द्रित भए। राजदूत, विज्ञ, आयोग सदस्यदेखि लिएर राज्य का हरेक विज्ञ चाहिने प्रमुख पदहरू मा विज्ञता भन्दा दलको निकटता र आस्थासँग आबद्धताका आधारमा मापन गरेर बाँडिन थाले । योग्यताको भन्दा दलप्रतिको निष्ठा ठूलो मानक बन्यो ।

युरोपमा स्वर्गको टिकट पैसा तिर्नेहरूलाई बेचिन्थ्यो भने, नेपालमा पद र सम्मान दलहरुलाई हलोहाइ, आउजाउ, गुहार र चाकडी गर्नेहरूलाई बाँडियो । रोजगारका अवसरमा पहुँच हावी भयो । यसले जनतालाई असन्तुष्ट तुल्यायो र विशेष गरी शिक्षित युवामा राजनीतिक असन्तोष बढ्दै गयो । यही असन्तोष (घुसपैठ बदलाभाव र स्वार्थ समुहहरुका बिकृत कृयाकलाप घटाएर बुझ्नु पर्दा) नेपालको जेड पुस्ते आन्दोलनको रूपमा व्यक्त भयो, जसले पारदर्शिता, समान अवसर र योग्यतामा आधारित प्रणालीको माग ग¥यो ।

२०० बर्ष चलेको युरोपको पुनर्जागरण र दुइ दिनमात्र भएको नेपालको जेड पुस्ते आन्दोलनबीचको ऐतिहासिक समानताका आधारहरु धेरै छन्। सवैभन्दा बलियो आधार शक्ति र अवसरको दुरुपयोग हो । युरोपमा चर्चले धर्मलाई व्यापार बनाए जस्तै नेपालमा दलहरूले राजनीति र राज्यका पदलाई व्यापारजस्तै बाँडे। अर्को आधार जनचेतनाको उदय हो ।  

दुवै आन्दोलन शासकको स्वार्थविरुद्ध जनचेतनाबाट जन्मिएका हुन । यससैगरी नयाँ मूल्यको खोज हुनु अर्को आधार हो । युरोपमा मानवतावाद, विज्ञान, तर्कबाद, बुद्धिबादले धर्मको अन्धविश्वासलाई चुनौती दियो भने नेपालमा योग्यता, पारदर्शिता र सुशासनको मूल्यको खोजले दलको एकाधिकारलाई प्रश्न ग¥यो ।

युवा पुस्ताको सक्रियता पनि यसमा अर्को आधार हो ।  युरोपमा वैज्ञानिक, दार्शनिक र कलाकारहरूले नयाँ चेतना फैलाए भने, नेपालमा युवा पुस्ताले सडकदेखि सामाजिक सञ्जालसम्म समान अवसर र इमानदार राजनीतिका लागि आवाज उठाए ।

युरोपमा पुनर्जागरणले मानव सभ्यतालाई नयाँ दिशातर्फ मोडेको थियो । विज्ञान, कला, साहित्य र दर्शनले समाजलाई पुनःजागृत गरी यस आन्दोलनले आफ्ना धेरै उद्देश्य पूरा ग¥यो। मध्ययुगीन अन्धविश्वास भत्काएर विज्ञान र तर्कमा आधारित आधुनिक समाजको जग बसायो । 

कला र साहित्यमा स्वतन्त्रता आयो। लोकतान्त्रिक चेतना फैलियो। तर अझै पनि धार्मिक संघर्ष, असमानता र युद्धले युरोपलाई पिरोलिरहे, जसले देखाउँछ कि पुनर्जागरणका उद्देश्य पूरै पूरा भएका पनि छैनन्, । तर बिश्वस्तरमै परिवर्तनको ठुलो आधार र ठुलो परीबर्तन पनि यसबाटै भयो।

नेपालमा नेपालको जेड पुस्ते  आन्दोलन अझै प्रक्रियामा छ। यसले तत्कालिन संरचनालाई पूर्ण रूपमा भत्काउन नसके पनि चेतनाको स्तरमा ठूलो प्रश्न उठाएको छ । 

दुवै आन्दोलनले जब सत्ता र स्वार्थले समाजलाई नियन्त्रण गर्छ, तब जनतामा असन्तोषको ऊर्जा जम्मा हुन्छ र त्यो अन्ततः आन्दोलनमा परिणत हुन्छ भन्ने कुरा देखाउछन । यसरी हेर्दा, युरोपको पुनर्जागरण र नेपालको जेड पुस्ते आन्दोलन भिन्न काल र भिन्न समस्याका बीच जन्मिएका भए पनि तिनीहरूको आधारभूत समानता एउटै छ अन्धविश्वास, भ्रष्टाचार र स्वार्थविरुद्ध जनचेतनाको जागरण यी आन्दोलनका आधारहरु हुन । 

नेपालको जेड पुस्ते  आन्दोलन र बौद्धिक वर्गको भूमिका

नेपालमा बौद्धिक वर्ग र राजनितिक पाटी दुवै पक्षले प्रायः एक आपसमा एक अर्कालाइ प्रभावमा पार्ने एक अर्काका शक्क्ति उपयोग आफ्नो गरेर एकले अर्काबाट काम तमाम गरेर परम्परा धान्ने थिति छ । बौद्धिक बर्गले पाटी खरिद गर्ने र पाटिले बौद्धिक बर्ग खरीद गर्ने गोलचक्कर सवैले देखे भोगेकै हो ।

यसरी पाटीहरु र बौद्धिकहरु बिकाउ माल बन्ने र चिज लाइ बिगार्न भन्दा अव बौद्धिक बर्ग र पाटी दुवै तप्काले आफ्नो भूमिका परिवर्तन गर्न सके, नेपालको जेड पुस्ते आन्दोलनलाई सकारात्मक नतिजा सहित स्थायी र सफल बनाउन सकिन्छ। बौद्धिक तप्का प्रायः दल, पद र व्यक्तिगत स्वार्थसँग जोडिन्छ । 

२०८२ भाद्र २३ र २४ को आन्दोलन क्षतिका हिसावले देशले निकै महंगो मुल्य चुकाएको आन्दोलन हो । यसलाइ नेपाली बौद्धिक तप्काले म काग्रेस एमाले माओबादी राप्रपा रास्वपा आदी हुं मेरो पाटी मातहतबाट यो आन्दोलन भएको हैन, म यसलाइ आलोचनात्मक रुपमा हेर्ने हो भनेर पन्छिदा देशलाइ निकै घाटा पर्दछ र देश सैयौ बर्ष पछि पर्दछ । 

बौद्धिक बर्गले अव यसलाइ सकारात्मक दिशामा मोड्न र यसलाइ राष्ट्रि परिघटनाको रुपमा स्विकार्न जरुरी छ । अव नेपालको जेड पुस्ते आन्दोलनमार्फत नेपाली समाजलाइ सफल बनाउन उनीहरूले स्वतन्त्र र निष्पक्ष चिन्तकमा रूपान्तरण हुनुपर्छ । कसैको पक्ष वा विपक्ष होइन, सत्य, तर्क र न्यायको पक्षमा उभिनु बौद्धिकताको पहिलो धर्म हो ।

आन्दोलन टिकाउ हुन तथ्य र प्रमाण आवश्यक हुन्छ । बौद्धिक वर्गले नीति विश्लेषण, तथ्याङ्क संकलन, अनुसन्धानमूलक लेख, सार्वजनिक बहसमार्फत आन्दोलनलाई बौद्धिक आधार दिनुपर्छ । यसरी आन्दोलन केवल भावनामा होइन, ज्ञान र प्रमाणमा अडिने हुन्छ । बौद्धिक वर्ग धेरैजसो विश्वविद्यालय, अनुसन्धान केन्द्र वा संस्थागत संरचनाभित्र मात्र सीमित रहन्छन । 

नेपालको जेड पुस्ते आन्दोलन सफल बनाउन उनीहरूले सडक र समाजमा पुगेका युवासँग प्रत्यक्ष संवाद गर्नुपर्छ। ज्ञान र ऊर्जा बीचको संयोजनले आन्दोलनलाई प्रभावकारी बनाउँछ । आन्दोलनले “समस्या छ” भन्ने मात्रै होइन, “समाधान के हो” भन्ने पनि देखाउनुपर्छ । त्यसका लागि बौद्धिक वर्गले वैकल्पिक नीति, सुशासनका नमुना, योग्यता–आधारित छनोट प्रणाली, पारदर्शी नियुक्ति प्रक्रिया जस्ता व्यावहारिक विकल्प प्रस्तुत गर्नुपर्छ । 

बौद्धिक तप्काले प्रायः जोखिम नलिने र सुरक्षित दूरीमा बस्ने प्रवृत्ति देखाउँछ। तर सफल आन्दोलनका लागि उनीहरूले निडर भएर अन्यायलाई  चिनाउने र नैतिक साहसका साथ बोल्नु आवश्यक छ । केवल प्राज्ञिक लेख वा सेमिनारमा सीमित भएर होइन, बौद्धिक वर्गले आफ्ना विचारलाई सामाजिक सञ्जाल, लेख, सार्वजनिक बहस, समुदाय कार्यक्रममार्फत जनस्तरसम्म पु¥याउनुपर्छ । यसले आन्दोलनलाई सकारात्मक बनाउँछ ।

