नेभिगेशन
अर्थ/वाणिज्य

रुकुम पश्चिमका स्थानीय तहको लगानी रहेको स्यार्पु हाइड्रोमा परिक्षण उत्पादन

रुकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफिकोट गाउँपालिका –३ मा निर्माण भएको स्यार्प हाइड्रोको परीक्षण उत्पादन सुरु भएको छ । स्यार्पु पावर कम्पनी प्रवद्र्धक रहेको स्यार्पु जलविद्युत् आयोजना ३.३ मेगावाट क्षमताको छ ।  

आयोजना निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि गत शुक्रबारबाट आयोजनाको परीक्षण सुरु गरिएको स्यार्पू पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत् परीक्षणको रुपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन सुरु गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो  । 

परिक्षणका क्रममा कुनै खराबी नआए अबको १५ दिन भित्र आयोजनाले राष्ट्रिय ग्रिडमा रुकुमको स्यार्पु ताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने विजुली देशको ऊर्जा प्रणालीमा जोडिने छ । यस आयोजनाको कुल लागत करिब ६२ करोड रुपियाँ पुगेको छ । 

स्थानीय तहले सामूहिक रुपमा जलविद्युतमा लगानी गरेका कारण स्यार्पु हाइड्रो रुकुमपश्चिमका लागि नयाँ वित्तीय अभ्यासका रुपमा समेत हेरिएको छ । स्यार्पु जलविद्युत् आयोजनाको प्रक्रिया २०७८ सालबाट सुरु भएको थियो भने २०८० मङसिर २५ मा पूर्वमन्त्री जनार्दन शर्माले शिलान्यास गर्नुभएको भएको थियो ।

पूर्वअर्थमन्त्री शर्माले स्थानीय तहलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले स्यार्पु हाइड्रोको अवधारणा अघि ल्याएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने र त्यसबाट प्राप्त हुने प्रतिफललाई पुनः स्थानीय विकासमा लगानी गर्ने अवधारणाअनुसार आयोजना अघि बढाइएको बताउनुभयो ।

स्यार्पु पावर कम्पनीमा रुकुमपश्चिमका छ वटै स्थानीय तहको ५४ प्रतिशत र संघीय सरकारको अर्थ मन्त्रालयको एक प्रतिशत लगानी रहेको छ । बाँकी ४५ प्रतिशत हिस्सा सार्वजनिक शेयरमार्फत स्थानीय नागरिक तथा अन्य लगानीकर्ताका लागि लैजाने तयारी गरिएको प्रवद्र्धक स्यार्पु पावर कम्पनीका कार्यकारी प्रमुख प्रदिप ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाहरूको ग्यारेन्टीका आधारमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिइएको छ । यसरी स्थानीय तहको वित्तीय क्षमता र बैंकिङ स्रोतलाई जोडेर उत्पादनमूलक आयोजना निर्माण गरिएको हो । 

स्यार्पु हाइड्रोबाट वार्षिक करिब एक करोड ८१ लाख ७७ हजार युनिट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट वार्षिक करिब १० करोड १५ लाख रुपियाँ आम्दानी हुने अनुमान छ । आयोजना रन अफ रिभर प्रकृतिको हो । यसको जडित क्षमता ३.३ मेगावाट छ । आयोजनाको डिजाइन बहाव १.४० घनमिटर प्रतिसेकेन्ड र कुल हेड २८३.२० मिटर रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । विद्युतगृहबाट बाँफिकोट सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा विद्युत् प्रवाह गर्ने संरचना निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता भएकाले व्यावसायिक उत्पादन सुरु भएपछि आयोजनाले नियमित रुपमा विद्युत् बिक्रीबाट आम्दानी गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य