नेभिगेशन
राजनीति

सडक र संसदमा परिवर्तनका लागि संघर्ष गर्नेछौ : चन्द्र सी

फाुगन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि नेकपा (माओवादी) का नेता चन्द्र बुढा (सी) ले मुलुकको आमुल परिवर्तनका लागि सडक र संसदमा एकसाथ आवाज उठाउन संसदीय यात्रामा लागेको बताउनुभएको छ । 

क्रान्तिको नयाँ मोर्चाको रुपमा निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि समाजवादको यात्रामा लाग्न चुनावमा होमिएको उहाँले बताउनुभएको छ । संसदीय व्यवस्थाको औचित्यको बारेमा प्रश्न उठाएपछि यसको रुपान्तरणको लागि संसदमा जानु परेको उहाँको भनाइ छ । 

लामो समय संसदमा गएकाहरुले जनताको जीवनलाई बदल्न नसकेको र देशमा थप भयानक दुर्घटना निम्तने खतरा देखिएको बुढाले उल्लेख गर्नुभयो । विभिन्न खालका आन्दोलनका म्यान्डेडहरु गलत रुपमा उपयोग हुन थालेको उहाँले उल्लेख गर्नुभयो । 

संसदीय व्यवस्थामा शक्ति केन्द्रहरुको भयानक चलखेल भएको, राष्ट्रिय स्वाधिनता कमजोर भएको, कुशासन र आर्थिक शोषण बढेकोले सडक र संसदबाट एकसाथ परिवर्तनका पक्षमा लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

उम्मेदवार बुढाले कानून र बजेट निर्माण, जनताका आधारभूत आवश्यकताहरुको सुनिश्चितता, राज्यको पुर्नसंरचना, अग्राधिकार सहितको संविधान, आत्मनिर्भरता र समृद्धिका लागि जनता र सदनको एकिकृत ताकत प्रयोग गरेर परिवर्तन चाहेको प्रष्ट पार्नुभयो । 

शिक्षा, स्वास्थ्य, पर्यटन, हाईडो लगायतका क्षेत्रमा दुरगामी र नयाँ योजना निर्माण गरेर ग्रामीण अर्थतन्त्र उचाईमा लैजाने योजनासहित आफुले उम्मेदवारी दिएको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति