दोश्रो रुकुम कपको उपाधि चण्डीदल गणलाई

बिहीबार, वैशाख २०, २०८१

रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित दोस्रो रुकुम कप, २०८१ को उपाधि नेपाली सेनाको चण्डीदल गणले जितेको छ । मुसिकोट नगरपालिका १ को बहाराटाकुरामा बिहीबार भएको फाइनलमा आयोजक रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै चण्डीदल गणले उपाधि हात पारेको हो । 

सुरुवाती दुई सेट जिते पनि त्यसपछिका ३ सेट लगातार गुमाउँदा आयोजकले उपाधि हात पार्नबाट चुकेको छ । 

रुकुम पश्चिम अपराजित रहँदै १७ अङ्कका साथ अङ्क तालिकाको पहिलो स्थानमा रहँदै फाइन पुगेको थियो । समूह चरणमा आयोजकसँग मात्र हार बेहोरेको आर्मी १६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो ।

विजेता आर्मीले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको छ । उप विजेता रुकुम पश्चिमले नगद दुई लाख ५५ हजार पाँच सय ५५ र कपमा चित्त बुझाएको छ ।

आर्मीमा नेपाली राष्ट्रिय भलिबल टोलीका क्याप्टेन मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो लगायत थिए । त्यस्तै आयोजक रुकुम पश्चिममा राष्ट्रिय भलिबल टोलीका महत्त्वपूर्ण सदस्य तथा पुलिस क्लबका रविन चन्द, सफल विश्वकर्मा, पहल गहतराज र एपिएफका लोकेन्द्र गिरी लगायतका खेलाडीहरू रहेका थिए ।

प्रतियोगितामा हाम्रो सरोकार रुकुम पश्चिम तेस्रो भएको छ । बिहीबार नै भएको तेस्रो स्थानको खेलमा नवलपरासी जिल्लालाई पराजित गर्दै हाम्रो सरोकार तेस्रो भएको हो । उसले नगद एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

सान्त्वना भएको नवलपरासीले भने एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र समेत प्रदान गरिएको आयोजकको भनाई छ ।

प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । ७ अङ्क जोडेको सल्यान र अङ्क विहीन बाँफिकोट गाउँपालिका तथा बाँफिकोट गाउँपालिका ४ समूह चरणबाटै बाहिरिएका थिए । सहभागी सबै टिमलाई एक समूहमा राखेर राउन्ड रोबिनमा खेल सञ्चालन भएको थियो । सबै टिमले एक अर्का सँग खेलेपछि अङ्क तालिकाको १ र २ नम्बरमा रहने टिमले फाइनल तथा ३ र ४ नम्बरमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने व्यवस्था गरिएको थियो ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजना र हाम्रो सरोकार रुकुम पश्चिमको सह आयोजनामा उक्त प्रतियोगिता भएको थियो । विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो ।

रुकुम पश्चिम, कर्णाली प्रदेश हुँदै नेपालकै भलिबल विकासमा टेवा पुर्‍याउने उद्देश्यले सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । यो प्रतियोगिता पुरस्कार राशिका हिसाबले यो वर्षको देशभरकै ठुलो प्रतियोगिता रहेको उहाँको दाबी छ । 

WhatsApp-Image-2024-05-02-at-21.17.18_46758d7f-1714664253.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्