नेभिगेशन
राजनीति

क. प्रचण्डका लागि समयको निर्मम चक्र र ओइलाउँदै गएको 'लाल' विरासत

लेखको शिर्षक हेरेरै नेपाली कम्युनिस्ट पार्टीपंक्ति र शुभचिन्तकहरूलाई पक्कै पनि केही पीडा महसुस होला। तर, वर्तमान राजनीतिका कठोर रेखाहरूले कोरेको यथार्थ यही नै हो। सत्य कहिलेकाहीँ शल्यक्रियाको चक्कु जस्तै धारिलो र पीडादायी हुन्छ, तर त्यसले समाजको वास्तविक अवस्थाको चित्रण गरिरहेको हुन्छ।

समयको चक्र र भूगोलको शरण 

समयको चक्र पनि कस्तो अनौठो ! मानिस जहाँबाट उठ्छ, सायद अन्त्यमा फेरि त्यहीँ पुग्नुपर्ने रहेछ। हिजो २०५२ सालमा जुन भूगोलबाट 'जनयुद्ध' को उद्घोष गरियो, जहाँ जनसरकारहरू बनाइए र जहाँका पाखा-पखेरामा क्रान्तिका गीतहरू गुन्जिए, आज तीन दशक लामो राजनीतिक यात्रापछि कमरेड प्रचण्डको बयोबृद्ध शरीर फेरि रुकुम र रोल्पाका उही गाउँबस्तीहरूको शरणमा पुगेको देखिन्छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व, अन्तर्राष्ट्रिय तहको शान्ति प्रक्रियाको प्रमुख पात्र र लगातार सत्ताको केन्द्रमा रहेर पटक-पटक मुलुकको बागडोर सम्हालेका व्यक्ति आज विल्कुल सत्ताविहीन भएर उही पुराना गोरेटोहरूमा भौँतारिरहेको देख्दा एउटा गम्भीर प्रश्न उब्जिन्छ - यो कुनै नयाँ पुनरागमनको तयारी हो कि राजनीतिक जीवनको एउटा दु:खद 'क्लाइमेक्स' ?

बलिदानको जग र बालुवाटारको दूरी 

हिजो रुकुम र रोल्पाका सोझा जनताले आफ्नो रगत र बलिदानको जग नहालेको भए, के प्रचण्डका लागि बालुवाटारको कुर्सी र सिंहदरबारको तामझाम सम्भव थियो ? तर विडम्बना, सत्ताको ओरालो यात्रा सुरु भएपछि मात्र नेतालाई ती आधारभूमिहरूको सम्झना आउनु राजनीतिक विडम्बना हो।

दर्जनौँ सहकर्मी साथीहरूले साथ छाडे, परिवारका सदस्यहरू गुमे र सत्ताको उन्मादमा कतै ती बलिदानीका सपनाहरू नै हराए। आज त्यही रगतको इतिहासले उनलाई काठमाडौँको सत्ताबाट टाढा लखेटेर फेरि उही भूगोलमा 'कामी बुढा'हरूको जस्तै परिचय खोज्न बाध्य पारेको छ। 'कामी बुढा' हुनुमा गौरव होला, तर कामी बुढाहरूले देखेको 'नयाँ नेपाल' को सपनामा प्रचण्डहरूले गरेको सौदाबाजीको हिसाब भने निकै महँगो देखिएको छ।

२०८२ को निर्वाचन र ओइलाउँदै गरेको 'लाल' विरासत 

२०८२ फागुनको निर्वाचन परिणामले नेपालको कम्युनिष्ट राजनीतिमा एउटा स्पष्ट तर क्रुर चित्र कोरिदिएको छ। हिजो प्रचण्डले स्थापित गरेका एजेन्डाहरू गणतन्त्र, संघीयता, र समावेशिता । आज देशको मूलधार त बने, तर ती परिवर्तनका संवाहक प्रचण्ड आफैँ भने आज आफ्नै आधारक्षेत्रमा अस्तित्वको लडाइँ लड्दै हुनुहुन्छ।

