नेभिगेशन
समसामयीक

आमा हुँदाको पीडा, सुन्दरता र जिम्मेवारी

आमा बन्नु महिलाको जीवनको सबैभन्दा सुन्दर, पवित्र र जिम्मेवारीपूर्ण अनुभव हो। संसारमा धेरै सम्बन्ध हुन्छन्, तर आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा गहिरो र निस्वार्थ हुँदोरहेछ । एउटा महिलाले आफूभित्र नयाँ जीवनको अनुभव गर्दा उसको जीवनमा नयाँ खुसी, आशा र जिम्मेवारी थपिनु नै आमा बन्नुको सौभाग्य रहेछ । 

आमा बन्नु केवल बच्चा जन्माउनु मात्र होइन, सन्तानको हेरचाह, माया, त्याग र संरक्षण गर्नु पनि हो। एक आमाले आफ्नो सन्तानको खुसीका लागि धेरै दुःख सहन जिम्मेवार, धैर्यवान र संवेदनशील बन्न पनि पर्दोरहेछ । 

गर्भावस्थादेखि मेरो छोरा एक वर्षको समयावधिमा आईपुग्दा मैले थुप्रै कुराहरु अनुभव गरेको छु । धेरै कुरा बच्चाबाट पनि सिक्ने मौका प्रप्त गरेको छु । अझ धेरै कुरा मैले यो समाजबाट पनि सिक्ने मौका पाएको छु । गर्भावस्थाको पहिलो त्रैमासिक जुन सबैभन्दा मुश्किल समय हुँदो रहेछ । 

हरेक कुराहरुको घृणाको नजरले मात्र हेरिनु यो समयलाई मैले बुझेको छु । अब पक्का आमा बन्दैछु भन्ने खुशी दोस्रो त्रैमासिक समयमा मैले अनुभव गर्न पाए । फेरी तेस्रो अवस्था जहाँ हरेक समय डरैडरका बिचमा मैले गुजारे । 

खुला आकशको पंक्षीजस्तै घुमिरहेको जिन्दगीमा फेरी अर्को जिन्दगी थपिदा कसलाई पो जिम्मेवारी थपिएको महसुस हुदैन र । आफ्नै रोजाईको खाना रोजाईकै कपडा र हरेक समय रोजाईमै व्यतित भैरहेको जीवन एकाएक परिवर्तन गर्नुपर्ने रहेछ । मेरो जीवनका हरेक निर्णयहरु, हरेक सम्बन्धहरु र सम्बन्धका प्रेमहरु मेरा लागि मात्र थिए । तर आज सबैले मलाई बिर्सिए, म एक्लो भए बच्चा नै प्यारो भयो । 

अधेरी रातका हरेक सपना हिजो मेरा मात्र थिए । आज तिन सपना म कहाँ आउन नपाउँदै बच्चाको रुवाईले टुटाईदियो । रोईरहेको बच्चालाई स्तनपान गराईरहदा म पनि आमा भए भन्दै फेरी एकैछिनमा ओठमा हाँसो आईदिन्थ्यो । अब तिमी आमा भयौ यो गर्न हुन्न भन्दै सम्झाउन आउने आफन्तजन प्रति पनि मन मरेर आउँथ्यो । 

कहिले बच्चालाई काखमा लिन मन लाग्ने, त कहिले बच्चा छेउमा नदेख्दा चिट्चिटाहट महसुस हुनु, सबै भएर पनि कोहि नभएको महसुस हुनु । बच्चाकै कारण मेरो जिन्दगी सक्कियो सम्मको सोच आउनु । यो सब मैले आफ्नै जिन्दगीमा भोगेको छु । 

त्यतिबेला लाग्थ्यो मेरो जीवन अब कसैलाई महत्वपूर्ण छैन । अप्रेशन गरेको त्यो घाउको पीडा बच्चा रोईरहेको समय फूस्रो अनुहार र रातभरी सुत्न नपाएक थकित अनुहार साँच्चिकै खुब दिग्दारी हुँदोरहेछ त्यतिबेला लाग्थ्यो मेरो जीवन अब कसैलाई महत्वपूर्ण छैन । सबैलाई बच्चा मात्र चाहिएको छ ।

परिवारका सदस्यहरुसङ्ग कयौँ पटक झर्किएर बोले रिसाए कराए तर त्यो भन्दा सयौँ पटक एकान्तमा एक्लै गएर रोएको पनि छु । अहिले लाग्छ समाजिक संन्जालमा पनि हेर्छु यो सबै postpartum depression रहेछ । त्यतिबेला बुझिदिने परिवार र हेरचाह गर्ने कोहि नहुने हो भने भएका सम्बन्धहरु बिग्रदा रहेछन् भन्ने महसुस हुन्छ । 

