नेभिगेशन
राजनीति

जनार्दन शर्मालाई रुकुमबाटै उम्मेदवार बनाउने निर्णय 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

बुधबार मुसीकोट नगरपालिका -१ मा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसी ‘सन्देश’ले जानकारी दिनुभयो । 

२०६४ साल पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आउनुभएका शर्माले प्रलोपाको संरक्षक रहेर पार्टी गठन गर्नुभएको थियो । पछिल्लो समय माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका विभिन्न दलहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि शर्माले एकता प्रक्रियामा नगएर प्रलोपा गठन गर्नुभएको थियो । हाल उहाँ पार्टीको निर्वाचन परिचालन तथा वार्ता संवाद समितिको संयोजक समेत हुनुहुन्छ ।

उम्मेदवारका लागि सिफारिस गरेसँगै पार्टी चुनावमा होमिएको जिल्ला संयोजक सन्देशले जानकारी दिनुभयो । शान्ती, उर्जा, गृह, अर्थ मन्त्री भईसक्नुभएका शर्मा तत्कालिन माओवादी केन्द्रको प्रभावकारी नेताको रुपमा चिनिनुहुन्थ्यो । 

चुनावका लागि यस अघि जिल्लामा क्रियाशिल विभिन्न दलहरुले उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेसले जिल्ला सभापति प्रेमप्रकाश ओली, पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह र लेकमाया केसीलाई उम्मेदवार सिफारिस गरेको छ भने नेकपा (एमाले)ले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई सिफारिस गरेको छ । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोपाल शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले चन्द्रबहादुर बुढालाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दिपक कुमार मल्ल, सौरेन्द्रबहादुर शाह र गोपाल खड्काको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति