रुकुम पश्चिमका तेक्वान्डो र कराँते खेलाडी सुर्खेतमा पुरस्कृत

मंगलबार, फागुन ८, २०८०

रुकुम पश्चिमका तेक्वान्डो र कराँते खेलाडीहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पुरस्कृत गरिएको छ । 

कर्णाली प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भई मेडल प्राप्त गर्न सफल ६ जना खेलाडिहरुलाई नगद पाँच सय रुपियाँले पुरस्कृत गरिएको हो । 

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय प्रमुख लिला प्रसाद ढकालका अनुसार तेक्वान्डो खेल तर्फका चार जना र कराँते खेल तर्फका दुई जना खेलाडिहरुलाई चितवन निवासी खेलप्रेमी टेकप्रसाद गोतामे (ज्याक्की च्यान)ले पुरस्कृत गर्नुभएको हो । 

खेलप्रेमी गोतामेले व्यक्तिगत रुपमा जनहि पाँच सय रुपियाँको दरले खेलाडीहरुलाई सम्मानसहित पुरस्कृत गर्नुभएको ढकालले बताउनुभयो । 

कर्णाली प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेडल जित्नुभएका तेक्वान्डो खेलाडीहरु नविन परियार, मनिष खड्का, रीना पुन र दिपक बि.क. तथा कराँते खेलाडिहरु मनोज जि.एम. र हिमाल पुनलाई गोतामेले पुरस्कार प्रदान गर्नुभएको हो । 

खेलप्रेमी गोतामेले यसअघि पनि विभिन्न तेक्वान्डो डोजाङ, राष्ट्रिय महिला फुटबल टोली, हेन्डबल टोली, तेक्वान्डो टोली लगायतलाई सहयोग गर्नुभएको थियो । 

हिजो फागुन ७ गतेदेखि सुर्खेतको बिरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्