नेभिगेशन
राजनीति

रुकुम पश्चिममा प्रमुख दलका गतिविधि चुस्त, कांग्रेस भने सुस्त

जेनजी आन्दोलन र त्यस यता परिवर्तित घटनाक्रमपछि रुकुम पश्चिममा विभिन्न राजनीतिक दलहरुले आ आफ्ना पार्टी गतिविधिहरु सक्रिय पार्न थालेका छन् । 

बिशेष गरेर साबिक नेकपा (माओवादी केन्द्र) नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशिल लोकतान्त्रिक पार्टीका विभाजन भएर दैनिक रुपमा गतिविधिहरु गरिरहेका छन् । साबिक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप महासचिव जनार्दन शर्मा प्रभाकर फरक फरक राजनीतिक कित्तामा उभिएपछि रुकुम पश्चिममा त्यसको प्रत्यक्ष असर परेको छ ।

प्रचण्डको अगुवाईमा वृहत बाम ध्रुविकरण सुरु गरेर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको छ भने प्रभाकरको पक्षमा प्रगतिशिल लोकतान्त्रिक पार्टी निर्माण भएको छ । माओवादी किल्लाका रुपमा चर्चित रुकुम पश्चिममा यी दुवै लाईनमा नेता कार्यकताहरु विभाजन भएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीको कित्तामा उभिएका साबिक माओवादी केन्द्रले जिल्लाका छ वटै पालिकामा अन्तरक्रिया तथा बैठक समेत सम्पन्न गरेको छ भने कतिपय पालिकाको नेतृत्व समेत फेरबदल गरेको छ । यो पार्टीका मुसीकोट नगर समितिका अध्यक्ष धनबहादुर खड्का बसन्तले दैनिकजसो वडास्तरका भेला तथा बैठकहरु गरेर पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षित गरिरहेको बताउनुभयो । 

प्रगतिशिल लोकतान्त्रिक पार्टीले पनि वडा–वडामा भेला तथा बैठकहरु गरिरहेको छ । आफ्ना लाईनका कार्यकर्ताहरु जोगाउन र पार्टीलाई बलियो बनाउन यो पार्टीले पनि दिनहुँ छलफल तथा भेटघाटका गतिविधिहरु जारी राखेको देखिन्छ । 

भदौ २३ र २४ को आन्दोलन अघिका सत्ता साझेदार मुख्य राजनीतिक दल मध्यको नेकपा (एमाले) ले पनि आफ्ना कार्यक्रमहरु निरन्तरता दिईरहेको छ । पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढलेपछि जिल्लामा कार्यकर्ता पंक्तिमा उर्जा दिन, थप आकर्षण देखाउँन वडा भेला हुँदै पालिका र जिल्लास्तरमा बृहत जनसभा तथा प्रदर्शन समेत एमालेले गरिसकेको छ ।

कात्तिक २९ गते भएको जनप्रदर्शन र जनसभाले रुकुम पश्चिममा एमाले प्रति आकर्षण र लहर बढेको नेकपा (एमाले) मुसिकोट नगर कमिटीका अध्यक्ष गोकर्ण खड्काले बताउनुभयो । उहाँका अनुसार पार्टीको ११ औ महाधिवेशनको लागि प्रतिनिधि छनौटमा पनि एमालेले चुनाव गरेर नयाँ अभ्यास गरेको देखिन्छ । वर्तमान सरकारले घोषणा गरेको चुनावी लक्षित आन्तरिक कार्यक्रमहरु पनि एमालेले गरिरहेको देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि वडा र पालिकास्तरमा नियमति छलफल तथा अन्तरक्रियाका कार्यक्रमहरु गरिरहेको छ । परिवर्तित राजनीतिक घटनाक्रमपछि रास्वपाप्रति कार्यकर्ताहरुको आशा झन् बढेको रास्वपाको बुझाई रहेको छ । रास्वपाका जिल्ला सभापति मानबहादुर शाहीले सदस्यता वितरण, विभिन्न तहका समितिको पूर्णता, पार्टीको सन्देश प्रवाहका लागि अन्तक्रिया लगायतका कार्यक्रमहरु भईरहेको बताउनुभयो । 

देशकै पुरानो र ठुलो दल रहेको नेपाली कांग्रेसका गतिविधिहरु भने रुकुम पश्चिममा सुस्त देखिएका छन् । पार्टीको केन्द्रिय समितिले वडा देखि केन्द्रसम्मको अधिवेशनको मिति तोकेको करिब एक महिना मात्र बाँकि रहँदा पनि गाउँमा काँग्रेसका गतिविधिहरु भएका छैनन् । 

पार्टीका गतिविधि नै सुस्त भएपछि काँग्रेसका कार्यकर्तामा उत्साह जाग्न सकेको छैन । चुनावको मुखमा मात्रै जनता खोज्ने, अन्य बेला जिल्ला राजधानी र जिल्ला सदरमुकाममा मात्रै केन्द्रित हुने गुनासो आम राजनीतिक दलहरु प्रति रहने गरेको छ । काँग्रेस कार्यकर्ताहरुले उक्त भनाई रुकुम पश्चिमको सन्दर्भमा मेल खान गएको जनाउँदै आएका छन् । 

नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले जेनजी आन्दोलनपछि बिशेष महाधिवेशन या महाधिवेशन भन्नेमा पार्टीको केन्द्रिय समितिमा टुंगो लाग्न ढिलाई भएकोले जिल्लास्तरका कार्यक्रमहरु केहि समय रोकिन गएको बताउनुभयो । विभिन्न सन्दर्भ र आवश्यकताको आधारमा पार्टी कार्यकर्ता भेटघाट, सदस्यता वितरण तथा नविकरण, अन्तरक्रिया लगायतका गतिविधिहरु भईरहेको उहाँको दाबी छ । 

जेनजी पुस्ताको मनोभावनाको कदर गर्दै कांग्रेसका गवितिधिहरु केन्द्रित हुने उहाँको भनाइ छ । मुलुकको प्रमुख दल भएको हिसाबले कार्यकर्ताहरुको मनोभावना र उत्साहमा कमी हुन नदिने सचिव भण्डारीले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति