नेभिगेशन
राजनीति

महाधिवेशनको तयारीमा जुट्यो रुकुम काँग्रेस

आसन्न असोज ३ गते देखि सुरु हुने नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गतका गतिविधिहरु रुकुम पश्चिममा तिब्र हुन थालेका छन् । सोहि क्रममा आज जिल्ला पार्टी कार्यालयमा वडा, पालिका तथा क्षेत्रीय सभा प्रतिनिधिहरुको अधिवेशनलाई लक्षित जिल्ला कार्य समितिको बैठक प्रारम्भ भएको छ । 

पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा बसेको बैठम वडा, पालिका र प्रदेश सभा प्रतिनिधि चयनको लागि हुने अधिवेशनमा केन्द्रित भएको पार्टीका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने र आवश्यक तयारी अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको छ। जिम्मेवारी बाँडफाँडको टुंगो लगाउन भोली बुधबारका दिन पुनः बैठक बस्ने छ । 

आजको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिकाका सभापति, क्षेत्रीय सभापति लगायत अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । बैठकमा विभिन्न नेताहरुले अधिवेशनको बिषयमा धारणा राख्ने काम भएको प्रवक्ता ओलीले जानकारी दिनुभयो । 

आजको बैठक सँगै वडा, पालिका, प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयनको बिषयमा समेत चर्चा हुन थालेको छ ।  

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुने तयारी रहेको छ । जस अन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति