नेभिगेशन
राजनीति

साँस्कृतिक क्रान्तिबिनाको राजनीतिक परिवर्तनले समाज बदल्दैन, शासक मात्र बदल्छ !

राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति किन अनिवार्य छ ?

कहिलेकाहीँ इतिहासका पानाहरू पल्टाउँदा मनमा एउटा गहिरो प्रश्न उठ्छ, हामीले यति ठूलो संघर्ष कसका लागि गर्‍यौँ ? कसका रगत, पसिना र आँसुबाट परिवर्तनको जग बसाल्यौँ ? अनि आज त्यही परिवर्तनको सपना देखेका मानिसहरू किन फेरि निराशाको अँध्यारोमा उभिएका छन् ?

हिजो हामीसँग सपना थियो । अन्यायविरुद्ध विद्रोह गर्ने साहस थियो । शोषितहरूको मुक्तिको संकल्प थियो । गाउँका गरिब किसान, खेतमा पसिना बगाउने मजदुर, जातीय अपमान सहेर बाँचेका दलित, पितृसत्तासँग जुधिरहेका महिला, पहिचान र अधिकार खोजिरहेका जनजाति, मधेसी, मुस्लिम र सीमान्तकृत समुदाय - सबैको आँखामा एउटा सुन्दर भविष्यको चित्र थियो ।

त्यो भविष्यमा मानिसको मूल्य उसको जातले होइन, उसको मानवताले निर्धारण गर्नेछ । श्रम गर्ने मानिस भोकै सुत्नुपर्ने छैन । महिलाले आफ्नो अस्तित्व प्रमाणित गर्नुपर्ने छैन। दलितले पानी छोएको निहुँमा अपमानित हुनुपर्ने छैन । गरिबको छोराछोरीले अवसरका लागि आफ्नो जन्म र वर्गसँग युद्ध गर्नुपर्ने छैन । राज्य केही शक्तिशाली व्यक्तिको पेवा नभई जनताको साझा सम्पत्ति बन्नेछ  ।

यही सपना बोकेर मानिसहरू आन्दोलनमा होमिए । कसैले घर छोडे, कसैले परिवार गुमाए, कसैले जीवन नै बलिदान गरे । कति आमाका काख रित्तिए, कति सन्तान टुहुरा भए, कति परिवारको भविष्य संघर्षको आगोमा जलेर खरानी भयो  ।

तर आज एउटा प्रश्नले छाती चिर्छ, जसको मुक्तिका लागि आन्दोलन उठ्यो, के आज उनीहरू नै परिवर्तनका वास्तविक हिस्सेदार बने ?

व्यवस्था बदलियो, तर मानिसको सोच किन बदलिएन ?

नेपालमा राणाशासनविरुद्ध संघर्ष भयो। पञ्चायती निरङ्कुशताविरुद्ध जनआन्दोलन भयो । राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भयो । माओवादी जनयुद्धले राज्यको पुरानो संरचना र सामाजिक उत्पीडनलाई चुनौती दियो । मधेस आन्दोलनले पहिचान र प्रतिनिधित्वको प्रश्नलाई राष्ट्रिय बहसमा ल्यायो । दलित आन्दोलनले हजारौँ वर्षदेखि थोपरिएको जातीय दासत्वविरुद्ध विद्रोह गर्‍यो ।

महिला, जनजाति, थारू, मुस्लिम र अन्य सीमान्तकृत समुदायले आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गरे । पछिल्ला युवा आन्दोलनहरूले भ्रष्टाचार, कुशासन र अवसरको असमानतामाथि प्रश्न उठाए । 

यी संघर्षले इतिहासमा महत्त्वपूर्ण परिवर्तन ल्याएका छन् । तर ती उपलब्धिको रक्षा गर्नु र तिनलाई जनताको जीवनमा स्थापित गर्नु आज पनि ठूलो चुनौती बनेको छ ।

किन संविधानमा समानता लेखिए पनि व्यवहारमा छुवाछूत बाँकी छ ? किन गणतन्त्रमा पनि गरिबको आवाज कमजोर छ ? किन समावेशिताको नारा लगाउने संरचनाभित्रै सीमित समूहको वर्चस्व कायम रहन्छ ? किन श्रम गर्ने मानिसले जीवनभर अभाव भोग्छ, तर श्रमको लाभमाथि नियन्त्रण गर्ने वर्ग झन् शक्तिशाली बन्छ ? किन परिवर्तनको नेतृत्व गरेका कतिपय मानिस पद र प्रतिष्ठाको उचाइमा पुग्दा आफू हिँडेर आएको धुलाम्मे बाटो बिर्सन्छन् ?

यी प्रश्न कुनै एउटा पार्टी, एउटा नेता वा एउटा आन्दोलनमाथिका आरोप मात्र होइनन् । यी हाम्रो समग्र राजनीतिक संस्कार, सामाजिक संरचना र परिवर्तनको अधुरोपन माथिका प्रश्न हुन् ।

राजतन्त्रको अन्त्य हुनु ऐतिहासिक परिवर्तन हो, तर मानिसको मनभित्रको सामन्तवाद बाँकी रहनु परिवर्तनको अपूर्णता हो । संविधानमा समानता लेखिनु उपलब्धि हो, तर समाजमा समानता व्यवहारमा नदेखिनु हाम्रो सामूहिक असफलता हो ।

क्रान्तिको झन्डा बोक्ने हातमा पुरानै संस्कार कसरी पुग्यो ?

सबैभन्दा पीडादायी विडम्बना यही हो, हिजो पुरानो सत्ता ढाल्न सडकमा उत्रिएका कतिपय मानिस आज त्यही सत्ताको व्यवहार दोहोर्‍याउन थालेका छन् ।

हिजो जनताको सर्वोच्चताको कुरा गर्ने नेतृत्व आज जनताभन्दा माथि देखिन खोज्छ । हिजो वर्गीय शोषणविरुद्ध बोल्नेहरू आफैँ सुविधा र पहुँचको घेरामा सीमित हुन सक्छन् । हिजो जातीय विभेदविरुद्ध आवाज उठाउने संगठनभित्रै दलितको आवाज कमजोर हुन सक्छ ।

हिजो महिला मुक्तिको नारा लगाउने संरचनामा महिलाले निर्णय गर्ने वास्तविक शक्ति नपाउन सक्छन् । हिजो सामूहिक नेतृत्वको वकालत गर्नेहरू आज व्यक्ति र गुटको स्वार्थमा आन्दोलनलाई विभाजित गर्न सक्छन् ।

यसको अर्थ सबै नेता, सबै संगठन वा सबै आन्दोलन असफल भए भन्ने होइन । यसको अर्थ परिवर्तनको घोषणा र परिवर्तनको अभ्यासबीच गहिरो दूरी पैदा हुन सक्छ भन्ने हो ।

आखिर किन यस्तो हुन्छ ?

किनकि, पुरानो व्यवस्था ढाल्नु र पुरानो संस्कार बदल्नु एउटै कुरा होइन । पुरानो सत्तालाई विस्थापित गर्नु र सत्तालाई हेर्ने मानिसको दृष्टिकोण बदल्नु फरक कुरा हो । शोषकको कुर्सीमा नयाँ मानिस बस्दैमा शोषणको चरित्र स्वतः समाप्त हुँदैन ।

पुरानो रक्सीलाई नयाँ बोतलमा हालेर नयाँ स्वादको दाबी गर्न सकिँदैन। त्यसरी नै पुरानै अहङ्कार, पुरानै विभेद, पुरानै विशेषाधिकार र पुरानै शोषणलाई नयाँ नाराले छोपेर क्रान्तिको दाबी गर्न सकिँदैन ।

क्रान्तिको वास्तविक परीक्षा सत्तामा पुग्नुअघि लगाइएका नाराले होइन, सत्तामा पुगेपछि गरिएको व्यवहारले दिन्छ ।

दलितको आँसु नबुझ्ने क्रान्ति कसरी पूर्ण हुन्छ ?

