नेभिगेशन
अर्थ/वाणिज्य

त्रिवेणीको झुल्नेटा बजारका ८२ पसल अनुगमन, ४७ हजार भन्दा बढीको म्याद गुज्रेका सामान नष्ट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजारमा बजार अनुगमन गरिएको छ। 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रेम प्रकाश केसीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, त्रिवेणी गाउँपालिका लगायत सरोकारवाला निकायको सहभागितामा बुधबार बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा होटल, खाद्य तथा किराना पसल, फेन्सी पसल, चाउमिन तथा बेकरी उद्योग, कस्मेटिक, हार्डवेयर, भाडा पसल तथा एग्रोभेटलगायतका व्यवसायको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा विभिन्न व्यवसायमा बिक्रीका लागि राखिएका म्याद गुज्रेका करिब ४७ हजार १२० रुपैयाँ बराबरका सामान बरामद गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । बरामद गरिएका म्याद गुज्रेका सामानहरु पेय पदार्थ, साबुन, सरप, बिस्कुट, भूजा, मसला, दालमोठ, क्रिमलाई सम्बन्धित निकायको रोहबरमा नष्ट गरिएको छ।

उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणका लागि बजारमा नियमित अनुगमन गरिरहेको बताइएको छ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई खाद्य तथा उपभोग्य वस्तुको म्याद, मूल्यसूची, व्यवसाय दर्ता तथा अन्य आवश्यक मापदण्डको पालना गर्नसमेत सचेत गराइएको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद गुज्रेका तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण रोक्न आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य