नेभिगेशन
राजनीति

नेवि संघ रूकुममा अधिवेशनहिन दशक : चुनौती र सम्भावनाको संगम

नेपाल विद्यार्थी संघ (नेविसंघ) देशको सबैभन्दा पुरानो र ऐतिहासिक विद्यार्थी संगठन हाे। यसले समय–समयमा शिक्षा, लोकतन्त्र र सामाजिक परिवर्तनका सवालमा निर्णायक भूमिका खेलेको छ। तर, यही संगठन रूकुम जिल्लामा पछिल्ला वर्षहरूमा गम्भीर संगठनात्मक संकटबाट गुज्रिरहेको छ । २०७० सालपछि हालसम्म पनि जिल्ला अधिवेशन हुन सकेको छैन।

नेतृत्व विहीनता, सांगठनिक निष्क्रियता र कार्यकर्ता निराशाको यो अवस्था करिब १२ वर्षदेखि निरन्तर रहँदा संगठनको जरा कमजोर हुँदै गएको स्पष्ट देखिन्छ।

अधिवेशनहिनता : नेतृत्वविहीनताको दीर्घकालीन असर २०७० सालको अधिवेशनपछि २०७० देखि २०८० सम्म रह्यो। तर, कार्यकाल सकिएपछि पनि नयाँ नेतृत्व चयन हुन नसक्नु नेविसंघ रूकुमको गम्भीर संकट हो। नेतृत्वविहीन संगठन केवल नाममा मात्र संगठन हुन्छ, विचार र क्रियाशीलताको अर्थ हराउँछ।

विगत दशकमा संगठनको सक्रियता झिनो हुँदै गयो, न त विद्यार्थीहरूका मुद्दा उठाउन सक्ने नेतृत्व तयार भयो, न त सांगठनिक सञ्जाल नै मजबुत रह्यो।

तदर्थ समितिको प्रयास : ढिलो, तर आवश्यक यसै समस्यालाई ध्यानमा राख्दै नेविसंघ केन्द्रीय समितिले विधान २०२७ को छैठौँ संशोधन २०७५ अनुसार हेमराज केसीलाई तदर्थ अध्यक्षको रूपमा नियुक्त गर्‍यो। उनको नेतृत्वमा तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने म्याद तोकिएको थियो। तर, त्यो समयावधि सकिएको दुई वर्ष बितिसक्दा पनि अधिवेशनको कुनै सुनिश्चित कार्यतालिका सार्वजनिक भएको छैन।

यसको कारण संगठनभित्रको समन्वयहीनता, इच्छाशक्ति अभाव र राजनीतिक हस्तक्षेपलाई मान्न सकिन्छ। विद्यार्थी राजनीति र स्ववियु निर्वाचनको परिणाम संगठन कमजोर हुँदा त्यसको सीधा असर विद्यार्थी राजनीतिमा देखिन्छ।

२०७९ को स्ववियु निर्वाचन नेविसंघका लागि ‘wake-up call’ थियो। रूकुमका ८ मध्ये ७ क्याम्पसमा प्रतिस्पर्धी संगठन विजयी भए। नेविसंघले केवल एउटा क्याम्पसमा मात्र जित हासिल गर्‍यो। बाँकी सातवटा क्याम्पसमा प्रतिद्वन्द्वी संगठनहरू हावी भए। यो पराजय केवल निर्वाचनमा हार मात्र होइन, संगठनको जमीन गुमाउँदै गएको संकेत पनि हो।

स्ववियु निर्वाचन : सहमति र संकटबीच हराउँदै नेविसंघ

नेविसंघ रूकुमका लागि पछिल्ला दुई स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन वर्षहरू २०७९ र २०८१ संगठनको सांगठनिक अवस्था र विद्यार्थी माझको पकडको वास्तविक परीक्षण बने । २०७९ को स्ववियु निर्वाचन नेविसंघका लागि ‘wake-up call’ थियो। रूकुमका ८ मध्ये ७ क्याम्पसमा प्रतिस्पर्धी संगठन विजयी भए।

