नेभिगेशन
समाज

बाँफिकोटको पुमाखोलामा मोटरेबल पुल शिलान्यास

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १ र २ जोड्ने पुमा खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । 

कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिमको छिनखेत–पीपल हुँदै लुम्बिनी प्रदेशको रुकुम पूर्व जोड्ने उक्त सडकखण्डमा रहेको खोलामा पुल निर्माण कार्यको मङगलवार शिलान्यास भएको हो । बाँफिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धनबहादुर खड्का र २ का वडा अध्यक्ष प्रकाश खत्रीले सयुंक्त रुपमा पुलको शिलान्यास गर्नुभएको हो । 

लामो समयदेखि पुलको आवश्यकता रहि स्थानीयले माग समेत गर्दै आएको यस खोलामा कर्णाली प्रदेश सरकारले पुल निर्माणको लागि बजेट व्यवस्थापन गरेसँगै काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय चौरजहारीले आह्वान गरेको ठेक्कामार्फत सबै प्रक्रिया पुरा गरेर काम सुरु भएको हो ।

वडा अध्यक्ष प्रकाश खत्रीले पुल निर्माणको जिम्मा पाएको राजवीर निर्माण सेवाले कामको सुरुवात गरेको जानकारी दिनुभयो । यस निर्माण कम्पनीले आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । कम्पनीले पाँच करोड ६३ लाख ५८ हजार १९७ रुपियाँमा पुल निर्माण गर्नेगरी सम्झौता गरेको छ । 

खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयवासीले सास्ती पाउँदै आएका थिए । पालिकाको केन्द्र, जिल्ला सदरमुकाम, रुकुम पूर्व लगायतका स्थानमा आवतजावत गर्ने सर्वसाधारणहरुले खोलामा कठिनाइ भोग्दै आएका थिए ।

स्थानीय खिमा बस्नेतका अनुसार खोलामा पानीको बहाव बढ्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहँदै आएको थियो । दैनिक आवतजावत, कृषि उपजको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान, विद्यार्थीहरुलाई विद्यालय आउजाउ गर्न खोलामा समस्या हुने गरेको थियो ।

समयमै पुल निर्माण भएमा अब भने उक्त समस्या भोग्नु नपर्ने उहाँको आशा रहेको छ । पुल निर्माण भएपछि वर्षौदेखि भोग्दै आएको समस्या समाधान हुने भन्दै यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । पुल निर्माण भएपछि दुई प्रदेशका दुई जिल्ला बीचको सडक सम्पर्क थप सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको वडा नम्बर १ का वडा अध्यक्ष धनबहादर खड्काले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार पुल नहुँदा वर्षामा मालवहाक गाडीहरु फस्ने, सामान बगाउने, गाईबस्तु बगाउने गरेको थियो । यसका साथै अघिल्लो वर्ष मानवीय क्षति समेत भएको थियो । अब भने खोलामा आउने बाढीको कारण हुने आवतजावतको समस्या समाधान हुनुका साथै स्थानीयस्तरमा यातायात, व्यापार, कृषि उपजका ढुवान तथा दैनिक जनजीवनमा समेत सहजता आउने विश्वास गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज