नेभिगेशन
राजनीति

रुकुममा माओवादीले प्रयोग गर्दै आएका भौतिक संरचनाको यसरी मिल्यो भागबन्डा

रुकुम पश्चिममा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले प्रयोग गर्दै आएका भौतिक संरचनाहरू औपचारिक रूपमा भागबण्डा गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच जिल्ला सदरमुकामस्थित महत्त्वपूर्ण भवन तथा संरचनाहरू प्रयोग गर्ने सम्बन्धमा लिखित सहमतिसहित भागबण्डा गरिएको हो । 

साबिक माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको नेकपा र उपमहासचिव जनार्दन शर्माको अगुवाईमा बनेको प्रलोपा बिच भौतिक संरचनाहरुको भागबन्डा गरिएको हो । 

विगतमा एउटै पार्टीमा रहेर काम गरेको र भविष्यमा पनि सहकार्यको सम्भावना रहेको भन्दै दुवै पक्षले सहमति पत्रमार्फत सम्पत्ति बाँडफाँड गरेको जनाएका छन् । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका संयोजक गोविन्द रोका र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गनुभएको छ । 

सहमति अनुसार मुसिकोट नगरपालिकाका दुई फरक स्थानमा रहेका भवनहरू दुई पार्टीले बाँडेर प्रयोग गर्नेछन् । जसअनुसार मुसिकोट नगरपालिका वडा नम्वर ५ सेरिगाउँमा रहेको 'शहीद स्मृति प्रतिष्ठान' र 'ईस्कन्द नर्मदा फाउण्डेशन' परिसरभित्र रहेका भवनसहितका सम्पूर्ण भौतिक संरचनाहरू नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्नेछ भने मुसिकोट नगरपालिका वडा नम्वर १ खलङ्गा बजारस्थित 'ईस्कन्द नर्मदा स्मृति फाउण्डेशन'को नाममा रहेको भवन भने प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने सहमति भएको छ ।

मंसिर १५ गते नै भएको उक्त सम्झौता मंसिर २१ गते देखि लागू भएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति