नेभिगेशन
राजनीति

रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला सम्पन्न, अधिवेशन आयोजक समिति सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिमका छ वटै स्थानीय तहमा पालिकास्तरिय भेलामार्फत नेतृत्व चयन गरेको छ । प्रथम पालिका भेलामार्फत सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको रास्वपा रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला सभापति मानबहादुर शाहीले साउन २६ गतेबाट सुरु भएको पालिका भेला एक हप्ता भित्र जिल्लाका सबै पालिकामा सम्पन्न गरिएको बताउनुभयो । 

सभापति शाहीले बाँफिकोट गाउँपालिकामा बालकृष्ण गौतम, त्रिवेणी गाउँपालिकामा गणेशबहादुर केसी र सानीभेरी गाउँपालिकामा मदन ओलीको सभापतित्वमा पालिका समिति चयन भएको जानकारी दिनुभयो । त्यसैगरी चौरजहारी नगरपालिकामा प्रविण बुढाथोकी, आठबिसकोट नगरपालिकामा सरोज केसी र मुसीकोट नगरपालिकामा पदमबहादुर ददेल सभापतिमा चयन हुनुभएको छ । 

सबै पालिकामा भेलामार्फत सर्वसम्मत रुपमा चयन भएको समिति नै पालिका अधिवेशन आयोजक समिति रहेको रास्वपाले जनाएको छ । नगरपालिकामा १३ र गाउँपालिकामा ११ सदस्यीय समिति बनाइएकोछ ।

यी समितिले तीन महिना भित्रमा पालिका अधिवेशन सम्पन्न गर्नेछन् । मङसिरमा हुने जिल्ला अधिवेशन अघि सबै पालिकामा नयाँ नेतृत्व चयन हुने रास्वपाका जिल्ला उपसभापति रिमप्रसाद शर्माले बताउनुभयो । उपसभापति शर्माले वडा–वडामा पनि समिति निर्माण गर्न थालिएको बताउनुभयो ।  चौरजहारी नगरपालिका -८ मा पहिलो पटक वडा समिति चयन भएको उहाँले जनाउनुभयो ।

रास्वपा रुकुम पश्चिमले पार्टी प्रति नयाँ पुस्ताको बढी आकर्षण रहेको जनाएको छ । पुराना दलहरुबाट सामाजिक रुपान्तरण हुन नसकेको भन्दै रास्वपा रोज्नेहरुको सङख्या बढीरहेको रास्वपाको दाबी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्