रुकुम महोत्सवको आयव्यय सार्वजनिक, एक लाख ८९ हजार रुपियाँ नाफा

सोमबार, जेठ ७, २०८१

रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमद्वारा आयोजित रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । 

सोमबार उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन गरेर महोत्सवको आयव्यय सार्वजनिक गरिएको हो । उद्योग वाणिज्य संघको आयोजना र कला, संस्कृति पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा गत फागुन १८ गतेदेखी २८ गतेसम्म रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१ बराहाटाकुरामा महोत्सव लागेको थियो । 

मेलाबाट एक लाख ८९ हजार ६०८ रुपियाँ नाफा भएको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवबाट कुल २२ लाख ५२ हजार २५६ रुपियाँ आम्दानी भएको थियो भने २० लाख ६२ हजार ६४७ रुपियाँ खर्च भएको थियो । 

बरिष्ठ उपााध्यक्ष खड्काले टिकट बिक्रिबाट १० लाख ३१ हजार २३८ रुपियाँ, स्टल बिक्रिबाट सात लाख ७० हजार, प्रायोजक तथा विज्ञापनबाट चार लाख ४६ हजार १७ रुपियाँ र पाँच हजार रुपियाँ सहयोग मार्फत प्राप्त भएको जानकारी दिनुभयो ।

त्यसैगरी खर्चतर्फ टेन्ट तथा स्टल निर्माणमा  ६ लाख, मन्च निर्माण तथा साउण्ड सिस्टम व्यवस्थापनमा चार लाख, साँस्कृतिक कार्यक्रम व्यवस्थापन तथा कलाकार खर्चमा ६ लाख, यातायात खर्चमा एक लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा तीन लाख १२ हजार ६४७ र कर्मचारी खर्चमा ५० हजार रुपियाँ खर्च भएको बताईएको छ । 

उपाध्यक्ष खड्काले ११ दिनसम्म चलेको महोत्सवको ५० हजार जनाले अवलोकन गरेको र दुई करोडको व्यापारीक कारोबार भएको जानकारी दिनुभयो ।

रुकुम पश्चिमको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका क्षेत्रको विकास गर्न, आन्तरिक उत्पादनहरुको निर्यात बृद्धि गर्न तथा आन्तरिक बजारको विस्तारको लागि मेला आयोजना गरिएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।

यसका साथै स्थानीय रोजगार र उत्पादनलाई प्रोत्साहन गरी गरिबी न्यूनिकरणमा टेवा पुर्याउन तथा सचेतना सन्देशहरु फैलाउन महोत्सव आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो । महोत्सवका उद्धेश्यहरु केहि प्राप्ती भएको र केहि उद्धेश्यहरु पुरा गर्ने प्रक्रियामा गएको उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्