नेभिगेशन
राजनीति

रुकुमेली जेन-जी - अब उठ, जाग !

रुकुमले नेपालको राजनीतिक इतिहासमा साहस, विद्रोह र परिवर्तनको प्रतीकको रूपमा आफूलाई स्थापित गरिसकेको छ । कामी बुढाहरूले गरेको विद्रोह देखि दशकौँ लामो संघर्षमा वलिदानी दिएका योद्धाहरुको सुनौलो गाथाले यसलाई प्रमाणित गर्दछ । तर जेन जी पुस्ताको बलमा देश नयाँ यात्रातर्फ अघि बढिरहेको समयमा रुकुमेली जेन जी पुस्ता अलि बेखबर भए जस्तो देखिएको छ ।

भ्रष्टाचार, अपारदर्शिता, स्वार्थी राजनीतिक संस्कृति, नातावाद, कृपावादका विरुद्ध र सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणका लागि जेन जि पुस्ताले गरेको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । पुराना, दम्भी, अहंकारी र भ्रस्ट नेतृत्वले अहिले जनताको विश्वास गुमाइसकेका छन् । 

नवयुवाको अपेक्षा अनुरूप, नागरिक समाजको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । जसको प्रमुख उद्देश्य निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्नु रहेको छ । यो निर्वाचन केवल औपचारिक प्रक्रिया मात्र होइन, यो हाम्रो भविष्यको दिशा निर्धारण गर्ने निर्णायक क्षण हो ।

त्यो चुनावमार्फत विज्ञान र प्रविधिले विश्वमा ल्याएको नयाँ आयामहरु बुझन सक्ने र सोही अनुसार देशको नेतृत्व गरी राष्ट्र र नवयुवाहरुको सुन्दर भविश्यको सुनिश्चित गर्नसक्ने नेतृत्व छान्नु र लोकतन्त्रलाई सुदृढ गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउनु नवयुवाहरुको दायित्व रहेको छ । यसका लागि नवयुवाहरु दलिएकरणबाट माथि उठ्न जरुरी छ ।

नवयुवाहरुले कसैलाई निषेध गरेर पनि हुदैन । समाजका सबैको भूमिकाको सम्मान गनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र सम्म पुग्नका लागि त्याग, तपस्या र बलिदानी पूर्ण सर्घष गरेका पुराना नेतृत्वलाई ससम्मान विदा गर्नुपर्दछ । उनीहरुले दिएको योगदानका लागि आभारी हुने र युगले दिएको आफनो पुस्ताको दायित्व पुरा गनुपर्दछ । 

पुरानो नेतृत्व उनीहरुको पुस्ताका लागि त्यो समयका लागि उत्कृष्ठ थियो । उनीहरुले देशकै लागि सघर्ष गरेका थिए । तर अब उनीहरुले त्यसको व्याज खाना मिल्दैन । बीसौ वर्ष उनीहरुको योग्यता, क्षमता, रुची, कार्यशैली सबै देखाइसके, जति सक्ने हो गरी सके । अब उनीहरुलाई दुख दिनुहुदैन । 

देशभरका युवाहरू जेन जी आन्दोलनको मर्म बुझ्दै संगठित भैरहेका छन् । तर रुकुममा यो लहर अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । शिक्षित, विवेकशील, र दृढ इच्छाशक्ति भएका रुकुमेली नवयुवाहरूले अब जिम्मेवारी लिनैपर्छ, अब ढिलो गर्न हुदैन । 

रुकुमेली नवयुवाहरूले अब पनि प्रतीक्षा गर्नु विवेकशीलताको होइन, दुर्बलताको चिन्ह हुनेछ । आजको युगमा युवाको भूमिका केवल दर्शक बन्ने होइन, नेतृत्व गर्ने, निर्णय गर्ने र परिवर्तनको दिशा निर्धारण गर्ने हो । देश निर्णायक मोडमा उभिएको बेला रुकुमका युवाहरू कुनै अमुक पार्टीका अन्धभक्त कार्यकर्ता मात्रै बनेको सुहाउदैन । 

नव पुस्ता चेतनाको बाहक बन्दै परिवर्तनको मूल्य बुझ्ने, बुझाउने, न्यायको आवाज उठाउने, सत्यका पक्षमा दृढ भएर उभिने र नेतृत्व लिन तयार हुनुपर्दछ । शिक्षा, प्रविधि र विश्व चेतनाको प्रकाश पाएका युवाहरु केवल दर्शकको रुपमा सीमित हुन सुहाउदैन । 

यो पुस्ताले जिम्मेवारी लिने, प्रश्न गर्ने, अन्यायका विरुद्ध बोल्ने र स्वच्छ राजनीतिक संस्कृतिको स्थापना गर्ने हो । 

सत्ता प्राप्त गर्ने लालसामा नैतिकता बेच्नेहरूको भीडमा नव पुस्ता हराउन हुँदैन । सत्ताको स्वार्थ, लोभ र अवसरवादी सोचले समाजको आत्मालाई नै कमजोर बनाउँछ । नवपुस्ताले आफ्ना विचारलाई दलभन्दा माथि र राष्ट्रको हितलाई व्यक्तिगत स्वार्थभन्दा अगाडि राख्न सक्नुपर्छ । त्यो दिन यो देशले साँच्चिकै प्रगतिको बाटो समाउनेछ ।

आज रुकुम राजनीतिक अतिवाद, नातावाद र आफन्तवादको दलदलमा फसेको छ । विगतमा सामन्तवाद फाल्न राजनीतिक नेतृत्व गरेको पंक्ति आज नव–सामन्तका रूपमा खुलेआम देखिएका छन् । नेतृत्व गरेको नाममा व्याज खानेहरुले रुकुमलाई उकुसमुकुस बनाएका छन् । मानिसहरु हुक्क दिक्क भएका छन् । 

विकासका परियोजनाहरू नेताका भागबन्डामा सीमित छन् । विकास अब जनताको अधिकार होइन, नेताको व्यापार बनेको छ । आफना नजिकका, आफन्तहरुको कमाउने भाँडाको रुपमा प्रयोग भइरहेको छ । विगतका दशवर्षे सशस्त्र द्वन्द्वका सहिद परिवार र जिउँदा सहिदका रुपमा रहेका घाइते अपाङ्गहरुलाई विहान वेलुकाको हातमुख जोर्न समेत गा¥हो भएको छ । 

सँगै युद्धमा होमिएका, एउटै आर्थिक अवस्थामा भएका मध्ये नेताका नजिक भएकाहरुका घर, गाडि, महल, छोरा छोरीको महंगो स्कुल, विलासी जिवन शैली कसरी सम्भव भएको छ ? युद्ध मैदानमा सँगै रहेका सहयोद्धाहरु साउदी र कतारको ४५ डिग्रीको टनटलापुर घाममा काम गर्नुपर्ने वाध्यतामा किन परिरहेका छन् ?

चुनावमा सँगै झण्डा बोकेका, उस्तै आर्थिक अवस्था भएका नेताहरुले कसरी काठमाडौंमा महल बनाउन सफल भए ? उनीहरुको पेशा व्यवसाय विना नै राजर्षि खानपान दैनिकी कसरी चलिरहेको छ ? जनयुद्धका सहिदका सपना केहि सिमित व्यक्तिको सत्तामा पुग्ने भया¥ङ मात्रै किन भयो ? प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रुकुमको जल, जमिन, खनिज, जैविक विविधताको पहिचान, उत्पादन र परिचालन हुन नसक्नुको कारण के हो ? जिल्लाकै गौरवका योजना भनी सुरुआत गरेका कार्यक्रमहरुले पूर्णता नपाउनुको कारण के हो ? 

सरकारी बजेटका दिर्घकालिन महत्वका परियोजनाहरु किन अलपत्र परेका छन् ? किन निश्चित मानिसहरु मात्र उपभोक्ता समितिमा बसिरहेका छन् ? नेतृत्व आफै किन उपभोक्ता समितिमा बस्न उद्यत छ ? परियोजना सञ्चालन गर्नुभन्दा पहिले जग्गाहरु हजुरबाबुदेखि कमाएका मानिसहरुबाट डाइरेक्ट किनबेच नभइकन किन निश्चित मानिसको सहजीकरणबाट मात्रै किनबेच भएका छन् ? भष्ट्राचारका सबै फेहरिस्त रुकुमेली जेन जी नवयुवाहरुलाई एक एक थाहा छ । 

गाउँमा भएका विकासलाई दलियकरण गरिएको छ । दलका नाममा अत्याचार भइरहेको छ । नवयुवाहरु तिमिले सोच्नै पर्दछ । जेन जी पुस्ता तिमिहरुले यो सबै देखिरहेका छौ । तिमिहरुको घर आँगन गाँउ, समाज र जिल्लाभरी हेर त्यहाँ नातावाद, आफन्तवादले जिल्ला थिलथिलो भएको छ । गाउँगाउँमा रहेका असमानता, अन्याय र भेदभावका जरा अझै गहिरा भैरहेका छन् । 

आजको प्रविधि र सूचनाको युगमा बस्ने नवयुवाहरु विश्वका परिवर्तनहरू प्रत्यक्ष देखिरहेका छौं । विश्वमा भएका विकास र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका तिमिहरुले आफनै जिल्ला, आफनै गाउँमा, आफ्नै नजिकै रहेका नेताहरुले नेतृत्व गरेका नाममा गरिरहेको भष्ट्राचारलाई अब तिमिहरुले नजरअन्दाज गर्न मिल्दैन । 

भ्रस्टाचार देखेर पनि चुप लाग्छौ भने त्यो कायरता हो । यसको विरोध गर्न सक्तैनौ भने इतिहासले तिमिलाई धिक्कार्ने छ । कायर भएर इतिहासमा दर्ज हुने कि नेतृत्व लिने तिमीहरुले निर्णय गर्नैपर्छ । यदि तिमीहरूले यी सबैकुरा थाहा पाउँदा पाउदै पनि मौन रहन्छो भने इतिहासले तिमीहरूलाई क्षमा गर्ने छैन । 

अझै कति दिन तिमीहरु यो अत्याचार हेरेर बस्छौ । आज हेरत तिम्रै पुस्ताले देशमा उथलपुथल मच्चाइसकेको छ । त्यही उथलपुथलले तिम्रा सामु एउटा ठुलो अवसर दिएको छ । फागुनमा हुने चुनावमार्फत आफ्नो कुरा भन्न सकिने, बुझने, सुन्ने, अहिले तिम्रा वरपर भैरहेका अनियमितता, अन्यायको विरुद्ध बोल्न सक्ने नेतृत्व छान्ने यो ठुलो अवसरको सदुपयोग गर । त्यसका लागि आआफनो ठाउँबाट नेटवर्किड गर्न थाल । 

जिल्लामा मात्र होइन जिल्ला बाहिर आफनो पेशा व्यवसायका कारण बसिरहेका सम्पूर्ण रुकुमेलीहरुले पनि बुझ्न जरुरी छ । जन्मेको हुर्केको तपाईलाई पहिचान दिएको तपाईको गाउँ, ठाउँ जन्मभूमीले तपाईहरुलाई खोजिरहेको छ । तपाईले आफनो छातिमा हात राखेर कुनै पनि किन्तु परन्तु नगरी स्वच्छ मनले अब सोच्नुहोस् र निर्णय गर्नुहोस् ।

अब तपाईको गाउँको विकासका लागि तपाईले साच्चीकै पहुँच राख्न सक्ने, तपाइको जस्तै वातावरणमा हुर्केको तपाई, तपाईको दाई, भाई इष्टमित्र सबैको छोराछोरीको भविष्य सुनिश्चित गर्न सक्ने अहिलेको युग सुहाउँदो शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न सक्ने व्यक्तिको खोजी गर्न थाल्नुहोस ।

सामाजिक रूपान्तरण र राष्ट्रनिर्माणमा निर्भीक आवाज उठाउने साहस सर्वोच्च गौरवको विषय हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि समर्पित भई सत्य, विवेक र नैतिकताको बाटोमा अडिग हुनेहरुलाई इतिहासले सम्झन्छ । सत्य कहिलेकाहीँ पीडादायी हुन्छ, तर यही मार्ग न्याय र परिवर्तनको मूल स्रोत हो । 

अब रुकुमेली नवयुवाहरूको पालो आएको छ, सत्ताको भय होइन, चेतनाको बल बन्ने । भ्रष्ट्राचार र नातावादको अँध्यारोमा डुबिरहेको समाजलाई नैतिकता, विचार र नयाँ दृष्टिकोणका साथ उज्यालोतर्फ डोहोर्याउन नवयुवाहरु संगठित बन, युगले दिएको दायित्व पुरा गर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्