पछिल्ला वर्षहरूमा सत्ता प्राप्तिका लागि गरिएका 'यूटर्न' र अप्राकृतिक गठबन्धनहरूले उहाँको वैचारिक स्थिरतालाई यसरी खिया लगायो कि, आजको नयाँ पुस्ताले "युद्धको इतिहास" होइन, 'विकासको वर्तमान" खोजिरहेको छ। रास्वपा र बालेन शाहहरूको उदयले केवल एउटा पार्टीको हार मात्र गराएको छैन, यसले त नेपालमा "वाद" र 'इतिहासको ब्याज' खाएर राजनीति गर्ने युगको अन्त्यको संकेत गरेको छ।

जितभन्दा हार नै जाति हुने अवस्था 

कहिलेकाहीँ त लाग्छ - उहाँ र उहाँको पार्टीले चुनाव नजितेकै जाति हुन्थ्यो किरु किनकि जितेर पनि जनताको जीवनमा कुनै ठोस र अनुभूतिजन्य परिणाम दिन नसक्नुको पीडा हारभन्दा झनै भयानक हुन्छ। काम देखाउन नसकेपछि अबका पुस्ताले उहाँहरूलाई पत्याउन छाड्ने निश्चित छ।

आज रुकुम-रोल्पाको गाउँबस्तीमा देखिएको उहाँको उपस्थिति धेरैका लागि 'देखावटी पश्चात्ताप' वा आगामी चुनावका लागि बिछ्याइएको एउटा भावनात्मक जाल जस्तो मात्र देखिन थालेको छ।

अन्त्यमा इतिहासको निर्मम हिसाब 

जुन राप र तापबाट यो राजनीति सुरु भएको थियो, आज त्यो फिका बन्दै गएको छ। सत्ताको झल्कोभन्दा पनि बलिदानप्रतिको अधुरो न्यायले उहाँको उपस्थितिलाई झनै कमजोर बनाइरहेको छ। कम्युनिष्टहरूले सधैँ 'इतिहासको आवश्यकता' को कुरा गरे, तर वर्तमानको आवश्यकतालाई ठम्याउन सकेनन्।

रुकुममा प्रचण्डको उपस्थितिलाइ आफैमा कतै नराम्रो मान्नु हुदैन । तर हिजो जनयुद्धका सुप्रिम कमाण्डर राजनीतिको यो निर्मम कालखण्डमा रुकुमेली जनतासंग आउनु र जनतासंग साक्षात्कार गर्नुलाइ सामाजिक रुपमा यसलाइ सह्रानीय नै मान्नु पर्दछ ।

कमरेड प्रचण्ड आफैले नै भनेका लोकतन्त्रका सुन्दर फुलहरुले शासन गरेको देख्दा उनलाइ कतै पीडा र कतै खुसी दुबै लाग्छ होला । तर उनका समकालीन राजनीतिमा रहेको अहिलेका नेताहरुमा केपी शर्मा ओली र शेरबहादुर देउवा भन्दा उनी परिपक्व राजनितिज्ञको रुपमा आफुलाइ भने स्थापित गरेकै छन ।

यथार्थ यही हो - समयले कसैलाई पर्खिँदैन । नेपालको राजनीतिमा या आगामी विभिन्न चुनावहरुमा अब युद्धका संस्मरणहरू सुनाएर भोट माग्ने दिन सक्की सकेका छन् । हेर्दा कमरेड प्रचण्डको राजनीतिक विरासत विस्तारै धुमिल बन्दै गएको या ओइलाउँदै गएको लाल विरासत जस्तै लाग्छ । यदि यो साँच्चै नै हिजोका गल्तीहरूको प्रायश्चित हो भने इतिहासले फेरी पनि कतै सानो ठाउँ देला। अन्यथा, इतिहासले सायद यस्तै निर्मम हिसाब खोज्दो रहेछ । 

अब समयको चक्र यस्तै चलिरहे ढिलो चाँडो कमरेड प्रचण्डको अलिकति बचेको रुकुम र रोल्पाको लाल किल्लाको विरासत भने राजनिति इतिहासको अध्येताका लागि कतै पढिने एउटा रोमाञ्चक र दु:खद कथाको अन्त्यको रुपमा मात्र रहने संभावना पनि हुन सक्छ । धन्यवाद । 

(लेखक के.सी., पुर्व पत्रकार, नागरिक समाजका प्रतिनिधि र सुशासन अभियन्ता हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्