प्रेमबहादुर ओली, “लोकतान्त्रिक आदर्शबाट प्रेरित, सामाजिक सेवामा समर्पित र व्यवसायीक मर्यादामा अडिक” युवा पुस्ताको प्रतिनिधि पात्रको रुपमा रुकुम कांग्रेसमा चर्चित नाम हो ।
राजनीति पद प्राप्तिको माध्यम मात्र होइन, समाज र जनताको सेवाको जिम्मेवारी हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्श, चारतारे झन्डा र रुख चिह्नलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउनु भएका ओली नेपाली कांग्रेस रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नगर सभापति पदमा हुनुहुन्छ ।
२०७८ साल असोज ४ गतेको नगर अधिवेशनबाट सभापतिमा निर्वाचित ओली अव जिम्मेवारी हस्तान्तरणको तयारी र क्षेत्रिय सभापतिमा फड्को मार्ने तयारीमा हुनुहुन्छ ।
मिजासिलो व्यवहार, सरल व्यक्तित्व, सहयोगी भावना र सबैसँग सहज रुपमा घुलमिल हुन सक्ने स्वभावका कारण ओली नेपाली कांग्रेस मुसिकोट नगरपालिकाका नेता–कार्यकर्तामाझ आत्मीय परिचय बनाउन सफल हुनुभएको छ । राजनीतिक विचारमा फरक मत राख्नेहरुसँग समेत संवाद, सहकार्य र सम्बन्ध कायम राख्न सक्ने उहाँको क्षमता उहाँको राजनीतिक व्यक्तित्वको महत्वपूर्ण विशेषता हो ।
राजनीति केवल पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम होइन, समाज र जनताको सेवाका लागि अपनाइएको जिम्मेवारी हो भन्ने मान्यता उहाँको राजनीतिक व्यवहारमा देखिन्छ । विपक्षी राजनीतिक धारमा रहेका व्यक्तिहरूसँग समेत सहज रुपमा संवाद र सहकार्य गर्न सक्ने उहाँको क्षमता राजनीतिक वृत्तमा उहाँको महत्वपूर्ण विशेषताका रूपमा लिइन्छ ।
जनताले छानेको नेतृत्व
स्थानीय तहको पहिलो कार्यकालमा वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएका ओलीले जनप्रतिनिधिका रुपमा जनताको प्रत्यक्ष सेवा गर्ने अवसर प्राप्त गर्नुभयो । जनताका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने त्यो अनुभव उहाँको राजनीतिक यात्राको महत्वपूर्ण पूँजी बनेको छ ।
जनप्रतिनिधिको जिम्मेवारीपछि पनि उहाँ सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहनुभयो । राजनीति र समाजसेवासँगै युवा व्यवसायीका रुपमा समेत सक्रिय ओलीले विभिन्न क्षेत्र र समुदायसँग स्थापित गरेको सम्बन्धलाई सामाजिक तथा राजनीतिक सहकार्यको आधार बनाउँदै आउनुभएको छ ।
नेपाली कांग्रेस मुसिकोट नगरपालिकाको नगर सभापतिको जिम्मेवारी सम्हालेपछि ओलीले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र चलायमान बनाउने दिशामा निरन्तर काम गर्नुभएको छ ।
विशेषगरी पार्टी सदस्यता वितरण, शुद्धीकरण तथा संगठनलाई चलायमान बनाउने अभियानमा उहाँले देखाएको सक्रियता उहाँको नेतृत्वकालका महत्वपूर्ण कामका रुपमा लिन सकिन्छ । पार्टीको निर्देशन अनुसार उहाँले निरन्तर रुपमा सञ्चालन गरेका गाउँ जागरण, वडा सम्मेलन, घरदैलो, जनतासँग भेटघाट लगायतका अभियानहरु सञ्चालन गर्नुभयो ।
पुरानो कार्य समितिले गरेका कामको उच्च मूल्यांकनबाटै सुरु गरेको पार्टी गतिविधिका क्रममा उहाँले ९२ वटा नगर समितिका बैठक सञ्चालन गरेको बताउनुभयो । सबै बैठकमा सर्वसम्मत निर्णय भएको र कुनै एजेन्डामा कसैले पनि 'नोट अफ डिसेन्ट' लेख्ने अवस्था नआएकोले उहाँले नगर समितिलाई पूर्ण रुपमा सफल र सन्तुललित रुपमा सञ्चालन गर्नुभएको स्पष्ट हुन्छ ।
संगठन बलियो बनाउन कार्यकर्तासँगको निरन्तर सम्पर्क, संवाद र सहकार्य आवश्यक हुन्छ भन्ने मान्यताका साथ ओलीले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताबीच सम्बन्ध सुदृढ गर्ने प्रयास गर्दै आउनुभएको छ ।
कांग्रेसभित्र गुट होइन, एकताको आवाज
नेपाली कांग्रेसभित्र विचार र दृष्टिकोणका विविधता हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष हो । तर संगठनलाई कमजोर पार्ने गरी विभाजन र कित्ताकाट गर्नुको सट्टा सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउने राजनीतिक संस्कार आवश्यक छ भन्ने मान्यता ओलीको व्यवहारमा देखिन्छ ।
