नेभिगेशन
राजनीति
निर्वाचन प्रतिबद्धता

पाँच वर्षमा १० हजार रुकुमेली युवालाई रोजगारी दिने उज्यालो नेपालको प्रतिबद्धता

सुशासन र स्वरोजगार प्राथमिकतामा

उज्यालो नेपाल पार्टीले रुकुम पश्चिममा पाँच वर्षमा दश हजार युवालाई स्वरोजगार बनाउने जनाएको छ । पार्टीले मंगलबार मुसिकोटमा आयोजना गरेको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो । 

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले सार्वजनिक गरेको १६ बुँदे प्रतिबद्धता पत्रमा जलविद्युत, कृषि र प्रविधिको क्षेत्रमा युवाहरुलाई रोजगार दिईने र सिस्ने हिमालदेखि स्यार्पु तालसम्म पर्यटकिय पदमार्ग, ¥याफ्टिङ र होमस्टेको व्यवस्थासहित विश्वस्तरिय गन्तव्य बनाईने उल्लेख छ । 

उम्मेदवार केसीले रुकुम पश्चिमलाई उज्यालो, आत्मनिर्भर र समृद्ध बनाउने संकल्पका साथ निर्वाचनमा आएको बताउनुभयो ।

आफ्नो २१ वर्षको विकास अनुभव, रुकुमको माटोसँग गाँसिएको सम्बन्ध र उज्यालो नेपाल पार्टीको स्पष्ट भिजन बोकेर निर्वाचनमा आएको स्पष्ट पार्नुभयो । रुकुमको पानी, जडीबुटी र युवा शक्तिलाई एकीकृत गरी आर्थिक आत्मनिर्भरताको नयाँ मोडेल खडा गर्ने उहाँको भनाइ छ । 

सुशासन र स्वरोजगार प्राथमिकतामा

१६ बुँदे प्रतिबद्धता पत्रमा सुशासन र स्वरोजगारलाई प्राथमिकता दिईएको छ । उर्जा र जलश्रोतमा लगानी गरेर लाभ लिने, डिजिटल रुकुम र स्मार्ट कनेक्टिभिटी अन्तर्गत धुलो र हिलोमुक्त सुरक्षित सडक बनाउने, एकीकृत कृषिमार्फत आत्मनिर्भर रुकुम बनाउने प्रतिबद्धता सार्वजनिक गरिएको छ । 

त्यसैगरी शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने, कुपोषणमुक्त र स्वस्थ रुकुम बनाउने, जलवायु अनुकुलन र संरक्षण गर्ने, फोहोरबाट मोहर उत्पादन गरेर सफा र सुन्दर रुकुम बनाउने, रुकुमका ६ पालिकामा विशिष्ट ८८ योजनालाई अघि सार्ने प्रतिबद्धता गरिएको छ । 

६ पालिका, ६ संकल्प

उज्यालो नेपाल पार्टीको प्रतिबद्धता पत्रमा जिल्लाका ६ वटा पालिकाका लागि ६ वटा संकल्प गरिएको छ । मुसिकोट नगरपालिकामा स्मार्ट सिटी, पर्यटकीय तथा व्यापारीक हब निर्माण गर्ने, चौरजहारी नगरपालिकामा औद्योगिक क्षेत्र र भेरी करीडोर केन्द्र र आठबिसकोट नगरपालिकामा उर्जा, फलफूल र जडीबुटी हब निर्माणको प्रतिबद्धता गरिएको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिकामा जल पर्यटन, एकिकृत कृषि, बाँफिकोटमा विश्वस्तरिय पर्यठन र त्रिवेणी गाउँपालिकामा पशुपालन र नगदेबाली केन्द्र स्थापनाको संकल्प गरिएको छ । 

केसीले अघि सार्नुभएको प्रतिबद्धता पत्रमा सुरक्षित पुनर्निर्माण र एकिकृत बस्ती बसाउने व्यवस्था मिलाउने, गैरसरकारी संस्था तथा समुदायलाई विकासमा साझेदारी गर्ने, जातीय विभेदको अन्त्य र व्यवहारमा समानताको व्यवहार अपनाउने बताईएको छ । 

यसैगरी कोहि एक्लो नहुने गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने, कर्मचारी तथा शिक्षकको समस्या समाधान गर्ने, खेलकुदका लागि गाउँगाउँमा पूर्वाधार संरचना बनाउने प्रतिबद्धता गरिएको छ । 

रुकुम पश्चिममा पुरानो आश्वासको बाटोको सट्टा परिवर्तन र उज्यालो भविष्यको बाटोको आवश्यकता रहेकोले आफुसँग योजना, इमान, अनुभव र असल नेतृत्व क्षमता रहेकोले संसदमा रुकुमेलीको पक्षमा वकालत गर्न आफू निर्वाचनमा उत्रिएको उम्मेदवार केसीले स्पष्ट पार्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्