नेभिगेशन
कला/साहित्य

चौरजहारीमा वृहत पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव सुरु

रुकुम पश्चिमको चौरजहारीमा वृहत् महोत्सव सुरु भएको छ । 

शुक्रवार चौरजहारी नगरपालिका वडा नम्वर २ स्थित रंगशालामा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले 'पाँचौं वृहत चौरजहारी पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव - २०८३ को उद्घाटन गर्नुभएको हो ।

चौरजहारी नगरपालिका संरक्षक रहेको महोत्सवलाई सहिद स्मृति कला सांस्कृतिक संरक्षण मञ्चले आयोजना गरेको हो ।

महोत्सव उद्घाटन समारोहमा स्थानीय झाक्री नाच, पञ्चेबाजा समूहको प्रस्तुती, गायक तथा उद्घोषक  शान्तराम सेन्चुरीको प्रस्तुती रहेको थियो ।
उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कलाकार एवम् महोत्सवका संरक्षक एल. बी. कटुवालले जानकारी दिनुभयो ।

उहाका अनुसार महोत्सवमा स्थानीय मौलिक नृत्यहरूको प्रस्तुति, रोटे पिङ, भेरी पुल, फोटो प्रदर्शनी लगायतका आकर्षण रहने छन् । महोत्सव वैशाख २३ गतेसम्म संचालन हुने छ ।

आयोजक समितिका अनुसार महोत्सवमा १५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन् भने स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ । कला, संस्कृति, पर्यटन तथा व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले निरन्तर महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सव उद्घाटनका समारोहमा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी, प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, चौरजहारी नगरपालिकाका प्रवक्ता खुम बहादुर खड्का, चौरजहारी नगर विकास समितिका पूर्व अध्यक्ष ज्ञानु बुढाथोकी, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदु कुमार आचार्य, नेपाल तरुण दलका केन्द्रिय सदस्य जितेन्द्र बुढाथोकी, चौरजहारी नगरपालिका वडा नम्वर ७ का पूर्व वडा अध्यक्ष इन्द्रलाल शर्मा लगायत अतिथिहरुको आथित्यता रहेको थियो ।

महोत्सवमा भोली कमल बिसी माल्दाई लगाएका कलाकारहरूको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष वीरेन्द्र विकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डिल्ली शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्