नेभिगेशन
राजनीति
व्यक्ति-व्यक्तित्व

एमालेको कान्छो जिल्ला अध्यक्ष गौतम केन्द्रिय कमिटीमा प्रतिस्पर्धा गर्दै

लिलामणी गौतम-एक जागरिलो युवा, रुकुम पूर्वको उज्यालो नक्षत्र । जसको नाम मात्रले पनि जनमनमा आशाको सञ्चार गर्छ, विश्वासको बीउ रोप्छ र सम्बन्धको मजबुत धरोहर निर्माण गर्छ ।

नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष गौतम यतिबेला पार्टीको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा युवा कोटाबाट प्रतिनिधिका रूपमा सहभागी हुनुहुन्छ । आफ्नो कार्यक्षेत्रमा जिम्मेवार, संगठनप्रति प्रतिबद्ध र नेता–कार्यकर्ताको सुख–दुःखमा सधैँ साथ दिने उहाँको स्वभाव नै उहाँको मुख्य परिचय हो ।

वि.सं. २०४४ कार्तिक २ गते सिस्ने गाउँपालिका–६, रुकुमकोटमा जन्मिनुभएका गौतमले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास तथा जनप्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन पूरा गर्नुभएको छ । 

देश चरम द्वन्द्वको दौरमा थियो । रुकुम र रोल्पाजस्ता भूगोलमा राजनीति गर्नु चुनौतीपूर्ण मात्र होइन, जोखिमपूर्ण पनि थियो । त्यही कठिन परिस्थितिमा वि.सं. २०५६ सालमा रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी (प्राक) सचिवको जिम्मेवारी सम्हाल्दै लिलामणी गौतमले राजनीतिक यात्राको औपचारिक सुरुआत गर्नुभयो ।

२०५७ सालमा उहाँ अनेरास्ववियु रुक्मिणी माविको प्राक अध्यक्ष बन्नुभयो । २०५८ सालमा अनेरास्ववियु साविक रुकुम जिल्ला कमिटी सदस्य हुँदै २०५९ सालमा जिल्ला कमिटी सचिवमा निर्वाचित हुनुभयो । २०६० सालमा अनेरास्ववियु रुकुम जिल्ला कमिटी अध्यक्ष बनेर उहाँले जिल्लाभर विद्यार्थी राजनीतिलाई नेतृत्व दिनुभयो, जुन उहाँको राजनीतिक जीवनको एक महत्वपूर्ण मोड बन्यो ।

२०६३ सालमा अनेरास्ववियुको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस, दाङको स्वतन्त्र विद्यार्थी युनियन सदस्यमा निर्वाचित हुनुभएका गौतम २०६२/०६३ को जनआन्दोलनका क्रममा सोही क्याम्पसमा गठित संयुक्त विद्यार्थी मोर्चाको संयोजक रहनुभयो । आन्दोलनकै क्रममा दामोदर चोक, घोराहीबाट गिरफ्तार भई प्रहरी हिरासतमा बस्नुपरेको अनुभवले उहाँको राजनीतिक प्रतिबद्धतालाई अझ दृढ बनायो ।

२०६४ देखि २०६७ सालसम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा साविक राप्ती अञ्चल इञ्चार्जका रूपमा विद्यार्थी राजनीतिलाई संगठनात्मक रूपमा विस्तार गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०६८ देखि २०७३ सम्म नेकपा एमाले रुकुम–काठमाडौं सम्पर्क मञ्चमा क्रियाशील रहनुभएका उहाँ २०७४ सालमा साविक रुकुम जिल्ला विभाजनपछि नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा आउनुभयो ।

पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि उहाँ रुकुम पूर्व जिल्ला कमिटी सदस्य रहनुभयो । एकीकरण विघटन भई पुनः नेकपा एमाले ब्युँतिएपछि गौतम एमाले रुकुम पूर्व जिल्ला कमिटी सचिव तथा लुम्बिनी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहँदै संगठन निर्माणमा जुटिरहनुभयो ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा रुकुम पूर्वबाट प्रतिनिधि बनेर पहिलोपटक महाधिवेशनमा सहभागी हुनुभएका गौतम एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा युवा क्षेत्रबाट प्रदेश कमिटी सदस्यमा पुनः निर्वाचित हुनुभयो । सोही क्रममा उहाँलाई सिस्ने गाउँपालिका इञ्चार्जको जिम्मेवारी दिइयो ।

उहाँको राजनीतिक यात्राले २०८० चैतमा अर्को ठूलो छलाङ मार्‍यो । नेकपा एमाले रुकुम पूर्वको दशौँ जिल्ला अधिवेशनबाट उहाँ जिल्ला अध्यक्षमा निर्वाचित भई समग्र जिल्लाको नेतृत्व गर्ने जिम्मेवारीमा पुग्नुभयो । अध्यक्ष बनेपछि जिल्लाबासीको सुख–दुःखमा उहाँको सक्रियता झनै बढ्यो र उहाँ जिल्लाका लागि आशा र भरोसाको केन्द्रका रूपमा स्थापित हुनुभयो ।

हाल नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा रुकुम पूर्वबाट युवा क्षेत्रको प्रतिनिधि निर्वाचित गौतम यसअघि पार्टीको पहिलो र दोस्रो विधान महाधिवेशनमा पनि प्रतिनिधिका रूपमा सहभागी भइसकेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इञ्चार्ज खेममान खड्काका अनुसार, अध्यक्ष बनेको छ महिनाभित्रै गौतमले उल्लेखनीय संगठनात्मक उपलब्धि हासिल गर्नुभएको छ । जिल्लाका सबै पालिका र वडाका अधिवेशन सम्पन्न गरी सर्वसम्मत नेतृत्व चयन, २३ मध्ये २० वटा जनसंगठनको जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व निर्माण, पार्टी सदस्य विवरण अनलाइन प्रणालीमा व्यवस्थित, जरा अभियानअन्तर्गत ग्रामीण बस्तीमा ९३ वटा टोल कमिटी गठन, निस्क्रिय नेता–कार्यकर्ताको पहिचान गरी जिम्मेवारी प्रदान गर्नु उहाँका प्रमुख उपलब्धिहरू हुन् ।

यसका साथै सदरमुकाममा जग्गा प्राप्त गरी जिल्ला पार्टी कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाउनु तथा जिल्ला विभाजनपछि लामो समयदेखि टुंगो नलागेको सदरमुकाम विवादलाई सबै पक्षसँग समन्वय गर्दै नेपाल सरकारबाट निर्णय गराउन सफल हुनु उहाँको समन्वय क्षमता र नेतृत्व दक्षताको महत्वपूर्ण उदाहरण बनेको छ ।

जिल्लाका सामाजिक, राजनीतिक, प्रशासनिक र विकास निर्माणलगायत सबै क्षेत्रमा नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको सकारात्मक भाष्य स्थापित गर्न सफल गौतम आसन्न महाधिवेशनबाट केन्द्रीय सदस्यका बलिया दावेदारका रूपमा हेरिनु भएको छ । केन्द्रीय नेतृत्वमा पुग्न सके रुकुम पूर्वको विकासले थप गति लिने विश्वास जिल्लावासीले व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति