नेभिगेशन
राजनीति

कांग्रेस रुकुमको देउवा समुहलाई नयाँ समिति चयन गरेको दुई दिनमै झड्का !

चार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले बिरोध गर्दै निकाले विज्ञप्ती

नेपाली कांग्रेसको रुकुम पश्चिमस्थित शेरबहादुर देउवा समुहलाई नयाँ समिति निर्माण गरेको केहि दिनमै झड्का लागेको छ । 

पार्टीको १५औ केन्द्रिय महाधिवेशन अन्तगर्त ८औ जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित भनेर घोषणा गरिएका जिम्मेवार नेताहरुले जानकारी तथा ईच्छाबिनै पदमा राखेर नाम सार्वजनिक गरेको भन्दै विज्ञप्ती जारी गरेसंगै पार्टी विस्तारको चरणमा रहेको यो समुहलाई झड्का लागेको हो । 

पार्टीले गत मंगलबार मुसिकोट नगरपालिका १ स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएको भन्दै जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रिय सभापति र पालिका सभापतिहरुको विवरण सार्वजनिक गरेको थियो । 

निर्विरोध निर्वाचित भनिएका तीन जना महाधिवेशन प्रतिनिधि र एक महासमिति सदस्यले आपत्ति जनाउँदै उक्त पदमा नरहेको जनाएका छन् । 

महाधिवेशन प्रतिनिधिमा नाम समावेश गरिएका टेकबहादुर बिक, अन्जना केसी र अमृता ओली र महासमिति सदस्य नैना खड्काले उक्त पद अस्विकार गर्नुभएको हो । विज्ञप्ती प्रकाशन टेकबहादुर विकले वडा अधिवेशन हुँदै केन्द्रसम्म पार्टीको महाधिवेशन सम्पन्न भईसकेको अवस्थामा केहि व्यक्तिहरुले मनोमानी ढंगले आफ्नो नाम देउवा समुहको महाधिवेशन प्रतिनिधिमा राखेकोले घोर आपत्ति जनाउनुभएको छ । 

त्यसैगरी अमृता ओलीले पनि विज्ञप्तीमार्फत आफू उक्त समुहमा नरहेको, मनोमानी तवरले अर्को समुहले महाधिवेशन प्रतिनिधिमा नाम राखेको, तर आफू हालै सम्पन्न भईसकेको १५औ महाधिवेशन अन्तर्गतको पार्टी (गगन थापाको नेतृत्व) को क्षेत्रिय प्रतिनिधि रहेको स्पष्ट पार्नुभएको छ ।

अर्का नेतृ अन्जना केसीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफ्नो ईन्छा विपरित नाम राखेको, उक्त पदमा आफ्नो सहमति नै नरहेको जानकारी गराउनुभएको छ । 

महासमिति सदस्यमा नाम राखिएपछि कांग्रेस नेतृ नैना खड्काले सामाजिक सञ्जाल फेसबुकमै आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले महासमिति सदस्यमा आफ्नो नाम राखिएको बिषयमा कुनै जानकारी नभएको, आफुले स्वीकार नगरेको र सम्बन्धित पक्षलाई नाम हटाउन भनिसकेको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति