नेभिगेशन
समाज

शीतल चौरजहारी बी-६७ ले मर्मत गर्यो जोखिमपूर्ण बाटो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ नयाँ बजारको उकालो भागमा बिग्रेका बाटो मर्मत गरिएको छ । 

शीतल चौरजहारी बी - ६७ को पहलकदमी तथा अगुवाईमा उक्त बाटो मर्मत गरिएको हो । मुख्य बजार क्षेत्रको बाटो बिग्रिएपछि दुर्घटनाकाे जोखिम बढेको थियो ।

बी-६७ का सदस्य गणेश बुढाले नयाँ शहर उन्मुख शहरको मध्य भागको बाटो जोखिमपूर्ण बन्दै गएको अवस्थामा सरोकारवाला निकायबाट मर्मतको काम नभएपछि तत्कालको लागि मर्मत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न व्यक्तिहरुसँगको समन्वयमा सामाग्रीहरु व्यवस्थापन गरेर अप्ठ्यारो बन्दै गएको सडक मर्मत गरिएको हो । सदस्य बुढाले हालको मर्मत कार्यले तत्कालको लागि समस्या समाधान भएको तर दिर्घकालिन योजना आवश्यक भएको बताउनुभयो । 

सडक मर्मतका लागि आवश्यक सिमेन्ट, गिठ्ठी, बालुवा तथा अन्य सामाग्रीहरु बी -६७ को समन्वय तथा अगुवाईमा विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको थियो । संस्थाले ज्यामी खर्च व्यवस्थापन गरेर गएराती उक्त बाटो मर्मत गरेको हो । 

बसपार्कबाट उकालोतर्फको सडकमा गरिएको आरसिसी विभिन्न स्थानमा उप्किदा खाल्डाखुल्डी पर्नुका साथै सडकमा प्रयोग भएको छडले थप जोखिम बढाएको थियो । सर्वसाधारणहरुले यस क्षेत्रमा आउजाउ गर्न समेत जोखिम भएको भन्दै गुनासो गर्ने गरेका थिए ।

बि -६७ का तिलक लामिछानेले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व ठानेर सडक मर्मत गरेको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको बेला बजारको मुख्य सडक जोखिमपुर्ण बन्दै गएपछि तत्कालको लागि मर्मत गरिएको छ । 

सडक जोखिमपूर्ण बनेको बिषयमा मूलपाटी डटकमले फेसबुकमा एक भिडियो पोस्ट गरेर सरोकारवालाको ध्यानाकर्षण समेत गराएको थियो । 
मर्मत अघिको सडकको भिडियो हेरौं :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज