नेभिगेशन
राजनीति
प्रतिनिधि सभा निर्वाचन

मत जोगाउन दौडिरहेका जनार्दन र गोपाल, जस लिन दैलोदेखि सञ्जालमै झगडा

अरु पार्टीकै मतले चुनाव जित्ने दाउमा जनार्दन 

रुकुम पश्चिममा फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावी माहोल यो पटक अलि फरक छ । विगतको मत परिणामलाई हेरेर यसैले चुनाव जित्छ भन्ने अवस्था देखिदैन । किनकी यसअघिका २०६४ बाहेक अन्य चुनावमा गठबन्धन भएर प्रतिष्पर्धा भएका कारण कुन दलको मत कति हो भन्ने एकीन तथ्यांक छैन् । समानुपातिक तर्फको मतलाई मात्रै हेरेर यहि ब्यक्तीले चुनावमा बाजी मार्छ भन्ने देखिदैन् । 

विगतमा रुकुम भनेकै माओवादीको बिरासत हो भन्ने बुझाई पनि अव माओवादी पार्टी नै नभएपछि पूरानो भयो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीचको एकताले अहिले नेपाली कम्युनिष्ट पार्टी अर्थात् नेकपा बनेको छ । तर, रुकुमपश्चिममा २०६४ देखि निरन्तर चुनाव जित्दै आएका जनार्दन शर्मा नेकपामा छैनन् । 

पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आरोप लगाउँदै उनी प्रगतिशिल लोकतान्त्रिक पार्टी अर्थात् प्रलोपा बनाउन डा. बाबुराम भट्टराईको साथ रोजे । प्रचण्डसँग ४३ बर्ष लामो सहयात्राबाट डिभोर्स गरेका जनार्दनलाई रुकुमपश्चिममा अहिलेको चुनाव फलामको चिउरा चपाउनु सरह छ । २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट जनार्दन शर्माले पाएको करिव साढे ३९ हजार मतमाथि दुवै पक्षको दाबी छ । तर, त्यसमा कांग्रेसको पनि मत मिसिएको थियो भन्ने हेक्का दुवै पक्षले राखेको देखिदैन । 

स्थानीय तहको मत पनि गठबन्धन भएकै कारण यत्ति नै हो भन्ने देखिदैन । जसका कारण चुनाव जित्ने दुवैथरीको दाबी छ । तर, अन्य पार्टी र उम्मेद्वारबारे उनीहरु मौन छन् । दुवै पक्षको आरोप–प्रत्यारोपले विगतमा माओवादीले जिल्लामा गरिरहेका गतिविधिमाथि थुप्रै प्रश्न भने उब्जाइदिएको छ ।

सरकारी सम्पत्तिको दुरुपयोगदेखि सडक निर्माण, हेलिकोप्टरमार्फत डोजर डुवानी, हाइड्रोपावर निर्माण, रुकुम उज्यालो लगायतका कार्यक्रममा उ बेला जनार्दन शर्माको गुनगान गाएर नथाक्ने नेताहरुले अहिले भने उधारो काम भएर भुक्तानी गर्न नसकिएको सरकारी बजेट पार्टी कार्यालयमा लगानी गरेर ब्यक्तीगत सम्पत्ति बनाइएको कुरा आफै सार्वजनिक गरिरहेका छन् । 

हिजो सर्वमान्य नेता मानिएका जनार्दन शर्मा र आफ्नै नातेदार भरोसा मानिएका नेताहरुको जुहारीले चुनावलाई त रोचक बनाएकै छ । विगतको साँठगाँठलाई पनि छर्लङ्ग बनाइदिएको छ । जति चुनाव नजिकिदैछ त्यति नै उनीहरुबीच पनि अवको शक्तिशाली मै हुँ भन्ने अभिब्यक्ती सार्वजनिक भइरहेका छन् । 

२०६४ देखिको बिरासतमा अहिले जनार्दन र नेकपाका नेताहरुले आ–आफ्नै शैली र ढंगबाट दाबी गरिरहेका छन् । जनार्दन शर्मा भन्छन् मैले नै विकास निर्माणका कामदेखि पार्टीका गतिविधि चलायमान बनाएको हुँ, मेरै पक्षमा जनमत छ । तर, नेकपाका नेता तथा उमेद्वार गोपाल शर्मा अनल त्यो मान्न तयार छैनन् उनी भनिरहेका छन् विकास निर्माण र पार्टीको संगठन जनार्दन शर्माले होइन हामीले नै ज्यानको बाजी राखेर बनाएका हौं, नेता मानेका थियौं तर, जनार्दनले धोका दिए । 

