पार्टी गतिविधी सञ्चालनमा अवरोध नगर्न चौरजहारी एमालेको चेतावनी

आइतबार, जेठ ६, २०८१

नेकपा (एमाले) चौरजहारी नगर कमिटीले पार्टीका गतिविधिहरु सञ्चालनमा अवरोध गर्न खोजिएकोले त्यस्तो नगर्न चेतावनी दिएको छ ।

नगर कमिटीको दोश्रो अधिवेशनबाट चयन भएको कमिटीका सचिव डिल्लीराज शर्मा र अध्यक्ष अतिराम ओलीले जारी गरेको बिज्ञप्तिमा हालै भएको नगर अधिवेशनपछि समानान्तर कमिटी बनाईएको बिषयमा भ्रममा नपर्न समेत अनुरोध गरिएको छ । 

बिज्ञप्तिमा नगर कमिटी रुकुमको दोस्रो अधिवेशन ३ गतेका दिन यदु स्मृति भवन चौरजहारीमा उदघाट्न भएको र नयाँ नगर कमिटी गठनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सचिव शशीराम नेपालीको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल र हिरा शर्माको अध्यक्षतामा ४ सदस्यीय निर्वाचन मण्डल निर्माण भएको उल्लेख गरिएको छ ।

३ दिनको घनीभूत छलफलपछी सर्वसम्मत रुपमा अतिराम ओलीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी गठन भएको, प्रथम र दोस्रो बैठक सम्पन्न गरी योजनासहित पार्टी गतिविधी सञ्चालन गर्दै गर्दा पार्टी कमिटीलाई बाधा अवरोध गर्ने गरी भ्रमित र अनर्गल समाचार प्रसार गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

अनाधिकृत रुपमा फेसबुक तथा अन्य माध्यामबाट प्रेषित समाचारहरु प्रसार नगर्न, नगराउन चेतावनी समेत दिइएको छ । यसका साथै कपोलकल्पित कुराको भ्रममा नपर्न समेत जानकारी गराईएको छ । 

नयाँ नेतृत्व चयनमा बिषयमा सहमति नभएको र एकतर्फि रुपमा नेतृत्व घोषणा गरिएको भन्दै अध्यक्ष पदका दाबेदार ओम प्रकाश आचार्यको नेतृत्वमा समानान्तर कमिटी सार्वजनिक गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्