राष्ट्रिय सभा सदस्य रोकायलाई गृह जिल्लामा सम्मान

रुकुमको विकासलाई पहिलो प्राथमिकता दिने रोकायको प्रतिबद्धता 
सोमबार, माघ १५, २०८०

रुकुम पश्चिम । राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायलाई गृह जिल्ला रुकुम पश्चिममा सम्मान गरिएको छ । सोमबार नेपाली काँग्रेस रुकुम पश्चिमले बाजागाजासहितको र्‍यालिसँगै औपचारिक कार्यक्रमबा बिच सम्मान गरेको हो । 

कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित रोकाय नेपाली काँग्रेस कर्णाली प्रदेशको महामन्त्री हुनुहुन्छ । लामो समयपछि रुकुमबाट राज्यको महत्वपूर्ण निकायमा नेपाली काँग्रेसको प्रतिनिधित्व भएको भन्दै खुशियालीमा नाराबाजि, बाजागाजाहितको र्‍यालि निकालिएको थियो ।

र्‍यालि र बालमन्दिरमा भएको औपचारिक कार्यक्रममा काँग्रेस कार्यकर्ताहरुले फूल, माला र अबिर लगाएर रोकायलाई सम्मान गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।  

रुकुमको विकासलाई पहिलो प्राथमिकता दिने रोकायको प्रतिबद्धता 

बालमन्दिरमा औपचारिक रुपमा भएको बधाई ज्ञापन सम्मान कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले रुकुम पश्चिमको विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । आफ्नो गृह जिल्ला भएका कारण पनि स्वभावैले रुकुम पश्चिम प्राथमिकतामा पर्ने उहाँको भनाई छ । 

बधाई तथा सम्मान कार्यक्रममा रोकायले समानुपातिक विकासको लागि आफूले जोड दिने उल्लेख गर्नुभयो । नेताहरु सार्वजनिक पद धारण गरेपछि नातावाद र क्रिपाबादको आरोपमा फसेको जनाउनुहुँदै उहाँले आफुले नगर्ने प्रतिबद्धता जनाउनुभयो ।  

कार्यक्रममा उहाँले आफूले संविधानको रक्षाका लागि काम गर्ने र कर्णालीको समृद्धिलाई प्राथमिकता दिने बताउनुभयो । नेता बनेर आफू यो स्थानमा पुगेपनि अब आफू जनताको सेवक रहेको उहाँको भनाई छ । 

राजनीतिक स्थायीत्व, अधुरा रहेका कानुन निर्माण, जनतासँग प्रत्यक्ष जोडिएका सवाललाई राष्ट्रिय सभामा उठाउने उहाँले बताउनुभयो । रोकायले संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसकिरहेको बताउँदै यसको लागि आफूले सक्दो मेहनत गर्ने समेत बताउनुभयो । 

यो पढ्नुहोस् ...

राष्ट्रिय सभामा रोकाय : इमान, निष्ठा र लगाबको सम्मान

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्