सानीभेरीमा छैटौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन हुँदै 

आइतबार, माघ २१, २०८०

रुकुम पश्चिमको सानीभेरीमा ‘छैटौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन, २०८०’ हुने भएको छ । सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरका फागुन १ गते म्याराथनको आयोजना गरेको हो । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादीका जनमुक्ति सेनाहरु हिडेको बाटोमा धावकलाई दौडाउने गरी गुरिल्ला म्याराथन गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्रबाट सुरु भई ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी गाउँपालिकाले म्याराथनको रुट बनाएको छ । मौराखारा लेक समुन्द्र सतहबाट दुई हजार नौ सय मिटरको उचाईमा रहेको छ । यस पटकको म्याराथन छैटौ संस्करण भएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । 

प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने बताईएको छ । गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीमगरका अनुसार पुरुष तर्फ ४८ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको दुरी तोकिएको छ ।

पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई तीन हजार रुपियाँ पुरस्कार तोकिएको छ भने महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई ती हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

यो प्रतियोगितामा देशका विभिन्न ठाउँबाट धावकहरु रुकुमपश्चिम पुग्ने गरेका छन् । धावकहरुलाई माओवादी गुरिल्लाहरुले प्रयोग गर्ने गरेको कपडामा सजाएर दौडाउने गरिएको छ । गाउँपालिकाले म्याराथन कार्यक्रम सञ्चालन निर्देशिका, २०७९ तयार गरेर म्याराथन गर्दै आएको छ ।

422372160_1497758997733381_8096711101783426800_n1707010716.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्