एउटा दलित बालक विद्यालयमा विभेद सहन्छ । एउटा दलित परिवार सार्वजनिक धारामा पानी भर्न जाँदा अपमानित हुन्छ । एउटा अन्तरजातीय प्रेम गर्ने जोडी आफ्नो प्रेमभन्दा ठूलो बनाइएको जातीय पर्खालसँग लड्न बाध्य हुन्छ । एउटा दलित युवाले योग्यता हुँदाहुँदै पनि सामाजिक पूर्वाग्रहसँग संघर्ष गर्नुपर्छ ।

त्यही समाजमा समानताको भाषण हुन्छ । समावेशिताका दस्तावेज लेखिन्छन् । सामाजिक न्यायका नारा घन्किन्छन् ।

तर प्रश्न उही रहन्छ, ती नाराले दलितको जीवनमा कति परिवर्तन ल्याए ?

दलित मुक्ति भनेको केही व्यक्तिलाई पदमा पुर्‍याउनु मात्र होइन । दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, उत्पादनका साधन, राजनीतिक प्रतिनिधित्व र मानवीय मर्यादामा वास्तविक परिवर्तन ल्याउनु हो । जन्मका आधारमा मानिसलाई ठूलो र सानो बनाउने सामाजिक चेतनालाई जरैदेखि चुनौती दिनु हो ।

त्यसैगरी महिला मुक्ति भनेको केही महिलालाई नेतृत्वमा पुर्‍याएर मात्रै पूरा हुँदैन । घरदेखि राज्यसम्म निर्णय गर्ने शक्ति, आर्थिक स्वतन्त्रता, सम्पत्तिमा अधिकार र हिंसामुक्त जीवन सुनिश्चित गर्नुपर्छ ।

जनजाति, मधेसी, मुस्लिम, थारू र अन्य सीमान्तकृत समुदायको मुक्ति पनि केवल नाम समावेश गर्नु होइन, राज्यका स्रोत, अवसर र निर्णय प्रक्रियामा न्यायपूर्ण हिस्सेदारी स्थापित गर्नु हो ।

गरिब किसान र श्रमिकको मुक्ति पनि केवल उनीहरूका नाममा भाषण गर्नु होइन । उनीहरूको श्रमको उचित मूल्य, जीवन धान्न सक्ने आम्दानी, उत्पादनका साधनमा पहुँच र शोषणबाट मुक्ति सुनिश्चित गर्नु हो ।

उत्पीडितको अनुहार देखाएर राजनीति गर्ने होइन, उत्पीडनको आधार भत्काएर इतिहास बदल्ने साहस चाहिएको छ ।

सांस्कृतिक क्रान्ति भनेको मानिसभित्रको अन्यायसँग युद्ध हो

सांस्कृतिक क्रान्ति भन्नाले गीत, भेषभूषा, भाषा वा परम्परा सबै त्याग्नु होइन । आफ्नो संस्कृति जोगाउनु र अन्यायपूर्ण संस्कार बदल्नु फरक कुरा हुन् ।
मानिसलाई जन्मका आधारमा अछुत ठान्ने संस्कार बदल्नु सांस्कृतिक क्रान्ति हो । महिलालाई पुरुषभन्दा कमजोर र अधीनस्थ ठान्ने सोच बदल्नु सांस्कृतिक क्रान्ति हो । श्रम गर्ने हातलाई हेपेर श्रमको फल कब्जा गर्ने मानसिकता बदल्नु सांस्कृतिक क्रान्ति हो ।

प्रश्न गर्ने नागरिकलाई शत्रु ठान्ने राजनीतिक प्रवृत्ति बदल्नु सांस्कृतिक क्रान्ति हो । नेता सधैँ सही हुन्छ र जनताले सधैँ आदेश मान्नुपर्छ भन्ने मानसिकता बदल्नु सांस्कृतिक क्रान्ति हो ।

यो क्रान्ति सडकमा मात्रै हुँदैन । यो हाम्रो घरमा हुन्छ, विद्यालयमा हुन्छ, पार्टी कार्यालयमा हुन्छ, सरकारी कार्यालयमा हुन्छ, खेतमा हुन्छ, कारखानामा हुन्छ र हाम्रो आफ्नै सोचभित्र हुन्छ ।

हामीले अरूलाई बदल्न खोज्दा आफूभित्रको जातीय अहङ्कार बदल्न तयार हुनुपर्छ । समाजमा समानता खोज्दा आफ्नै घरभित्र समानता स्थापित गर्न तयार हुनुपर्छ । लोकतन्त्रको माग गर्दा फरक विचार सुन्न र आलोचना स्वीकार गर्न तयार हुनुपर्छ ।

