नेभिगेशन
राजनीति

एमालेका नन्दराम प्रलोपाका 'कमाण्डर'

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमको चुनावी 'कमाण्डर' बन्नुभएको छ । 

पार्टी केन्द्रले रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउन सहयोग गर्नेगरी मतदान गर्ने सहमति गरेपछि देवकोटा शर्मालाई जिताउन चुनावी कमाण्डर बन्नुभएको हो । केन्द्रिय सहमतिलाई एमाले जिल्ला कमिटिको बैठकबाट अनुमोदन गरेपछि प्रलोपासँग आज भएको संयुक्त बैठकले देवकोटालाई चुनावी कमाण्डरका रुपमा उभ्याएको हो । 

यस विषयमा नेकपा (एमाले) रुकुम पश्चिम र प्रगतिशील लोकतान्त्रिक पार्टीले पत्रकार सम्मेलन गरेर बिहिबारदेखि नै एकैसाथ चुनावी प्रचारप्रसार अभियान थाल्ने जनाएका छन् । प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई जिताउन देवकोटाको नेतृत्वमा ५५५ सदस्यीय निर्वाचन कमिटी परिचालन गरिने बताइएको छ ।

उक्त प्रचारप्रसार अभियानमा रुकुम पश्चिमको सुशासन, विकास र समृद्धिलाई जोडेर जनता माझ प्रस्तुत हुने दुवै पार्टीको तयारी छ  । आगामी निर्वाचनमा दुई पार्टी बिच भएको केन्द्रीय सहमति र निर्देशनलाई जिल्ला देखि टोल सम्म भद्र रुपमा पालना गर्दै अगाडि बढ्ने पत्रकार सम्मेलनमा जानकारी गाईएको छ । 

प्रलोपा उम्मेदवार जनार्दन शर्माले विगतमा पनि निर्वाचनका बेला चुनावी तालमेल र गठबन्धन भएको भन्दै अहिलेको तालमेललाई जिल्लाको योजना निर्माण, परिचालन र विकास सङ्ग जोडिएको बताउनुभयो । उहाँले कुनै शङ्का नगरी दुवै पार्टीको सहकार्यमा अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले आफूले अहिलेसम्मका धेरै निर्वाचन साझा उम्मेदवारकै रूपमा लड्ने मौका पाएको र अहिले पनि सोही अवसर प्राप्त भएको बताउनुभयो । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुवै पार्टीले साझा चुनावी एजेन्डा र प्रतिबद्धता समेत तयार गरिएको बताएका छन् । चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ ।

कमिटीमा दुवै पार्टीका वडा स्तरसम्मका नेता तथा कार्यकर्ताहरू रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

जिल्लामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउने कमाण्डर बन्नुभएका देवकोटाले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने र जनार्दनलाई जिताई छाड्ने बताउनुभयो । केन्द्रको परिपत्र अनुसार आफूहरू माथि जनार्दनलाई विजयी गराउने जिम्मेवारी आएको र जिल्लामा आफ्नै नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको भन्दै उहाँले तोकिएको कार्यभार कुशलतापूर्वक पुरा गरी छाड्ने जनाउनुभयो । 

प्रलोपा इन्चार्ज गोरख बहादुर केसीको अध्यक्षता तथा प्रलोपा उम्मेदवार जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको संयुक्त पत्रकार सम्मेलनको सञ्चालन एमाले सचिव शशीराम नेपालीले गरेका थिए ।

उक्त सम्मेलनमा प्रलोपाका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा र नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज सुशील थापाको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्