नेभिगेशन
समसामयीक

समानुपातिक, समावेशी र आरक्षण देख्ने समाजले उत्पीडनको इतिहास किन देख्दैन ?

हाम्रो जात देखेर प्रश्न गर्नेहरूलाई हाम्रो पुस्तौँदेखिको पीडा पनि देखियोस् !

कति अचम्मको समाज छ, हाम्रो । जातका आधारमा पाएको समानुपातिक, समावेशी आरक्षण त सबैले देख्छन्, तर त्यही जातका कारण पुस्तौँदेखि भोग्नुपरेको अपमान, विभेद, बहिष्कार, धोका र अत्याचार भने कसैले देख्दैनन् । समानुपातिक, समावेशी आरक्षणको एउटा अवसर देखेर प्रश्न गर्नेहरूलाई हजारौँ वर्षदेखि खोसिएका अवसरहरूको इतिहास सम्झिन किन गाह्रो हुन्छ ?

कसैले हामीले पाएको समानुपातिक, समावेशी र आरक्षण गन्छन्, तर हामीबाट खोसिएको शिक्षा गन्दैनन् । कसैले हामीले पाएको अवसर देख्छन्, तर अवसरको ढोकामै पुस्तौँसम्म लगाइएको जातीय ताला देख्दैनन् । कसैले हाम्रो प्रतिनिधित्व देख्छन्, तर राज्यका निर्णायक तहबाट हामीलाई योजनाबद्ध रूपमा बाहिर राखिएको इतिहास देख्दैनन् ।

हिजो हाम्रो जातकै कारण हामीलाई विद्यालयमा अपमानित गरियो । सार्वजनिक धारामा पानी भर्न दिइएन। मन्दिरमा प्रवेश गर्न रोकियो । घरभित्र पस्न अयोग्य ठानियो । हाम्रो श्रम लिइयो, तर श्रमको सम्मान दिइएन । हाम्रो सीप प्रयोग गरियो, तर हाम्रो अस्तित्व स्वीकार गरिएन । हाम्रो पसिनाले अरूको महल ठडिए, तर आफ्नै सन्तानका लागि सम्मानजनक जीवनको जग बसाल्न दिइएन ।

हाम्रा पुर्खाहरूले आफ्नो योग्यता प्रमाणित गर्ने अवसरसमेत पाएनन् । उनीहरूको क्षमता जातको पर्खालभित्र कैद गरियो । उनीहरूको सपनालाई परम्पराको नाममा कुल्चियो । उनीहरूको आवाजलाई धर्म, संस्कृति र सामाजिक मर्यादाको नाममा दबाइयो ।

त्यही विभेदको निरन्तरता आज पनि समाजका अनेक व्यवहारमा जीवित छ । अनुहारमा मुस्कान राखेर जात सोध्नेहरू छन् । योग्यता स्वीकार गरे पनि जातका कारण सम्बन्ध अस्वीकार गर्नेहरू छन् । समानताको भाषण गर्ने तर व्यवहारमा छुवाछुत र जातीय अहंकार पाल्नेहरू छन् ।

तर जब राज्यले ऐतिहासिक अन्यायमा परेका समुदायलाई केही अवसर, प्रतिनिधित्व र संरक्षण दिन खोज्छ, तब अचानक योग्यता, प्रतिस्पर्धा र समानताको चिन्ता गर्नेहरूको भीड उर्लिन्छ ।

हामी एउटा प्रश्न गर्न चाहन्छौँ  - प्रतिस्पर्धा गर्नुअघि सबैलाई एउटै ठाउँमा उभ्याइएको थियो त ?

कोही पुस्तौँदेखि शिक्षा, सम्पत्ति, सत्ता, अवसर र सामाजिक प्रतिष्ठाको विरासत बोकेर प्रतिस्पर्धामा आएका छन् । कोही भने पुस्तौँको अभाव, अपमान, भूमिहीनता, अशिक्षा र बहिष्करणको भारी बोकेर मैदानमा उत्रिएका छन् । अनि दुवैलाई एउटै रेखाबाट दौडाउनुलाई नै समानता भन्ने ?

समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्रै होइन, असमानताले पछाडि पारेकाहरूलाई अगाडि बढ्न आवश्यक आधार र अवसर दिनु पनि हो ।
समानुपातिक, समाबेसी आरक्षण कसैको भाग खोस्ने व्यवस्था होइन । यो त इतिहासले खोसेको अवसरलाई केही हदसम्म पुनःस्थापित गर्ने न्यायको एउटा माध्यम हो  । यो कसैप्रतिको दया होइन, राज्य र समाजको ऐतिहासिक जिम्मेवारी हो ।

हामीलाई थाहा छ, समानुपातिक, समाबेसी आरक्षणले मात्रै हजारौँ वर्षको विभेद समाप्त हुँदैन । तर समानुपातिक, समाबेसी र आरक्षणविना ऐतिहासिक रूपमा बहिष्कृत समुदायलाई निर्णायक तहमा पुर्‍याउन झन् कठिन हुन्छ । त्यसैले समानुपातिक, समाबेसी आरक्षणसँगै शिक्षा, स्वास्थ्य, भूमि, रोजगारी, आर्थिक अवसर र सामाजिक सम्मानमा पनि न्यायपूर्ण पहुँच आवश्यक छ ।

हामीलाई कसैको कृपा चाहिएको होइन। हामीलाई आफ्नो क्षमता देखाउने अवसर चाहिएको हो । हामीलाई कसैको दया होइन, आफ्नो श्रमको सम्मान चाहिएको हो । हामीलाई अरूभन्दा माथि उठ्नु छैन, अरू सरह भएर बाँच्नु छ ।

हामीले कसैको विरुद्ध घृणा फैलाउन खोजेका होइनौँ । हामी त मानिसलाई मानिसभन्दा सानो बनाउने जातीय अहंकार, छुवाछुत, शोषण र विभेदको अन्त्य चाहन्छौँ ।

आज पनि समानुपातिक, समाबेसी आरक्षणमाथि प्रश्न उठाउने प्रत्येक सचेत नागरिकले एकपटक आफ्नो विवेकलाई सोधोस् : जातीय विभेदको इतिहास अन्त्य भएको हो कि विभेदविरुद्ध बोल्नेहरूको आवाज मात्रै कमजोर पार्न खोजिएको हो ?

अन्त्यमा एउटा कुरा स्पष्ट छ, हामीलाई समानुपातिक, समावेशी आरक्षण पाएकोमा लाज छैन, बरु पुस्तौँसम्म अन्याय सहन बाध्य पारिएको इतिहासप्रति पीडा छ । हामीलाई आफ्नो पहिचान लुकाउनु छैन, बरु यही पहिचानका कारण कसैले पनि अपमानित हुन नपर्ने समाज निर्माण गर्नु छ ।

हिजो हाम्रो शिर झुकाइएको थियो, आज हामी शिर उठाएर हिँड्न खोज्दैछौँ । हिजो हाम्रो आवाज दबाइएको थियो, आज हामी अधिकारको भाषा बोल्दैछौँ । हिजो हाम्रा सन्तानका सपना जातको पर्खालमा ठोक्किन्थे, आज ती सपनालाई आकाशसम्म पुर्‍याउन चाहन्छौँ ।

त्यसैले समानुपातिक, समाबेसी र आरक्षण देख्ने आँखाले विभेद पनि देखोस् । हाम्रो अवसर देख्ने समाजले हाम्रो इतिहास पनि पढोस् । हाम्रो प्रतिनिधित्व देखेर असहज हुनेहरूले हाम्रो अनुपस्थितिमा बनेको इतिहास पनि सम्झिऊन् । किनकि हामीले मागेको विशेषाधिकार होइन, हजारौँ वर्षदेखि नपाएको न्याय हो । हामीले खोजेको दया होइन, मानवीय सम्मान हो । हामीले चाहेको कसैको शासन होइन, सबै मानिस समान भएर बाँच्न पाउने न्यायपूर्ण समाज हो ।

जातका कारण पुस्तौँसम्म दबाइएकाहरूले आज आफ्नो अस्तित्व, अधिकार र स्वाभिमानको आवाज उठाउँदा त्यो कसैको विरुद्धको विद्रोह होइन, अन्यायपूर्ण व्यवस्थाविरुद्धको मानवीय मुक्ति सङ्घर्ष हो। समानता भाषणमा होइन, व्यवहारमा देखियोस् । न्याय संविधानमा मात्रै होइन, समाजको जीवनमा स्थापित होस् ।

- (लेखक, रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाकाे प्रमुख हुनुहुन्छ ।)                                                                                               

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्