नेभिगेशन
समाज

रुकुम पश्चिममा जुवातास खेलिरहेका वडा अध्यक्षसहित ६ जना पक्राउ

रुकुम पश्चिममा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक जना वडा अध्यक्ष समेत रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।  

कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार आज बिहान दुई बजे त्रिवेणी गाउँपालिका ४ लामाखेतस्थित बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको छन् भन्ने गोप्य सुचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राऊ पर्नेहरुमा जिल्लाको त्रिवेणी गाउँपालिका ४ का वडा अध्यक्ष समेत रहनुभएका सोही वडाको लामाखेत निवासी ४७ वर्षीय नन्दराम बाँठा, सोही पालिकाको वडा नम्वर ५ निवासी ४४ वर्षीय डिल्ली बहादुर घर्ती, सोही स्थानका ३० वर्षीय शिव घर्तीमगर, ५३ वर्षीय नन्द कुमार घर्तीमगर, वडा नम्वर २ निवासी ४० वर्षीय मन बहादुर बोहोरा र मुसिकोट नगरपालिका ११ निवासी ४८ वर्षीय कमल पुन रहेको प्रहरीले मूलपाटीलाई जानकारी दिएको छ ।

प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राऊ परेका उनीहरूको साथबाट १ गड्डी खोलेको र १ गड्डी नखोलेको तास र नगद एक लाख ६७ हजार १०५ रुपियाँ समेत बरामद गरिएको छ । पक्राऊ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्