किनकि मानिसले पुरानो सत्ता हटाएर पनि पुरानो सत्ताको संस्कार बोकेर हिँडिरह्यो भने क्रान्तिले अनुहार बदल्छ, चरित्र बदल्न सक्दैन।

अब आन्दोलनलाई जनतासँग फेरि जोड्नुपर्छ

आन्दोलनको सबैभन्दा ठूलो शक्ति उसका भवन, झन्डा, कार्यालय वा नेताको भाषण होइन । त्यसको वास्तविक शक्ति जनताको विश्वास हो ।

जब किसानले आफ्नो पीडा सुनाउन संगठन खोज्छ र ढोका बन्द भेट्छ, आन्दोलन कमजोर हुन्छ । जब दलित युवाले समानताको कुरा उठाउँदा उसैलाई चुप लगाइन्छ, आन्दोलन कमजोर हुन्छ । जब महिलाको योगदान स्वीकार गरिन्छ तर निर्णयमा स्थान दिइँदैन, आन्दोलन कमजोर हुन्छ ।

जब श्रमिकको नाममा राजनीति हुन्छ तर श्रमिकको जीवन बदलिँदैन, आन्दोलन कमजोर हुन्छ । जब युवा भविष्य खोज्दै विदेशिन बाध्य हुन्छन् र देशमा उनीहरूको श्रम तथा प्रतिभाका लागि सम्मानजनक अवसर हुँदैन, आन्दोलन कमजोर हुन्छ ।

जनता आन्दोलनबाट टाढिएका होइनन् भन्ने कुरा पनि बुझ्नुपर्छ । धेरै अवस्थामा उनीहरू आन्दोलनका नाममा गरिएका वाचा र व्यवहारबीचको दूरीबाट निराश भएका हुन्छन् ।

त्यसैले अब जनतालाई फेरि भाषण सुनाउने मात्र होइन, उनीहरूका प्रश्न सुन्ने समय हो । उनीहरूलाई फेरि बलिदान माग्ने मात्र होइन, उनीहरूको जीवनमा परिवर्तनको प्रतिफल पुर्‍याउने समय हो। पुरानो उपलब्धिमा गर्व गर्ने मात्र होइन, ती उपलब्धि किन अधुरा रहे भनेर इमानदारीपूर्वक आत्मसमीक्षा गर्ने समय हो ।

हामीले इतिहासका उपलब्धि मेटाउनु हुँदैन। तर उपलब्धिको नाममा वर्तमानका कमजोरी ढाकछोप पनि गर्नु हुँदैन ।

क्रान्तिको रक्षा भनेको क्रान्तिको आलोचना रोक्नु होइन, क्रान्तिका अधुरा वाचा पूरा गर्न निरन्तर संघर्ष गर्नु हो ।

अबको क्रान्ति कस्तो हुनुपर्छ ?

अबको क्रान्ति केवल सरकार परिवर्तनमा सीमित हुनु हुँदैन । यसले समाजको आर्थिक संरचना, राजनीतिक संस्कार र सांस्कृतिक चेतनालाई एकसाथ बदल्ने दिशा लिनुपर्छ ।

आर्थिक रूपान्तरण : श्रमिक, किसान र विपन्न समुदायको जीवनस्तर सुधार्ने, शोषण घटाउने र स्रोत तथा अवसरमा न्यायपूर्ण पहुँच स्थापित गर्ने ।
सामाजिक रूपान्तरणस् जातीय विभेद, छुवाछूत, लैङ्गिक हिंसा र सबै प्रकारका सामाजिक उत्पीडनविरुद्ध प्रभावकारी संघर्ष गर्ने ।

राजनीतिक रूपान्तरण : नेतृत्वलाई जवाफदेही बनाउने, संगठनभित्र लोकतन्त्र बलियो बनाउने र जनतालाई निर्णय प्रक्रियाको वास्तविक हिस्सेदार बनाउने ।

सांस्कृतिक रूपान्तरण : वैज्ञानिक चेतना, आलोचनात्मक विवेक, श्रमको सम्मान, समानता र मानवीय मर्यादालाई सामाजिक व्यवहारको आधार बनाउने ।

यो बाटो सजिलो छैन । केवल नारा लगाएर सम्भव पनि छैन । निरन्तर संगठन, शिक्षा, जनचेतना, नीतिगत परिवर्तन, आर्थिक न्याय र सामूहिक संघर्ष आवश्यक छन् ।

तर यही बाटोले राजनीतिक उपलब्धिलाई जनताको वास्तविक मुक्तिसँग जोड्न सक्छ ।

अन्तिममा, एउटा प्रश्न सबै आन्दोलनकारीको मनमा रहोस् !
हिजो हामीले जुन समाजको सपना देखेर संघर्ष गर्‍यौँ, आज हाम्रा सन्तानले पनि त्यही अन्यायविरुद्ध संघर्ष गर्नुपर्ने हो भने हाम्रो परिवर्तन कहाँ पुग्यो ?
हिजोका शहीदले कल्पना गरेको समाजमा पनि दलितले आफ्नो मानवता प्रमाणित गर्नुपर्ने, महिलाले समान अधिकार मागिरहनुपर्ने, श्रमिकले आफ्नो श्रमको मूल्य खोज्नुपर्ने र गरिबले अवसरका लागि भौँतारिनुपर्ने हो भने हामीले जितेको परिवर्तनको अर्थ के रह्यो ?

हामीले पुरानो सत्ता ढाल्यौँ, तर पुरानै संस्कार जोगायौँ भने इतिहासले हामीलाई माफ गर्नेछैन । हामीले जनताको नाममा राजनीति गर्‍यौँ, तर जनताको जीवन बदल्न सकेनौँ भने नाराले मात्र हाम्रो इतिहास उज्यालो बनाउन सक्नेछैन ।

परिवर्तनको अर्थ पुरानो पुस्तालाई गाली गरेर नयाँ पुस्तालाई सत्तामा पुर्‍याउनु मात्र होइन । परिवर्तनको अर्थ नयाँ पुस्ताले पनि पुरानै गल्ती नदोहोर्‍याउनु हो । पुरानालाई विस्थापित गर्नु मात्र होइन, पुरानो अन्यायपूर्ण सोच र व्यवहारलाई विस्थापित गर्नु हो ।

हामीलाई नयाँ अनुहार मात्र होइन, नयाँ चेतना चाहिएको छ । नयाँ पार्टी मात्र होइन, नयाँ राजनीतिक संस्कार चाहिएको छ । नयाँ सरकार मात्र होइन, न्यायपूर्ण समाज चाहिएको छ । नयाँ नारा मात्र होइन, जनताको जीवनमा देखिने नयाँ यथार्थ चाहिएको छ ।

किनकि इतिहासको अन्तिम प्रश्न सधैँ एउटै हुनेछ, सत्ता कसले जित्यो भन्ने होइन, परिवर्तनले जनतालाई के दियो ?

हामीले यही प्रश्नबाट फेरि आफ्नो यात्रा सुरु गर्नुपर्छ । दलितको आँसु पुछ्ने, महिलाको आवाज सुन्ने, श्रमिकको श्रमको सम्मान गर्ने, किसानको जीवन बदल्ने, युवालाई आफ्नै देशमा भविष्य दिने र हरेक मानिसलाई समान मर्यादाका साथ बाँच्न सक्ने समाज निर्माण गर्ने संकल्पसहित ।

याद रहोस्, राजनीतिक क्रान्तिले सत्ताको ढोका खोल्छ, तर सांस्कृतिक क्रान्तिले समाजको चेतना बदल्छ। आर्थिक न्यायबिनाको समानता खोक्रो हुन्छ, सामाजिक मुक्तिबिनाको लोकतन्त्र अधुरो हुन्छ र जनताको जीवन नबदल्ने क्रान्ति आफ्नै नाराको बन्दी बन्छ ।

पुरानो रक्सीलाई नयाँ बोतलमा हालेर क्रान्तिको उत्सव मनाउने होइन, अन्यायको नशा उतारेर नयाँ समाज निर्माण गर्ने समय आएको छ । अब प्रश्न सत्ता कसले चलाउँछ भन्ने मात्र होइन, समाज कसका लागि बदलिन्छ भन्ने हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति