नेभिगेशन
राजनीति

कांग्रेसकाे सह-महामन्त्रीमा उम्मेदवारी दिँदै मानबहादुर नेपाली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका नेता मानबहादुर नेपालीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

नेपालीले दलित समावेशी क्लस्टरतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाली पार्टीभित्र स्पष्ट धारणा राख्ने, संगठन निर्माणमा सक्रिय रहने र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा निरन्तर आवाज उठाउने नेताका रूपमा परिचित हुनुहुन्छ।

राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण नेपालीले आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु गर्नुभएको हो। २०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमको सभापति बनेर उहाँ औपचारिक रूपमा सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो। त्यसबेला देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किरहेको थियो र रुकुम त्यसको प्रमुख उद्गमस्थलका रूपमा चिनिन्थ्यो।

द्वन्द्वका कारण राजनीतिक गतिविधि सञ्चालन गर्न कठिन रहेको अवस्थामा पनि नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक गतिविधिलाई निरन्तरता दिन नेपाली सक्रिय रहनुभएको थियो।

२०५४ सालमा उहाँ नेपाल तरुण दल रुकुमको जिल्ला अध्यक्ष बन्नुभयो। द्वन्द्वकालको प्रतिकूल परिस्थितिमा कांग्रेसको संगठन निर्माण र विस्तारमा सक्रिय रहनुभएका नेपालीले त्यसपछि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै अघि बढ्नुभयो।

पार्टी संगठनमा निरन्तर सक्रियताका कारण नेपाली कांग्रेसको १०औँ महाधिवेशनबाट उहाँ जिल्ला सचिव बन्नुभयो। त्यसपछि नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभयो। पार्टीभित्र उहाँले कानुन विभाग प्रमुख लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ।

नेपाली १२औँ महाधिवेशनबाट रुकुम कांग्रेसको जिल्ला सभापति बन्नुभएको थियो। दलित समुदायबाट नेपाली कांग्रेसको जिल्ला सभापति बन्ने पहिलो नेताका रूपमा उहाँको उक्त राजनीतिक यात्रालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा उहाँले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने काममा भूमिका निर्वाह गर्नुभएको थियो।

पार्टी राजनीतिसँगै नेपालीले दलित अधिकार र सामाजिक न्यायका क्षेत्रमा समेत काम गर्दै आउनुभएको छ। २०५७ सालमा मध्यपश्चिम क्षेत्रबाट उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समितिको सदस्य बन्नुभएका उहाँले दलित समुदायको अधिकार, समानता, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका विषयमा निरन्तर काम गर्नुभएको छ।

सरकारले २०७१ सालमा उहाँलाई राष्ट्रिय दलित आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो। आयोगको अध्यक्षका रूपमा रहँदा उहाँले दलित समुदायका अधिकार तथा सामाजिक न्यायसँग सम्बन्धित विषयमा काम गर्नुभएको थियो।

तीन दशकभन्दा लामो राजनीतिक यात्रामा पार्टीका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आउनुभएका नेपाली १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो। केन्द्रीय सदस्य भएपछि पनि उहाँ पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

यसैबीच २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नेपालीलाई समानुपातिकतर्फ दलित क्लस्टरको पहिलो नम्बरमा बन्दसूचीमा राखेको थियो। यसअघि पनि उहाँको नाम पटक–पटक समानुपातिक बन्दसूचीमा परे पनि अन्तिम समयमा सांसद बन्ने अवसर प्राप्त हुन सकेको थिएन।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका नेपालीले यसपटक सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँको उम्मेदवारीसँगै कांग्रेसभित्र दलित समुदायको प्रतिनिधित्व र समावेशी नेतृत्वको विषयसमेत चर्चामा आएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा हुँदैछ। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति