नेभिगेशन
राजनीति

सहिद पुत्र ओली कांग्रेसको केन्द्रिय सदस्यमा भिड्दै

नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । 

सहिद हरिभक्त ओलीका एक मात्र छोरा प्रेमले नेपाली कांग्रेसले १५औ महाधिवेशनमार्फत हुने निर्वाचनमा केन्द्रिय सदस्य पदमा उम्मेवारी दिनुहुने भएको हो । नेपाली कांग्रेस रुकुम पश्चिमका प्रवक्ता एवम् महाधिवेशन प्रतिनिधि लालबहादुर ओलीले इतिहास, त्याग र संघर्षको विरासत बोकेको नेतृत्वलाई अब केन्द्रमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले द्वन्द्वकालमा तत्कालीन माओवादीबाट बीभत्स हत्या गरिएका नेपाली कांग्रेस रुकुमका नेता, तत्कालीन जिल्ला विकास समितिका सभापति तथा रुकुमेली जनताका भरोसाका केन्द्र सहिद हरिभक्त ओलीका सुपुत्र प्रेमप्रकाश ओली बुबाको त्याग, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठन निर्माणमा निरन्तर समर्पित भएको असल योद्धा भएको बताउनुभयो । 

दुई पटक नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका प्रभावशाली नेता प्रेमप्रकाश ओलीलाई अब राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्‍याउने समय आएकोले त्यागको सम्मान, संघर्षको निरन्तरता र रुकुमको आवाज केन्द्रमा बलियो बनाउनका लागि ओलीलाई महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी गराउन आह्वान गुर्नभयो । 

संघर्षपूर्ण इतिहास बोकेको,  संगठनको अनुभव भएको र रुकुमेली जनताको भावना बुझेको नेतृत्व भएकोले जितको वातावरण समेत बनेको उहाँको भनाइ छ । 

प्रेम प्रकाश ओलीको राजनीतिक आबद्धता

प्रेम प्रकाश ओली फरक आस्था राखेकै कारण तत्कालिन बिद्रोही माओवादीले घाँटी रेटेर हत्या गरेका नेता हरिभक्त ओलीका एक मात्र छोरा हुनुहुन्छ । वि.सं. २०४७ सालमा नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक सह-सचिव हुनुभएका उहाँ २०४८ सालमा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको सह-सचिव हुनुभएको थियो । 

बुवाको हत्यापछि पार्टीको सक्रिय राजनीतिमा होमिनु भएका उहाँ पार्टीको ९औ महाधिवेशन देखि हालसम्म महासमिति सदस्यको रुपमा रहनुभएको छ । उहाँ २०५८ सालमा नेपाली कांग्रेस रुकुमको उप-सभापति हुनुभएको थियो । 

त्यसपछि २०६० साल देखि २०६७ साल सम्म पार्टीको जिल्ला सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गुर्न भएको थियो । २०७२ सालदेखि हालसम्म दुई कार्यकाल पार्टीको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहनु भएका ओली पार्टीमा कटिबद्ध, कुशल संगठकका रुपमा चिनिनुहुन्छ । 

पार्टीको केन्द्रिय सदस्य पदका आकांक्षि ओलीलाई सहिद परिवार, भौगोलिक क्षेत्रबाट पार्टीको सशक्त प्रतिनिधि, अनूभव र त्यागको मूल्यांकन गरेर पनि अत्याधिक मतका साथ विजय गराउन आह्वान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति