नेभिगेशन
राजनीति

रुकुम पश्चिममा कसैलेपनि फिर्ता लिएनन् उम्मेदवारी

रुकुम पश्चिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 

शुक्रबार कार्यालयले १२ दलका १२ जना उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो । सहायक मुख्य निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार मनोनयन दर्ता गरेका १२ वटै उम्मेदवारहरुको नाम अन्तिम नामावलीमा समावेश गरेको छ ।

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने तालिका निर्वाचन कार्यालयको रहेतापनि कसैले पनि उम्मेदवारी फिर्ता नलिएको उहाँले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का चन्द्रबहादुर बुढा, प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक र नेकपा (एमाले) का नन्दराम देवकोटाको उम्मेदवारी रहेको छ । 

त्यसैगरी उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, आम जनता पार्टीका प्रेमा दमाई नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेपाली कांग्रेसका राजु केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी र राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशन गरिएको सहायक मुख्य निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्