बुद्धिजीवी र  बौद्धिक अवसरवाद

नेपालमा बौद्धिक तप्काको मान्यता पाएको बर्गको भूमिका ऐतिहासिक रूपमा दोधारे रहँदै आएको छ । एकातिर, उनीहरूले असमानता, शोषण र गलत नीतिको विरोध पनि गर्दछन भने अर्कोतिर उनिहरु नै चरम अवसरवादका गोटी पनि बनेको देखिन्छ । दोहोरो चरीत्र कै कारण उनीहरू नै राजनितिक शक्तीलाई बलियो बनाउन र पछि बिगार्न पनि जिम्मेवार बनेका छन । 

जुनसुकै समाजमा पनि बुद्धिजीवी बर्गको महारोग भनेकै  बौद्धिक अवसरवाद हो । बुद्धिजीवी भन्नाले ती व्यक्तिहरूलाई जनाइन्छ जसले समाज, राजनीति, शिक्षा र संस्कृति क्षेत्रमा गहिरो अनुसन्धान, विचार र विश्लेषण गरेर योगदान दिन्छन् । 

यी व्यक्तिहरूले केवल पदवी वा प्रमाणपत्रको लागि काम नगरी, जनचेतना जगाउने, सामाजिक न्याय सुनिश्चित गर्ने, र नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राख्छन् । नेपालमा बौद्धिक तप्का  को मान्यता पाएको बर्गमा सर्टिफिकेटधारीको ठूलो संख्या पनि देखिन्छ, जसको मुख्य चिनारी केवल डिग्री, तालिम वा तालिम प्रमाणपत्रमा हुन्छ । यस्ता व्यक्तिहरूले वास्तविक ज्ञान र सीपको प्रयोग नगरी पद, प्रतिष्ठा वा व्यक्तिगत लाभमा ध्यान केन्द्रित गर्छन् ।

२०४७ देखि २०८२ को अबधीमा धेरैजसो बौद्धिक भनाउने मान्छेहरू पार्टीभित्र विचार दिने होइन, पद पाउने लाइनमा मात्रै उभिने कसले के पद पाउने, कसले कुन समितिमा बस्ने भन्ने झमेलामै अड्किएर उनीहरू आफ्नै महत्व गुमाउने  गरेकोले पार्टीभित्र आत्मालोचना भन्ने कुरा हराउँदै गयो, सही गलतको छुट्याउने आँट देखाउन सकेनन्। नीति, सिद्धान्त, मूल्यहरू सबैतिर कमजोर परे र दलहरू बिस्तारै जनताबाट टाढा–टाढा जान थाले ।

जेड पुस्ताको आन्दोलन  नयाँ सोच र नयाँ दिशाले अगाडि बढ्दै जादा त्यही आन्दोलनलाई देखेर कतिपय बौद्धिक भनाउने अवसरवादी मान्छेहरू आन्दोलनलाई विचार, सिद्धान्त र मूल्यभन्दा बढी आफ्नै व्यक्तिगत स्वार्थतिर मोड्ने संभावना हुन्छ । आन्दोलनको जोश, उत्साह र विश्वासलाई प्रयोग गरेर केही मान्छेले आफ्नो नाम, पद र लाभ मात्र खोज्ने सम्भावना हुन्छ ।

दलहरूले बौद्धिकहरूको आवरण लगाएर आफ्नो कमजोरी लुकाए, गलत निर्णयलाई पनि वैधता दिलाए। ज्ञान, सिद्धान्त र विचारको नाममा त्यस्तो धोका गरियो। त्यस्तै अवस्था फेरि आउन सक्छ । जेड पुस्ताको आन्दोलन भित्रैबाट कमजोर पार्ने, विचलन ल्याउने र दिशाभ्रष्ट बनाउने खेल सुरु हुन सक्छ। त्यसैले यो आन्दोलनमा संलग्न युवाहरू, ग्रामीण तहका कार्यकर्ता, विद्यार्थी र बुद्धिजीवी सबै सजग रहनुपर्छ । आन्दोलनका् मेन्डेट सार्थक बनाउन अवसरवादी पात्रलाई चिन्नु र रोक्नु जरुरी हुन्छ । 

गाउँघरका जनताले पनि आँखा खुलाएर हेर्नुपर्छ, किनभने आन्दोलन जनताको बलमा मात्र टिक्छ। अवसरवादीले आन्दोलनलाई कब्जा गर्न नपाओस् भने मात्र जेड पुस्ताको आन्दोलन साँच्चिकै जनताको सपना पुरा गर्ने बाटोमा अगाडि बढ्छ । 

यदि बौद्धिक वर्ग फेरि अवसरवादी र दलपक्षीय सोचमा फस्छ भने, आन्दोलनलाई कमजोर पार्ने, दिशा भट्काउने खतरा रहन्छ। तर उनीहरूले स्वतन्त्र, नैतिक र पारदर्शी भूमिका निर्वाह गरेमा, नेपालको जेड पुस्ते  आन्दोलन केवल आन्दोलनमै सीमित रहँदैन; यो दीर्घकालीन सुधार, सुशासन र समान अवसरको मार्ग खोल्ने शक्ति बन्न सक्छ।

सारमा भन्नुपर्दा, नेपालको जेड पुस्ते आन्दोलनको सफलता अब बौद्धिक वर्गको नैतिक जागरणमा निर्भर छ। उनीहरूले बेइमानी र स्वार्थबाट माथि उठेर जनता र युवाको ऊर्जा सही दिशा दिन सके, भने मात्र यो आन्दोलन स्थायी र प्रभावकारी बन्न सक्छ ।

विश्वका जनचेतना मुलक आन्दोलनसँग नेपालको जेड पुस्ता आन्दोलनको तुलना

विश्वका विभिन्न समाज सुधार र स्वतन्त्रता आन्दोलनहरूले मानव अधिकार, समानता, र राष्ट्रिय चेतना जगाउन महत्वपूर्ण भूमिका खेले । भारतको स्वतन्त्रता आन्दोलनले ब्रिटिश उपनिवेशवाद अन्त्य गरी स्वतन्त्र भारत स्थापना ग¥यो, जसका प्रमुख नेता महात्मा गान्धी, जवाहरलाल नेहरू, सुभाष चन्द्र बोस र सर्दार पटेल थिए। यसले सती प्रथा, बालविवाह, जातीय विभेद जस्ता सामाजिक कुरीतिहरू हटाउने प्रयास ग¥यो ।

अमेरिकाको नागरिक अधिकार आन्दोलनले कालो समुदाय र सेतो समुदायबीच कानुनी समानता स्थापना ग¥यो र Civil Rights Act १९६४ तथा Voting Rights Act १९६५ जस्ता ऐतिहासिक उपलब्धि हासिल ग¥यो। चीनको ‘मे चौथो आन्दोलन’ले विदेशी हस्तक्षेप, सामन्तवाद र असमान व्यवस्थाविरुद्ध चेतना जगायो, आधुनिक शिक्षा र साहित्यको विकासमा योगदान पु¥यायो।

अफ्रिकाको स्वतन्त्रता आन्दोलनले उपनिवेशवाद र जातीय विभेदको अन्त्य गर्दै स्वतन्त्र राष्ट्र निर्माणमा सफलता हासिल ग¥यो। यी आन्दोलनहरूले जनचेतना जगाउने, सामाजिक न्याय र समानताको मूल्यलाई स्थापित गर्ने दिशामा ठूलो प्रभाव पारे ।

नेपालको जेड पुस्ते  आन्दोलन सफल बनाउन बौद्धिक वर्गले केही परिवर्तन गर्नुपर्छ। उनीहरूले दल र स्वार्थबाट पूर्ण रूपमा टाढा उभिनुपर्छ, आन्दोलनलाई तथ्य, अनुसन्धान र समाधानमुखी दृष्टिकोणले मार्गदर्शन गर्नुपर्छ। जनचेतना र युवा ऊर्जा सँग निरन्तर संवाद कायम राख्नु आवश्यक छ। वैकल्पिक नीति, पारदर्शी संरचना र योग्यता आधारित प्रणाली प्रस्ताव गर्नुपर्छ ।

नेपाली “जेड आन्दोलन” पनि यिनै अन्तर्राष्ट्रिय आन्दोलनहरूको सङ्गति र प्रेरणाबाट प्रभावित भएको देखिन्छ। जेड आन्दोलनले शिक्षा, रोजगार, महिला अधिकार, जातीय समानता, र राजनीतिक लोकतन्त्रमा सुधार ल्याउने उद्देश्य राख्यो । 

जस्तै भारतमा जातीय विभेद र सामाजिक कुरीतिहरू, अमेरिकामा कालो समुदायको असमानता, चीनमा विदेशी हस्तक्षेप र अफ्रिकामा उपनिवेशवादविरुद्ध संघर्ष भयो, नेपाली आन्दोलनले पनि आफ्नो परिवेशअनुसार समान उद्देश्य पूरा गर्न प्रयास गर्यो ।

यद्यपि जेड आन्दोलनले केही कानुनी र सामाजिक सुधार ल्यायो भने पनि सबै लक्ष्य पूर्ण रूपमा हासिल गर्न सकिएको छैन; जातीय, लैंगिक र आर्थिक असमानता अझै चुनौती बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्