रुकुम पश्चिम कप भलिबलमा झण्डै १८ लाख खर्च, आयोजकलाई करिब १० लाख घाटा

२०८० वैशाख २८

रुकुम पश्चिम / कर्णाली प्रदेशमै सर्वाधिक राशिको रुकुम कप भलिबल प्रतियोगितामा करिब १८ लाख रकम खर्च भएको छ ।

प्रतियोगिता आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले बिहिबार मुसिकोटमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । वैशाख १८ देखि २४ गतेसम्म रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहाटाकुरामा संचालन भएको उक्त प्रतियोगितामा १७ लाख ७८ हजार रुपियाँ खर्च भएको आयोजक केन्द्रका अध्यक्ष तेजबिक्रम बिएमले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा ६ लाख ९१ हजार २९० रुपैंया आम्दानी भएको छ । एक लाख रुपियाँ भने उठ्न बाँकि रहेको बताईएको छ । आम्दानी तर्फ टिकट शुल्कबाट तीन लाख २१ हजार, सहयोगी दाताबाट दुई लाख, टिम दर्ताबाट एक लाख पाँच हजार र सहयोग रसिदबाट ६५ हजार २९० रकम उठेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

खर्च मध्य नौ लाख ८६ हजार ७१० रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष बिएमले जानकारी दिनुभयो । उहाँका अनुसार करकट्टी गरेर पुरस्कारमा ७ लाख ६२ हजार ५ सय, घेराबार, टेन्ट, मञ्च निर्माण र साउण्डमा ४ लाख, रेफ्रि भत्ता १ लाख ५० हजार, खेलाडी खाना तथा वासका लागि ९० हजार, स्वयंसेवक खाना तथा खाजा खर्च ६० हजार, स्वयंसेवक भत्ता ५० हजार र झण्डा, व्यानर, आइडी कार्डमा ४५ हजार खर्च भएको छ ।

त्यसैगरी अन्य खर्चमा कप, मेडल, प्रमाणपत्र, सम्मान पत्रमा ४३ हजार, रेफ्रि बस्न खान ४० हजार, प्रचारप्रसार ४० हजार, बल, नेट, स्टेशनरी ३५ हजार, नगरपालिकामा कर ३५ हजार, पानी ३० हजार, फिल्ड निर्माण २० हजार र टिकट प्रिन्टमा ७ हजार रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख, उप विजेताले २ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ टिमले समान १–१ लाख पुरस्कार पाएका थिए । प्रतियोगिताको उपाधि आयोजक रुकुम पश्चिमले जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्