पूर्वमाओवादी दुई पक्षको जुहारी सार्वजनिक कार्यक्रममा मात्रै सिमित छैन् उनीहरु सामाजिक सञ्जालमा बढी आरोप–प्रत्यारोप गरिरहेका छन् । नेकपाका नेताहरु र प्रलोपाका नेताहरुबीच सामाजिक सञ्जालमै वार चलिरहेको छ । घरदैलो अभियानमा पनि नेकपाका नेताहरु जनार्दनका कमजोरी सुनाएर जनमत सुरक्षित गर्न अनेक उपायदेखि गाली गलोजकै रुपमा प्रस्तुत भइरहे । 

हिजोको माओवादीको जनाधार आफूसँगै भएको दाबी गर्ने नेकपाका नेताहरु हरेक कार्यक्रममा जनार्दनको बिरोध गरेका भिडियो क्लिप आइरहेका छन् । अर्कोतर्फ प्रलोपा पनि जनार्दनले नै रुकुममा विकास निर्माणका काम गरेर जनताको मन जितेको भन्दै नेकपाका नेताहरुको चर्को आलोचना गरिरहेका छन् । तत्काल जनार्दनको विकल्प जनताले नखोज्ने ठोकुवा प्रलोपाका नेताहरुले गरिरहेका छन् ।

दुवै पार्टीका नेता आमने–सामने हुँदा परिस्थिति बदलिएको बेला जिल्लाका कुन उम्मेदवारले फट्को मार्छ भन्ने आकलन गर्न गाह्रो छ । दुबै पक्षका नेताहरुले मत आफ्नै पक्षमा छ भन्दै गर्दा आफ्नो मत सुरक्षित गर्दा नेपाली कांग्रेसले जित निकाल्ने आधार बलियो छ । जिल्लामा दोश्रो अवस्थामा रहेको कांग्रेस यस पटक माओवादी धारमै चार उम्मेदवार हुँदा आफ्नो मत सुरक्षित गरेर चुनाव जित्ने दाउमा रहेको छ । यसै बेला रुपान्तरित कांग्रेसको उम्मेदवारको रुपमा राजु केसी दुई दशकको कम्युनिष्ट विरासत भत्काउन कम्मर कसेर लागेका छन् । 
 
अरु पार्टीकै मतले चुनाव जित्ने दाउमा जनार्दन 

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नै चुनौती दिदै बाहिरिएका प्रलोपाका नेता जनार्दन शर्मा यो पटक जसरी भएपनि चुनाव जित्नै पर्ने दवावमा छन् । आफ्नो चुनावी लडाई पनि रुकुमपश्चिमका नेतासँग नभई प्रचण्डसँगै भएको जनार्दनको जिकिर छ । उनीले अन्तिम पटक चुनाव भिड्ने नारा दिएर चुनावी अभियान चलाएका छन् ।

सातौ पटक संसदीय चुनाव लड्न लागेका जनार्दन शर्मा २०४८ मा भने पराजित भएका थिए । त्यसपछि उनी माओवादीको सशस्त्र विद्रोहमा सहभागी भएका थिए । उनी अन्य पार्टीको साथ लिएर भएपनि रुकुमपश्चिमबाट चुनाव जितेर प्रचण्डलाई जवाफ दिन चाहन्छन् । 

मुसिकोटको बराहटाकुराको आमसभामा प्रचण्डले जनार्दनलाई भगौडाको संज्ञा दिए । जनार्दनबिरुद्ध गोपाल शर्मालाई अघि सारेका प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा उत्रिने उद्घोष पनि उतिबेला नै गरेका थिए । अहिले रुकुमपूर्वबाट चुनावी मैदानमा रहेका प्रचण्डलाई चुनौती दिन जनार्दनले रुकुमपूर्व पनि आफ्नो उम्मेद्वारका रुपमा सहिद पुत्र सन्दिप पुनलाई अघि सारेका छन् ।

अनेत्र कुनै जिल्लामा चुनाव जित्ने सम्भावना नभएपछि आफैले बनाएको सानो जिल्लामा आएर प्रचण्ड चुनाव लडेको जनार्दनको टिप्पणी छ । जनयुद्धको सुप्रिमो प्रचण्ड र सहिद पुत्र सन्दिप पुनको प्रतिष्पर्धालाई पनि चासोका साथ हेरिएको छ । 

पूर्वबाट प्रचण्डले प्रतिनिधित्व गर्न खोज्दा पश्चिमबाट पनि जनार्दनले चुनाव जित्ने सबै अस्त्र प्रयोग गरिरहेका छन् । केन्द्रबाटै सहमति गराएर जनार्दनले नेकपा एमालेको समर्थन पाइसकेका छन् । एमालेको यत्ति नै भोट जनार्दनलाई आउँछ र चुनाव जित्न सहज हुन्छ भन्ने कुनै ग्यारेण्टी त छैन् तर, विगतको चुनावमा एमालेले पाएको मतका आधारमा ८ देखि १२ हजार गणना गरेर प्रलोपाले रणनिति तय गरेको छ । रुष्ट भएका एमालेको भोट पनि बाँडिने देखिन्छ । अन्तिम चरणमा उज्यालो नेपालका उमेदवार नरेन्द्र केसीलाई पनि साथमा लिएका छन् । उनको न संगठन छ न त मत नै छ । 

अहिले पनि पत्रकार सम्मेलन होस् या सार्वजनिक कार्यक्रम जनार्दन शर्माले भन्ने एउटा बाक्य छ मलाई सबै पार्टीका मतदाताले भोट दिन्छन् । चुनाव नलड््ने सोच भएको मलाई रुकुमका जनताले बोलाएर अन्तिम पटक आएको हुँ । प्रलोपाको मात्रै मत कति हो भन्ने केही टुंगो नभएपनि जिल्ला संयोजक सन्देश केसीले २० हजार मत आफुहरुसँग भएको दाबी गरेका थिए । 

नेकपाका उमेद्वार गोपाल शर्माले ५ प्रतिशत पनि मत जनार्दन पक्षमा जान नदिने बताएपछि जनार्दन आफ्नो बिरासत जोगाउन भरपुर मेहनतमा जुटेका छन् । जसका कारण रुकुममा भएका कामहरुको जस आफू लिएर प्रचारप्रसारको शैली अपनाइरहेका छन् । राम्रा काम आफूले गरेको र विचमै अलपत्र परेका योजना अर्केको थाप्लोमा हालेर पूर्वमाओवादी नेताहरु जुँधिरहेका छन् । 

माओवादीमा रहँदा जनार्दन शर्मा सत्ताभन्दा बाहिर विरलै रहे । उनी अन्तरिम संसद २०६३ मा सांसद बने । संविधानसभा सदस्य–२०६४, दोस्रो संविधानसभा सदस्य–२०७०, प्रतिनिधिसभा सदस्य– २०७४ र प्रतिनिधिसभा सदस्य– २०७९ मा प्रतिनिधित्व गरे त्यो पनि रुकुमबाटै चुनाव जितेर । चार पटक चुनाव जित्दा उनी उर्जामन्त्री– २ पटक, शान्ति तथा पुर्ननिर्माणमन्त्री– १ पटक, अर्थमन्त्री– २ पटक, गृहमन्त्री– १ पटक सम्हालेका जनार्दन शर्मालाई अहिले मतदाताले साथ दिन्छन् या दिदैनन् त्यो हेर्न बाँकी छ । 

एमालेलाई साथमा लिने रणनितिमा सफल भएका जनार्दन शर्मा अव नेकपा र नेपाली कांग्रेसको मत विभाजन गर्न पाए चुनाव जित्न सकिन्छ भन्नेमा छन् । जिल्लामा कांग्रेस एकढिक्का भएको सन्देश नेताहरुले दिएपछि जनार्दनले नेकपाकै मत तान्न जोडबल गरिरहेका छन् । 

रास्वपाका उमेद्वार समेत विगतमा माओवादी नै भएका कारण उनले पनि नेकपाकै मत तान्ने छन् । रुकुम पश्चिममा १० जना उमेद्वार चुनावी मैदानमा रहँदा नेकपा, नेपाली कांग्रेस, रास्वपाबीच कडा प्रतिष्पर्धा हुने देखिएपछि जनार्दन शर्मा पहिलो पटक म सबैको साझा उम्मेदवार हुँ भन्दै मत मागिरहेका छन् । अन्य धेरै ठाउँमा सूर्यमा मतदान गर्न राजी भएर रुकुम पश्चिममा आँखामा भोट खसाल्न एमालेलाई सहमत गराएका जनार्दन शर्मा उनले भने जस्तै आफ्नो बिरासत जोगाउन सक्छन् या सक्दैनन् त्यो भने फागुन २१ पछि नै थाहा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्