नेभिगेशन
समाज

सानीभेरीको सिम्ली बजारमा अनुगमन, साढे ३५ हजारका म्याद गुज्रिएका सामान नष्ट

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सिम्ली बजारमा अनुगमन गरिएको छ ।

बिहीबार (कात्तिक १२ गते) सानीभेरी गाउँपालिकाको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा  करिब ३५ हजार ६ सय ५५ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हाे ।विभिन्न पसलबाट बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमन टोलीले सिम्ली बजारमा सञ्चालित होटल, खाद्य तथा किराना पसल, फेन्सी पसल, चाउमिन तथा बेकरी उद्योग, कस्मेटिक र हार्डवेयर पसललगायतका व्यवसायको अनुगमन गरेको थियो।अनुगमनका क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका सामग्री फेला परेपछि बरामद गरी नष्ट गरिएको हो।

उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण, बजारमा बिक्रीवितरण हुने वस्तु तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने र बजारलाई व्यवस्थित बनाउने उद्देश्यले संयुक्त अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।अनुगमनका क्रममा उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, म्याद सकिएका सामग्रीको बिक्रीवितरण तथा व्यवसाय सञ्चालनको अवस्थालाई प्राथमिकतामा राखिएको थियो।

स्थानीय बजारमा गुणस्तरीय सामग्रीको बिक्रीवितरणलाई प्रोत्साहन गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्न यस्ता अनुगमनले सहयोग पुग्ने अपेक्षा गरिएको छ।गाउँपालिका र सरोकारवाला निकायको संयुक्त पहलमा गरिएको अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्तामा समेत सचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज