नेभिगेशन
समाज

रुकुम पश्चिमको झुल्नेटास्थित होटलमा एक व्यक्ति मृत फेला

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक होटलको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मुसिकोट नगरपालिका–३ माछिमी निवासी ३९ वर्षीय राजेन्द्र के.सी. (राजु) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार न्यू त्रिवेणी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा खाना खाएर कोठा लिई सुतेका केसी आईतबार दिउँसो २ बजेसम्म पनि उनी कोठाबाट बाहिर ननिस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा उनी बेडमा सुतिरहेको अवस्थामा देखिएका थिए ।

कोठाको ढोका भित्रबाट बन्द रहेको र पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि होटल सञ्चालकले प्रहरी चौकी झुल्नेटालाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक भुपबहादुर बोहोराको कमाण्डमा तीन जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमाण्डमा घटनास्थल अनुसन्धान टोलसहित सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

स्थानीय जनप्रतिनिधि तथा मृतकका आफन्तको रोहबरमा कोठाको ढोका खोलेर हेर्दा केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज