नेभिगेशन
राजनीति

नेतृत्वको विकल्प खोजिरहेको रुकुम

रुकुम पश्चिम जिल्ला आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका दृष्टिले पछि परेको देखिए पनि यो स्रोत, साधन र सम्भावनाले भरिपूर्ण जिल्ला हो । यो जिल्ला भौगोलिक रूपमा होचा, अग्ला, भिरालो र समथर पहाडी भू–भागले भरिएको छ ।

यहाँका डाँडाकाँडा, उर्वर माटो र स्वच्छ हावापानीले कृषि, फलफूल, जडीबुटी र लहरे बालीका लागि उत्कृष्ट वातावरण सिर्जना गरेका छन् । जल, जमिन, कृषि, पर्यटन, खनिज र यहाँका मानिसहरूमा रहेको मिहिनेतीपन, इमानदारीपन, स्वाभिमानीपन र आत्मनिर्भरतापन नै जिल्लाका वास्तविक सम्पत्ति हुन ।

२०४६ सालपछिको रुकुम जिल्लाको राजनीतिक यात्रालाई हेर्दा पुराना सबै दल र ती पार्टीका अहिले सतहमा देखिएका नेताहरूले पालैपालो नेतृत्व गरिसकेका छन् । नेपाली कांग्रेसले दुईपटक, नेकपा (एमाले) ले एक पटक र २०६२/०६३ पछि निरन्तर नेकपा (माओवादी केन्द्र) ले जिल्लाको नेतृत्व गर्दै आएको छ । यो तीन दशकभन्दा बढीको अवधि रुकुमेली जनताको आँखा अगाडिको इतिहास हो ।

समयको बहावसँगै यो अवधिमा रुकुम जिल्लाको अवस्था पञ्चायतकालभन्दा निश्चय नै फरक बनेको छ । पहिले गोरेटो बाटो र सीमित सुविधामा निर्भर रुकुम आज धुले बाटो, केही सुधारिएको सिँचाइ, खानेपानी, करिब ८० प्रतिशत घरमा विद्युत् पुगेको छ । जातीय र लैङ्गिक विभेद घटेको छ, सीमित महिलाहरू शिक्षित र नेतृत्व भूमिकामा समेत पुगेका छन् । गाउँमा विद्यालय र स्वास्थ्य चौकी स्थापना भएका छन् ।

वैदेशिक रोजगारले आर्थिक अवसर बढाएको कुरा सत्य हो । यी सबै प्रगतिमा वर्तमान नेतृत्व र यसका वरपरी रहेका झुण्डहरुले गर्व गर्ने गरेको छ । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार र मानविय चेतना समाज विकासको क्रममा स्वभाविक रुपले पनि हुने भए तापनि त्यस समयको नेतृत्व हुनुका नाताले अपनत्व लिनुलाई अन्यथा मान्न पनि सकिँदैन ।

विश्वमा भएको विज्ञान र प्रविधिको विकासले मानिसले असम्भवलाई सम्भव बनाइदिएको छ । मानिसको महत्वाकांक्षा उच्च भएको छ । पुरानो पुस्ताले महिनौँ लगाएर पढेका राजनीतिक शास्त्रका सिद्धान्तहरू अहिलेको पुस्ताले त्यसको संस्लेषित रूपलाई केही घण्टा र केही मिनेटमै अध्ययन गरेर आफ्नो जीवनमा लागू गर्न सक्ने क्षमता राख्दछ । कुनै समय गास, बास र कपासको जोहोका लागि मानिसहरूले संघर्ष गर्थे ।

अहिले यो कुनै छलफलको विषय होइन । कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स आजको पुस्ताका सहयोगी भइसकेका छन् । विश्वव्यापी प्रतिस्पर्धाको युगमा विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर ल्याब र अनलाइन शिक्षा नभए अध्ययन अधुरो ठहरिन्छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र योग्यता अनुसारको रोजगारी अहिलेको पुस्ताका अनिवार्य सत्र हुन् । समय धेरै अगाडि बढिसकेको छ ।