उहाँको राजनीतिक यात्राको एउटा महत्वपूर्ण पक्ष -‘यो वा त्यो लाइन’ भन्दा माथि उठेर समग्र कांग्रेसको पक्षमा उभिने प्रयास पनि हो । अरुले यो वा त्यो लाईन भनेर कित्ता छुट्याउँदा उहाँले गाउँमा पुगेर सदस्यता वितरण र नविकरणका काममा विताएको, रुख र तारतारे झण्डामूनि समर्पित भएको स्मरण गर्नुभयो ।
फरक धारमा रहेका नेता तथा कार्यकर्तासँग पनि संवाद र सहकार्य गर्न सक्ने उहाँको स्वभावले पार्टीभित्र समन्वयको वातावरण निर्माण गर्न सहयोग पु¥याएको छ ।
कार्यकर्ताको मनमा बसेको नेतृत्व
उहाँ भन्नुहुन्छ, ‘नेतृत्व केवल पदले स्थापित हुँदैन, व्यवहारले स्थापित हुन्छ ।’ कार्यकर्ताको सुख–दुःखमा साथ दिने, समस्या सुन्ने, आवश्यक पर्दा सहयोग गर्ने र सबैसँग आत्मीय सम्बन्ध राख्ने ओलीको स्वभावले उहाँलाई कार्यकर्ताको नजिक पु¥याएको छ ।
उहाँको परिचय ठूलो भाषणभन्दा पनि सानो व्यवहारमा देखिने आत्मीयतासँग जोडिएको छ । यही कारण उहाँलाई धेरै कार्यकर्ताले पदको नेता मात्र नभई सहयात्री र सहयोगीका रुपमा हेर्ने गरेका छन् ।
क्षेत्रीय सभापतिमा दावेदारी
नगर सभापतिको जिम्मेवारीमार्फत संगठनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरिसकेपछि ओली अब नेपाली कांग्रेसको क्षेत्रीय (प्रदेश निर्वाचन क्षेत्र) सभापति पदका आकांक्षीका रुपमा अघि बढ्नुभएको छ ।
क्षेत्रीय नेतृत्वप्रतिको उहाँको आकांक्षा व्यक्तिगत राजनीतिक यात्राको अर्को खुड्किलो मात्र नभई नगर तहमा हाँसिल गरेको संगठनात्मक अनुभवलाई अझ फराकिलो क्षेत्रमा प्रयोग गर्ने प्रयासका रूपमा उहाँले प्रस्तुत गर्नुभएको छ ।
जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव, संगठन सञ्चालनको अभ्यास, सामाजिक तथा व्यवसायिक क्षेत्रसँगको सम्बन्ध र कार्यकर्तासँगको आत्मीयता उहाँको आगामी राजनीतिक यात्राका महत्वपूर्ण आधार हुन् । ठूलो पद वा औपचारिक हैसियतका आधारमा दूरी कायम गर्नुभन्दा सामान्य कार्यकर्तासँगै बसेर कुरा गर्ने, समस्या सुन्ने र सहयोगका लागि तत्पर रहने शैलीले उहाँलाई कार्यकर्तासँग नजिक बनाएको छ ।
राजनीतिमा विचार आवश्यक छ, संगठन आवश्यक छ र नेतृत्व पनि आवश्यक छ । तर यी सबैलाई जोड्ने अर्को महत्वपूर्ण पक्ष हो - मानवीय सम्बन्ध । ओलीले आफ्नो राजनीतिक यात्रामा यही सम्बन्धलाई बलियो बनाउने प्रयास गर्नुभएको देखिन्छ ।
त्यसैले उहाँको राजनीतिक परिचय एउटा पदमा सीमित छैन । उहाँलाई चिन्नेहरूका लागि प्रेम बहादुर ओली भनेको मिलनसार नेता, सहयोगी सहयात्री र संगठनप्रति प्रतिबद्ध कांग्रेस कार्यकर्ताको परिचय हो ।
चारतारे झन्डामुनि एउटै कांग्रेस
प्रेम बहादुर ओलीको राजनीतिक प्रतिबद्धताको केन्द्रमा नेपाली कांग्रेस छ । उहाँले मूलपाटीसँगको कुराकानीका क्रममा भन्नुभयो, “व्यक्ति भन्दा संगठन, गुट भन्दा एकता र पद भन्दा सेवा मेरा प्राथमिक सवाल हुन् ।”
चारतारे झन्डामुनि कांग्रेसका सबै नेता–कार्यकर्तालाई एउटै भावनामा जोड्दै संगठनलाई थप सुदृढ बनाउने उहाँको प्रयास निरन्तर छ ।
उहाँको बुझाई छ, “कांग्रेस बलियो बन्ने हो भने कार्यकर्ता बलियो बन्नुपर्छ, कार्यकर्ता बलियो बनाउन नेतृत्व कार्यकर्ताको बीचमा पुग्नुपर्छ ।” त्यसैले उहाँको राजनीतिक शैलीमा कार्यकर्तासँगको सम्बन्ध र संगठनप्रतिको जिम्मेवारीलाई विशेष महत्व दिइएको पाइन्छ ।
अब क्षेत्रीय सभापतिको आकांक्षासहित अघि बढिरहँदा प्रेम बहादुर ओलीसँग एउटा स्पष्ट राजनीतिक पृष्ठभूमि छ - जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव, नगर संगठनको नेतृत्व गरेको अनुभव र कार्यकर्तासँग नजिक रहेर राजनीति गरेको अनुभव ।
यिनै अनुभवलाई अझ व्यापक बनाउँदै नेपाली कांग्रेसलाई स्थानीय तहदेखि क्षेत्रीय तहसम्म थप संगठित, सक्रिय र एकताबद्ध बनाउने संकल्पका साथ उहाँ अघि बढ्नुभएको छ ।
आम कार्यकर्तालाई केहि सन्देश दिन छुटेको छ ? भनेर हामीले सोधेको प्रश्नको एक वाक्यमै उहाँले भन्नुभयो,: , “पदका लागि होइन : जिम्मेवारीका लागि नेतृत्व, विभाजनका लागि होइन : एकताका लागि संगठन, स्वार्थका लागि होइन : सेवाका लागि राजनीति ।”