सुत्केरी अवस्थामा लगाएका मिठा गुन र नमिठा वचन गहिरो छाप बनेर पनि बस्दा रहेछन त्यसैले होला यो कतबनभ पार गर्दा पनि केहिकेहि कुराहरु अझै मनमा गुम्सिएका छन्, जुन कहिलै जादैन होला । आमा भएपछि एकाएक शरीर फेरियो, रुपरङ्ग फेरियो, मन फेरियो र लाग्थो पुरै जिन्दगी फेरियो ।

समाजका मानिसहरु कहिले मेरो शरीरलाई लिएर कुरा गर्छन्, कति ज्यान लाग्यो भन्दै त कहिले मेरो पहिरनको कुरा । म आमा भैसकेपनि म भित्रको रहर मरेको छैन मात्र जिम्मेवारी थपिएको हो भन्ने कुरा खोई किन बुझ्दैनन मान्छे । 

समयको खाना, समयको निन्द्रा समयको मनोरञ्जन सबै सकियो । आफूले खानुभन्दा अघि बच्चाको खाना याद आउन थाल्यो । आफ्नो निन्द्रा भन्दा प्यारो उसको निन्द्रा हुन थाल्यो । हामी छोरी मान्छेलाई जिन्दगी ले सबै पाठ सिकाउदो रहेछ र जिम्मेवारी वहन पनि गर्नुपर्दो रहेछ । 

अझ एउटी जागिरे महिलाको जीवनमा बच्चाको हेरचाह अहो कति मुस्किल । आफ्नो काम, बच्चाको काम, दिउँसोको जागीर सङ्गै बच्चाको हेरचाह ।  तर पनि बच्चाको मिठो मुस्कानसहित दिनको सुरुवात गर्नै पर्ने । 

मेरी आमा भन्नुहुन्छ, "अघिल्लो दिन २/३ घण्टा टाढाबाट दाउरा लिएर भोलिपल्ट मैले बच्चा जन्माएको रे ।" सासुआमा भन्नुहुन्छ, "सुत्केरी व्यथा लागेको २ दिनपछि बल्ल बच्चा जन्मियो ।"

त्यो समयावधिमा कति दुख भयो होला, मात्र उहाँहरुलाई थाहा छ । किनकि आफ्नो भोगाई सम्झिदै मेरो सुत्केरी अवस्थालाई सकारात्मक तरिकाले लिईराख्नुहुन्छ । तर समाजका मान्छेहरु अझै पनि सुत्केरी अवस्थालाई सामान्य रुपमा लिने गर्दछन् । 

हामीले काम गर्दागर्दै बच्चा पाको हो, कसैले नपाको बच्चा पाको छे, अब त बच्चा ठूलो हुदैछ, छिट्टै अर्को नि पाउनुपर्छ, हाम्रो पालामा भएकै कुराहरु अहिले तिमीहरुले नि भोग्नुपर्छ...यि सब कुराहरु अझै हाम्रो समाजबाट आउने गर्दछ । 

तर, सुत्केरीलाई हौसला हुने कुरा मुस्किलले कतैकतै आउँदछ । मैले मिठो कुरा ख्वाएकै छु, बच्चा पनि बेलाबेलामा हेरिरहेकै छु, तर पनि भनेर पारिवारिक सदस्यहरु पन्छिन मिल्दैन । किनभने सबैभन्दा ठूलो कुरा सुत्केरीको मनोभाव बुझिदिनु हो । मैले सिएस गरेर बच्चालाई संसार देखाएको हो, त्यसैले सबैले मलाई पेट चिरेर निकालेको त के गाह्रो भयो होला र भन्ने प्रश्न गर्दछन् । तर प्रश्न गरेजस्तो सजिलो छैन सिएस ।

आलो घाउको पीडा कति हुन्छ, त्यो फरक कुरा हो । तर बच्चा हुर्कदै जाँदा त्यस्को प्रभाव अझ खतरनाक हुँदो रहेछ । कहिले ढाड कम्मर दुख्नु, कहिले पूरा शरीर दुख्नु । जाँगर नलाग्नु, हमेसा थकाई आउनु यि सब नियमित साथी जस्ता भैसके । किनकि आज दुखेन भनेको दिन हुदैन।
  
एकचोटि म संसारका तिनै आमाहरुलाई सम्झिन्छु, जसले आमा हुनुको कर्तव्य सङ्गै सारा घरको जिम्मेवारी उठाईरहेका छ्न् । ति आमाहरु जसले पिठ्युँमा बच्चा बोकेर साँझबिहानको छाक जोहो गरिरहेका छ्न् । त्यो जमानाका आमाहरु जसले ८/१० जना सन्तान जन्माएर पनि सिङ्गो घरको भारी उठाउन पर्थ्यो । तर पनि संसारका हरेक नारी आफू आमा हुनुमा सौभाग्य ठान्दछन्, र चुपचाप आफ्नो कर्तव्य पालना गर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्