हिजोका सोखका विषय आजको पुस्ताका लागि अनिवार्य आवश्यकतामा बदलिएका छन् । नेतृत्वले हिजोको आफ्नै आवश्यकतालाई हेरेर विकासको परिकल्पना गरिरहेको छ । सर्वरको दुनियामा बाँचेको आजको पुस्ताले विश्वका उत्कृष्ट देशका आर्थिक, सामाजिक, भौतिक पूर्वाधार र सुशासनलाई हेरिरहेको छ, त्यससँग तुलना गरिरहेको छ । र वर्तमान नेतृत्वलाई प्रश्न गरिरहेको छ । 

प्राकृतिक स्रोतहरूको उपयोग किन हुन सकेन ? किन हाम्रा खानीजहरू खेर गइरहेका छन् ? किन जडीबुटी खेतीको प्रवद्र्धन हुन सकेको छैन ? जडीबुटी प्रशोधन केन्द्र बनाउन के ले रोक्यो ? उर्वर भूमिका बावजुद पनि फलफूल खेतीको प्रवद्र्धन किन हुन सकेन ? पूर्वजहरूले रचना गरेका ग्रन्थहरूमा भएका कैयौँ विषयको अध्ययन–अनुसन्धानले उनीहरूको जीवनमा परिवर्तन आयो, तर हाम्रा नेतृत्वले किन सोच्नसम्म सकेनन् ? परम्परागत रूपमा पूर्वजहरूले नै प्रयोगमा ल्याएका तामा खानी, फलाम खानीहरू आधुनिक ढङ्गले उत्खनन र उत्पादन हुनुको सट्टा किन प्रयोगविहीन भइरहेका छन् ? त्यसका लागि प्रविधि, सीप र पूँजीको व्यवस्था नेतृत्वले गर्नुपर्ने होइन र ? रुकुममा रहेका स्या¥पुताल, सानी भेरी, ठूली भेरी, मौराखारा, गोतामकोट लगायतका रमणीय दृश्य जिल्लाका प्राकृतिक सम्पत्ति हुन् ।

विश्वमा आज हरित ऊर्जाको कति धेरै महत्व छ - खै, तिनको उपयोग गरेको ? भौगोलिक रूपमा रहेका होचा, अग्ला, चुच्चे डाँडाकाँडा, स्वच्छ हावा, पानी, सांस्कृतिक विविधता, ऐतिहासिक धरोहरहरू रुकुम जिल्लामा प्रशस्त मात्रामा रहेका छन् । यस्तै स्थानहरू आज विश्वकै प्रख्यात पर्यटकीय ठाउँ बन्न पुगेका छन् र ती पर्यटकीय ठाउँहरू जनताको समृद्धिको चाहना पूरा गर्ने स्रोत बनेका छन् ।

खोई त हाम्रो पर्यटनको विकास भएको ? हाम्रो भू–बनोट र माटोको प्रकृति हेर्दा जिल्लाभरि कुनै पनि त्यस्तो ठाउँ छैन जहाँ फलफूलका बारी बन्न नसकून्, जहाँ जडीबुटी र लहरे बालीको खेती हुन नसकोस् । तर किन रुकुमेली बच्चाहरू पोषणयुक्त खानाको कमीले हुने रोग र भोगबाट आज पनि ग्रस्त भइरहेका छन् ? खोई ती बालीहरूको व्यावसायिक योजना, उत्पादन र बजारिकरणको नीति ?

आजको युवा पुस्ताले देखिरहेको यथार्थ यही हो - शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनको स्पष्ट योजना नै छैन । स्रोत–साधनको पहिचान, उत्पादन र प्रयोगको भिजन नै छैन । रुकुमको भौगोलिक विविधता, फलफूल र जडीबुटीका सम्भावना, खानी र जलविधुत्का अवसरका बारेमा स्पष्ट सोच पनि देखिँदैन ।

नेपालको राजनीतिमा पुस्तान्तरणको माग अत्यन्त तीव्र रूपमा बढ्दै गएको छ यसको असर रुकुमका नवपुस्तामा पनि स्वभाविक रुपमा परिरहेको छ । हुनत उमेर न समस्या हो न समाधान, वास्तविक कुरा नेतृत्वमा भएको सोच, ज्ञान, सीप, क्षमता, र विश्वमा भएका अध्ययन, अनुसन्धानले ल्याएका परिवर्तनसँग अध्यावधिक हुन सक्ने, सोही अनुसार कार्यान्वयन गर्ने क्षमतामा निहित हुन्छ ।

तर नेपालको सन्दर्भमा वर्तमान नेतृत्वले विज्ञान, प्रविधि र यसका कारण मानिसको सोच्ने, बुझने र महत्वाकांक्षामा आएका तीव्र परिवर्तनका आयाम बुझ्न सकेन, जसले नयाँ पुस्ता र समाजको आकांक्षा बेवास्ता ग¥यो । यही कारण जनतामा निराशा र असन्तुष्टि फैलिएको छ  । जेन जि को आव्हानमा भएको आन्दोलन जनविद्रोहमा परिणत हुनुले यसलाई प्रमाणित गरेको छ । पुरानो सोच र संरचनाप्रति विद्रोहको स्वर बुलन्द बनाएको छ । यी सबै तथ्यहरुले स्पष्ट देखाएको छ -रुकुमले अब नयाँ सोच, अद्यावधिक चेतना र समयसापेक्ष दृष्टिकोण खोज्दैछ, जनताको अपेक्षासँग मेल खाने वर्तमान नेतृत्वको विकल्प खोजिरहेको छ । 

उमेरका कारण होइन, सोचका कारण रुकुमेली जनताले आजसम्म छानेर पठाएको नेतृत्व अब ‘आउटडेटेड’ भइसकेको छ । अब कुनै पनि नयाँ कुरा समाजले उनीहरूबाट पाउन सक्दैन । नवपुस्तालाई नेतृत्व गर्ने वर्तमान नेतृत्वसँग त्यो दूरदर्शिता छैन । नेतृत्वमा लोभ पलाएको छ । कुनै पनि अवसरमा नाता–सम्बन्धभन्दा बाहिरबाट नेतृत्वले सोच्न समेत सक्दैन ।

यो नेतृत्वले आजका दिनसम्म कुनै पनि दीर्घकालीन रोजगारी सिर्जना गर्ने काम गरेको छैन । रुकुमको क्रमिक विकासभन्दा बढी कुनै नयाँ योजना वा सोच ल्याउन सकेको छैन । सीमित नातेदार, हातेभारेहरूका लागि मात्रै पक्षपोषण गर्ने गरी बाटो र भवनका ठेक्का–पट्टा मिलाउने र चुस्ने–खानेभन्दा माथि अहिलेको नेतृत्व जान सकेको छैन । जुन कुरा विवेक भएका जो–कसैले पनि भन्न, देख्न, बुझ्न सक्छ ।

विश्वमा विज्ञान र प्रविधिको विकासले मान्छेको जीवनशैली, जिउने, सोच्ने, बुझ्ने तौर–तरिका र महत्वाकांक्षामा परिवर्तन आएको छ । यो विज्ञान, प्रविधि र समयको पदचापले ल्याएको परिवर्तनलाई बुझ्न सक्ने ल्याकत रुकुमको अहिलेको नेतृत्वले राख्न सक्दैन । विश्वमा भएका अध्ययन र अनुसन्धानले मानिसको चेतनामा भएको विकास र जीउने कलामा  आएको परिवर्तनलाई अहिलेको नेतृत्वले बुझ्न, परिकल्पना गर्न, दूरदर्शिता राख्न र त्यसलाई कार्यान्वयन गर्ने क्षमता राख्न सक्दैन भन्ने कुरा तीन दशकभन्दा लामो समयले प्रमाणित गरिसकेको छ ।

आज समाजका आवश्यकताहरू फेरिएका छन् । सोच्ने तरिका फेरिएको छ । रहन, सहन, बोली–चाली र मानिसको दैनिकी फेरिएको छ, तर नेताहरूको बुझाइ उही पुरानो छ । नेतृत्वले आफनो जवानीमा परिकल्पना गरेका योजनाहरू अहिलेको पुस्ताका लागि नग्ने भइसकेका छन् । अहिलेको पुस्ताले सोच्ने–बुझ्ने र पुरानो नेतृत्वले सोच्ने–बुझ्ने तौर तरिकामा नै धेरै ठूलो फेरबदल आइसकेको छ । त्यसैले अब नेतृत्वले राजनीतिक परिवर्तनका लागि गरेको संघर्षको ब्याज खान खोज्न हुँदैन ।

पुरानो पुस्ताले आफ्नै युवा अवस्थालाई सोच्नुपर्छ र त्यो उमेरमा जुन त्याग थियो, देश बनाउने हुटहुटी थियो, सोही अनुसार अब अगाडि बढ्न सक्नुपर्छ । लोभ गर्न मिल्दैन । पुरानो नेतृत्वमा पलाएको लोभका कारण नै आज देश बबार्दीको दिशामा जान खोज्दै छ । अब पुरानो नेतृत्वले रुकुम सम्हाल्ने कुनै सम्भावना छैन् । यो राजनीतिक परिवर्तनका वास्तविक पहरेदार हामी हौ, हामी लड्यौ, हामीले ल्यायौँ, त्यसैले हामीले खान पाउनुपर्छ भन्ने आत्मकेन्द्रित सोचले रुकुमको नेतृत्व ग्रस्त भएको छ । यही सोचले रुकुमलाई अघि बढ्न दिइरहेको छैन ।

सन् १९६० को दशकमा नेपाल, दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भूटानको आर्थिक अवस्था समान जस्तै थियो । दक्षिण कोरियाले शिक्षा, प्रविधि र उद्योगमा लगानी गरी अग्रणी बन्यो । सिंगापुरले सीमित स्रोतका बाबजुद सुशासन, पारदर्शिता र मानव स्रोतमा लगानी गरी आर्थिक चमत्कार देखायो । भूटानले नागरिक खुशी र आत्मनिर्भरतालाई प्राथमिकता दियो ।

आज यी देशहरू विश्वकै आदर्श बनेका छन् । नेपाल भने अस्थिर राजनीति, अदूरदर्शिता, सत्ता–मोह, नातावाद, कृपावाद, भ्रष्टाचार, तस्करी, कुशासनको दलदलमा फस्यो । जसका कारण देशभर अहिलेको पुस्ताले सोच्ने गरेको प्रतिस्पर्धी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी र प्रविधि–मैत्री शासन व्यवस्था हुन सकेन । रुकुमको नेतृत्वले पनि त्यसभन्दा बाहिर गएर सोच्न, दृष्टिकोण राख्न र आफूलाई फरक देखाउन सकेन ।

रुकुम जिल्लामा कृषि, पर्यटन, जडीबुटी, खनिज, उद्योग र हरित ऊर्जाका क्षेत्रमा लगानी गरेर रुकुमेलीहरूको समृद्धिको चाहना पूरा गर्न सकिन्छ । त्यो सम्भावना साकार गर्न आज रुकुमले सत्यनिष्ठ, प्रविधि–मैत्री, पारदर्शी र परिणाममुखी नेतृत्व खोजीरहेको छ । समयले ल्याएको मान्छेको आवश्यकता र डायनामिक्सलाई सम्बोधन गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

त्यसैले रुकुमेली जनताको एउटै आवाज छ, अब नवपुस्तालाई नेतृत्व हस्तान्तरण गर, लोभ नगर, विदा होऊ, नयाँ पुस्तालाई अवसर देऊ । विश्वमा भएका अध्ययन, अनुसन्धान, विज्ञान र प्रविधिले ल्याएका आयामहरुलाई बुझन सक्ने अध्यावधिक हुन सक्ने नयाँ सोच, कार्यशैली र दृष्टिकोण भएको नेतृत्व रुकुमले खोजीरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्