बिशेष रुपान्तरण अभियान

रुपान्तरणका लागि गाउँ पसेको माओवादी श्रमदान मार्फत विकासका काम गर्दै

आइतबार, भदौ २४, २०८०

रुकुम पश्चिम । “जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनतासँग माओवादी, बिशेष रुपान्तरण अभियान दिएर गाउँ पसेको नेकपा (माओवादी केन्द्र) ले रुकुम पश्चिमका गाउँमा श्रममा आधारित विकास निर्माणका कामलाई जोड दिएको छ । 

माओवादीको आधार ईलाका मानिने रुकुममा श्रमदान मार्फत माओवादीले विभिन्न विकास निर्माणका कामहरु गरिरहेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’का अनुसार पार्टी रुपान्तरणको अभियान लिएर गाउँपसेका माओवादीहरुले श्रममा आधारित विकास निर्माणका काम पनि गरिरहेका छन् ।

गाउँमा रहेका सार्वजनिक स्थानहरुको संरक्षण, कृषि कार्यमा हातेमालो, सडक मर्मत, बिद्यालय र स्वास्थ्य चौकी सरसफाईका काममा स्थानीयसँग कार्यकर्ताहरु जोडिएर गाउँको विकासमा लागि परेको रोकाको भनाई छ । गत मंसिरमा संघ र प्रदेशसभा सदस्यको चुनावपछि माओवादी अभियान लिएर पहिलो पटक गाउँ पसेको हो ।

पार्टीका सबै तह र तप्काका नेता कार्यहरु गाउँ पसेको पार्टी थप मजबुद बनाउनका साथै श्रमदान गरेर विकासका काममा साझेदारी गरिरहेका छन् । खस्कदै गएको पार्टीको साख जोगाउने र पार्टीलाई जनतासँग जोेडेर बलियो बनाउनेगरी गत भदौ १६ गतेबाट देशभर यो अभियान सञ्चालन भएको हो । जिल्ला संयोजक रोकाले पार्टी सुदृढिकरणमा केन्द्रित अभियानले श्रमदान मार्फत गाउँमा तीन महिनासम्म विकासका कामहरुलाई पनि साथसाथै जोड्ने बताउनुभयो । 

375858768_338158305314581_4530381151512840163_n1694310352.jpg
बाँफिकोटमा गोरेटो बाटो बनाउँदै माओवादी कार्यकर्ताहरु । 

अभियानमा संगठन बिस्तार, जनवर्गिय संगठन निर्माण तथा पुनर्गठन, सदस्यता वितरण तथा नविकरण, जनभेटघाट, छलफलका कार्यक्रमहरु भईरहेका छन् । यो अभियानका लागि पार्टीले गगन खड्कालाई जिल्ला ईन्चार्जको रुपमा खटाएको छ भने जिल्लाले पालिकाको ईन्चार्जमा ६ जना केन्द्रिय सदस्यहरु र ७३ वटा वडामा प्रदेश तथा जिल्ला कमिटिका नेताहरुलाई खटाएको छ । 

अभियानमा खटिएको टोलीले मन्दिर, बिद्यालय, सडक लगायतका स्थान सरसफाई र मर्मत गर्ने काम गरिरहेको छ । टाेलीले आठविसकोट नगरपालिका –४ मा हावाहुरीको कारण भत्किएका स्थानीय टीका बि.क. र सुनिता बि.क.को घर पनि श्रमदान मार्फत निर्माण गरेकाे छ । 

त्रिवेणी गाउँपालिका वडा नम्वर १ मा अभियानको ईन्चार्जको रुपमा खटिनुभएका माओवादीका कर्णाली प्रदेश कमिटी सदस्य श्रीकुमार कठायतले सरकारले गरेका राम्रा कामहरुका बारेमा जनतालाई बुझाउने, जनताका समस्या सुन्ने र छलफल गर्ने, तत्काल स्थानीय सरकारको ध्यानाकर्षण गराउने काम पनि भईरहेको बताउनुभयो । 

माओवादीको शक्ति जोगाउने र उत्साह बढाउने यस अभियानमा सामाजिक कार्यमा श्रम गर्नसमेत जोड दिईएको उहाँको भनाई छ । जनपक्षिय काममा माओवादी संलग्नता प्रष्ट पार्ने काम भएकोले गाउँमा उत्साह जगाईरहेको र विकासका काममा समेत सहकार्य भईरेहेको कठायतले उल्लेख गर्नुभयो । 

तीन महिने यस अभियानमा माओवादी निकट बिभिन्न संगसंठनहरु समेत परिचालन भएका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्