तर २०८१ मा अवस्था झन् गम्भीर देखियो। कतिपय क्याम्पसमा सहमति (समझदारी) का आधारमा मात्र उम्मेदवार प्रस्तुत गरिएको देखिन्थ्यो भने कतै योग्य उम्मेदवार नै पाउन कठिन भयो। यो अवस्था नेतृत्व निर्माण, सांगठनिक प्रशिक्षण, र विद्यार्थीबीचको संवाद पूर्णरूपमा थला परेको संकेत हो।

गढ मानिएको क्याम्पसमा पनि निर्वाचनविहीन अवस्था रूकुमेली क्याम्पस, अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघको एक मात्र विजय केन्द्र थियो। यही कारणले यसलाई नेविसंघको गढ मानिन्थ्यो। तर २०८१ मा सोही क्याम्पसमा निर्वाचन नै हुन सकेन। यो अवस्था देख्दा पहिलो दृष्टिमा यो नेविसंघकै कमजोरी जस्तो लागे पनि वास्तविकता थोरै फरक छ।

त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार फागुन २५ गते दिउँसो १ बजे दाबी-विरोध दर्ता गर्ने समय सकिएपछि मतदाता नामावली स्वतः मान्य भइसकेको थियो। तर त्यसपछि फागुन २८ मा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु समाजवादी, अखिल बहुमत, र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरे। उनीहरूले फर्जी विद्यार्थी भर्ना गराइएको र सोही आधारमा उम्मेदवार उठाइएको आरोप लगाउँदै निर्वाचन रोके।

यद्यपि, कानुनी रूपमा दाबी-विरोधको समय सकिएकोले त्यो विरोध अवैधानिक मानिन्छ। निर्वाचन नभएको प्रमुख कारण नेविसंघको कमजोरी नभई, प्रतिद्वन्द्वी संगठनहरूको दबाब र तालाबन्दी थियो। स्थानीय तहमा पनि अधिवेशनको खडेरी जिल्लास्तरीय मात्र होइन, स्थानीय तहको संगठन निर्माण पनि कमजोर रहेको छ।

बाँफिकोट गाउँपालिका बाहेक अन्य पालिकाहरूमा अधिवेशन नहुनु संगठनको प्रभाव विस्तार हुन नसकेको प्रमाण हो। यद्यपि बाँफिकोटको सफल अधिवेशनले आशा जगाएको छ कि, सकिन्छ भने सम्भव छ, केवल ईमानदार पहल र समर्पित नेतृत्व चाहिन्छ।

अबको यात्रा : विकल्प होइन, कर्तव्य अबको चुनौती संगठनलाई पुनः जीवन्त बनाउनु हो। त्यो नेतृत्व चयनबाट मात्र सम्भव छैन, त्यसका लागि नयाँ पुस्तामा विश्वास गर्ने, सांगठनिक संरचनालाई लोकतान्त्रिक बनाउने र विद्यार्थीका विषयमा गम्भीर हुने जरुरी छ। नेविसंघ रूकुमले अब अधिवेशन सम्पन्न गरी वैधानिक नेतृत्व चयन गर्नुपर्छ।

नेतृत्वले कार्यकर्ता प्रशिक्षण, क्याम्पसमा उपस्थिति, शिक्षा नीति, शुल्क, छात्रवृत्ति लगायतका मुद्दा उठाउन सक्ने क्षमतावान बन्नुपर्छ। पारदर्शिता र जवाफदेहिता भन्ने शब्द केवल भाषणको विषय होइन, व्यवहारको अंग बन्नुपर्छ।

निष्कर्ष : नेविसंघ रूकुममा करिब एक दशकदेखि अधिवेशन हुन नसक्नु केवल एक संगठनको कमजोरी होइन, यो विद्यार्थी राजनीतिमा थलिएको संस्कृतिको एउटा झल्को हो। तर यो संकटलाई अवसरमा बदल्ने क्षमतासमेत संगठनसँग छ, शर्त केवल यत्ति हो, अब ढिलाइ होइन, निर्णयको समय आएको छ।

(लेखक के.सी. मुसिकाेट नगरपालिका -१, स्थित रूकुमेली क्याम्पसकाे निवर्तमान स्ववियू सभापती हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्