पर्यटनका रुपमा घुम्नु केवल यात्रा मात्र होइन - यात्राका क्रममा भेटिने पात्र, भूगोल, परिवेश, कौतहलता र यथार्थको संयोजन हो । दैनिक जीवनका क्रियाकलापबाट अलग भएर नयाँ ठाउँमा गुम्न जाने प्रवृत्ति बढ्दै गएको छ ।
विगतमा सडक यातायातको पहुँच विस्तार नहुँदा चाहेर पनि घुम्न जान सम्भव थिएन । एकातिर घण्टौं हिडेर पुग्न असम्भव त अर्कोतिर आम्दानीका स्रोत न्यून हुँदा घुम्ने रहरहरू केवल रहरमै सीमित थिए ।
समय बदलिएको छ । यातायातको पहुँच सहज भएको छ । आम्दानीका विभिन्न स्रोतहरू बढ्दै गएका छन् । घुम्न जाने नयाँ गणतव्यको खोजी दिन प्रतिदिन बढ्दै गएको छ । यसै सन्दर्भमा श्रावण महिनाको दोस्रो साताको शनिवार र आइतबारको दुई दिने हाम्रो बिदा ढोरपाटन विशेष बन्न पुगेको छ । रुकुम पश्चिमको चौरजहारीदेखि बाग्लुङ ढोरपाटनसम्मको यात्राका अनुभव र अनुभूतिहरू यस लेखमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
शुक्रबार नै दुई दिने बिदालाई घुम्न गएर सदुपयोग गर्ने योजना साथीहरू बिच बनिसकेको रहेछ । सन्देश गिरी, देव बटाला, कृष्ण शर्मा, धर्मराज विष्ट, सुनिल बि।सी। र देव रोकाय बिच घुम्ने योजना बनेको रहेछ । म आफ्नै नियमित कामकाजको धुनमा थिएँ । बिदालाई घरमै आनन्दसँग बिताउन मन लाग्ने मलाई त्यही सोचमा थिएँ ।
सबै जना कार्यकक्षमा आएर तपाईं पनि घुम्न जानुपर्यो भन्दै अनुरोध गर्नुभयो । युवा मान्छेहरू तपाईंहरू जानुहोस् । म घरमै बसेर बिदाको भरपुर उपयोग गर्ने सोचमा छु भनेर कन्भिन्स गर्ने प्रयास गरे । जसरी पनि जानुपर्छ तपाईं भए यात्रा रमाइलो हुन्छ भन्दै पटक पटक अनुरोध गरेपछि विचार गरौंला भनेर उहाँहरूलाई पन्छाउने प्रयास गरे ।
भाडामा लिने गाडीको व्यवस्थापन देखि शनिबार बिहान ७ बजे नै हिड्ने गरी मिति, स्थान र समय समेत निर्धारण भइसकेछ । "बाटो खराव रहेछ । अस्ति मात्र भर्खर ढोरपाटन गएर आएका ल्त्ख् कोहलपुरमा कार्यरत भान्ज रुपेश बुढाथोकीलाई बुझिसकें । स्यार्पु ताल घुमेर आए हुन्छ भनेर सुझाव दिए ।"
शनिबार बिहान ६ बजे नै इन्जिनयर सन्देश गिरी सरको फोन आयो । "सर तयार हुनुभयो रु हामी त तयार भइसक्यौं ।" उहाँले भन्नुभयो । "मेरो केही तयारी गरेको छैन । अरु साथीहरूको अवस्था के छ ? बाटो खराव छ रे सायद नजाने हुन्छ होला । जाने नै भए स्यार्यु घुमेर आउनुहोस् ।" मैंले भने ।
टोलीले सबै निर्धारित स्थानमा पुगेर मलाई रिसिभ नै गर्न भनेर कोठामा गाडी पठाइ सकेछ । सबै जनाको एक एक फोन आउन थाल्यो । मन नलागी नलागी एक र दुई वटा कपडा झोलामा कोचेर यात्रा तय गरियो । "बाटो खराव छ रे ! स्यार्पु घुमेर आऔं" मैंले फेरि भने । टोली मान्ने पक्षमा थिएन । गन्तव्य निर्धारण भएपछि जसरी पनि पुग्नुपर्छ सबै जनाले भन्न थाले ।
चौरजहारीबाट हाम्रो यात्रा चाइना बगर, सिम्ली बजार, माछिमी हुँदै मुसीकोट पुग्यो । मुसीकोट हामी साढे एक घण्टामा पुग्यौं । शीतल पोखरी, साँझ हुँदै रुकुम पश्चिम र रुकुम पूर्वको सीमा क्षेत्रमा पुगेर गाडी रोकियो ।
स्थानीय खड्कबहादुर खड्कासँग भलाकुसारी भयो । आरु, नासपती लगातका आफ्नै वारीमा ताजा फलफूल खुलाएर स्वागत गर्नुभयो । आरु, नास्पतीको पैसा लिनुहोस् भन्दा पनि लिन मान्नु भएन । पाहुँनाको रुपमा फलफूल खुवाउन पाउँदा खुसी लागेको बताउनु भयो । बरु बाटोमा समेत खाने गरी नास्पती लैजान बाध्य बनाउनु भयो । गाउँमा बस्ने आमाबुवाको झल्को मेटाउने उहाँसँगको संवादसहितको भिडियो बनायौं ।
हामी रुकुमकोट पुग्यौं । रुकुमकोट कमल तालमा पुगे पछि जो कोही पनि फोटोका साथै टिकटक र रिल्सका लागि भिडियो नबाएर कोही पनि फर्किदैन । कमल तालमा कमल हरियाली बनेको सुन्दर दृश्य अवलोकन गर्दै हामीले पनि सामूहिक र एकल फोटो र भिडियो खिच्यौं । रुकुम मैकोट बोलको गीतमा भिडियो बनायौं ।
खानाको बन्दोबस्त कमल ताल होटेलमा फोन मार्फत् मिलाइएको थियो । थोरै उकालो चढेर कमल ताल होटेल पुग्यौं । होटेल सञ्चालकको स्वागत सत्कारपछि रमाइला किस्सा सुन्दै र सुनाउँदै आराम साथ हामीले खाना खायौं ।
रुकुमकोटबाट हाम्रो यात्रा अघि बढ्यो । राप्ती हाइड्रोपावर, भूमे गाउँपालिका केन्द्र, खाबाङ बजार हुँदै लुगुम पुगेर विश्राम गर्यौं । स्थानीय कुमार पुनसँग साक्षात्कार गर्यौं ।
लु भनेको भेडाको ऊन र गुम भनेको सिरानी अर्थात् भेडाको ऊनबाट सिरानी लगायतका बस्तु उत्पादन गर्ने ठाउँबाट लुगुम नामाकरण भएको समेत उहाँले बताउनु भयो ।
स्थानीय परिवेश, भाषा संस्कृतिको जानकारी लिंदै फोटो भिडियो खिचेर हाम्रो यात्रा अघि बढ्यो ।
पानी पर्न थालेकोले रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्र पातिहाल्नामा नबसेर हामी बाग्लुङको निसीखोला गाउँपालिका क्षेत्र प्रवेश गर्यौं । गाउँपालिकाले प्रत्येक वडाको सीमा क्षेत्र आरम्भ र समाप्तको जानकारी गराएको रहेछ। सीसी क्यामेराको जडानले सुरक्षा व्यवस्थापनमा राम्रो पहल गरेको सिकाइ भयो ।
निसीखोला गाउँपालिकाको भूगोल र विकास पूर्वाधारका दृश्यहरू अवलोकन गर्दै हामी बुर्तिबाङ प्रवेश गर्यौं । चौरजहारी जस्तै पुष्पलाल लोक मार्ग अन्तर्गत पर्ने नयाँ सहर आयोजना मध्येको एक बुर्तिबाङ पनि हो । त्यसैले मेरो चासो र जिज्ञासा त्यहाँको भौगोलिक परिवेश र नयाँ सहर विकासको सम्भावना र पूर्वाधार अवस्था बारे जानकारी लिनुमा पनि थियो ।
बुर्तिबाङबाट हाम्रो यात्रा बाँयातर्फ मोडियो । जहाँ हामीलाई आकर्षक पर्यटकीय गन्तन्वय ढोरपाटन उपत्यका पुग्नु थियो । ३६ किलोमिटरको कच्ची सडक, बोबाङ गाउँ हुँदै बस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली पुगिन्छ । सडक निर्माणका क्रममा रहेकोले वर्षाका कारण हिलाम्य सडक र हाम्रो गाडी फोर ह्विलवाला नभएपछि फल्लेगारबाट हिड्नुपर्ने भयो ।
बर्सादीको बन्दोबस्त मिलायौं । सिमसिम पानी परिरहेको थियो । खोला र छहरामा पानी बगेको आवाज आइरहेको थियो । कहिले छोटो बाटो त कहिले सडक सडक हुँदै अगाडि बढ्यौं । वर्षामा जुकाले रगत चुस्ने डर हुँदो रहेछ । सुरुमा त हामीलाई जुका भन्ने थाहा भएन । बुझ्दै जाँदा जुका जुत्ताभित्र पसेर रगत चुस्न थालेपछि करायौं । असाध्यै डर लाग्यो । म त एक फिट उफ्रेर भाग्न थाले ।
बाटोमा दुई रचार वटा घरहरू पनि भेटिए । एउटा घरमा भयंकर डर लाग्दो जारे कुकुर रहेछ । जुकाको डरले नयाँ बाटो हिड्नेको कुकुर भएको घरमा पुगिएछ । ठूलो आवाजमा कुकुर भुकेर आक्रमण गर्न थाले जस्तो भएपछि दौडेर सडकमा पुग्यौं । कुकुर साङ्लोले बाँधेको भएर बाँचियो । नबाँधेको भए आक्रमण गर्ने निश्चित जस्तै थियो । हस्याङफस्याङ गर्दै रुद्र तालको छेउमा पुग्यौं । स्थानीय होटेलमा सामान्य खानापछि गाडीको बन्दोवस्त गरी झिसमिरेसँगै देउराली हुँदै ढोरपाटन उपत्यका पुग्यौं । शनिवारको रात ढोरपाटन कम्युनिटी होटेलमा बास बस्ने बन्दोस्त मिलायौं ।
होटेलमा बसाइ व्यवस्थापन पछि खाना तयारी हुँदै थियो । टोलीले नाचगान गर्दै भरपूर मनोरञ्जन गर्ने योजना बनायो । स्थानीय बाद्यवादनका सामग्रीसहित मौलिक गीत गाउँदै रमाइलो सुरु भयो । कसैले मादल त कसैले गीत कसैले ताली त कसैली बाँसुरी फुक्न थाल्यौं । खाना खाएपछि पनि विभिन्न गीतमा नाचेर रमाइलो गर्यौं । चिसो हावापानी फागुन महिनाको जस्तो अनुभूति भइरहेको थियो ।
रुकुम पूर्व, म्याग्दी, बागलुङ गरी तीन जिल्लाको १ हजार ३ सय पच्चीस वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय ढोरपाटन नगरपालिका -९, मा रहेको छ । बुर्तिबाङबाट करिव २ घण्टामै ढोरपाटन उपत्यका पुग्न सकिन्छ । ढोरपाटन पुगेपछि गुर्जाघाट हुँदै जलजला पुग्न थप २२ किलोमिटरको कच्ची सडक रहेछ ।
उत्तरगंगा नदी किनार हुँदै जलजला पुगेपछि नजिकबाट दर्जनौं हिमश्रृंखला नियाल्न सकिदो रहेछ । बुकी पुग्न भने थप एक दिनको पैदल यात्रा गर्नुपर्दो रहेछ । समुद्री सतहबाट दई हजार आठ सय ५० मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइमा रहेको यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । दुर्लभ एवम् संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरसहित एक सय ६४ प्रजातिका चरा पाइने यस क्षेत्रमा पुथा। चुरेन र गुर्जा हिमाल पनि रहेका छन् ।
आइतबार बिहानै ढोरपाटन उपत्यका तिर निस्कियौं । वरपरका सुन्दर वस्ती, शान्त वातावरण, चिसो हावा, निश्चल बगिरहेको उत्तरगंगाको दृश्य निकै मनमोहक थियो । उपत्यका भरी फूलेका राता र पहेला फूलहरू, आँखाले भ्याउन सकेजति हेर्न मिल्ने सुन्दर फाँटले स्वार्थी संसारको दुनियाँबाट अलग भएको अनुभूति भइरहेको थियो ।
विगतमा एयरपोर्ट समेत रहेको र हाल बन्द अवस्थामा देख्दा भने यत्तिको पर्यटकीय गणतव्यको ठाउँमा एयरपोर्ट सञ्चालन गर्न केले छेकेको होला रु प्रश्न मनमा उद्देलित भयो । उपत्यका आसपास वासीलाई पर्यटकहरूलाई घोडा चढ्न दिएर मनोरञ्जन दिने मुख्य आम्दानीको स्रोत रहेछ । विद्यालय पढ्नेदेखि युवाहरू सबै घोडा लिएर बिहानै उपत्यका पुग्दा रहेछन् ।
घोडा चढेर फोटो खिच्ने मनसायका साथ सबै जना घोडा चढ्यौं । त्यसैबखत थोरै घोडा हिडाउन मन लाग्यो । अलि परसम्म गयौं । थोरै दौडाने प्रयास समेत गर्दा निकै खुसी महसुस भयो । प्रशस्तै फोटो भिडियो खिच्यौं । घोडा चढ्दाको आन्नन्द बेग्लै थियो । मनले मानेमा फेरि घोडा चढेर कुदाने सल्लाह भयो । सबै जना चढ्यौं ।
सकेजति घोडा दौडाएर तेस्रो पटक समेत घोडा चढेर भुरपुर मनोरञ्जन प्राप्त गर्यौं । फोटोमा सिमीत गर्ने भनेको घोडा चढाइ तीव्र गतिमा घोडा कुदानउन थालेपछि निकै खुसी र आनन्दको महुसुस भयो । ढोरवराह मन्दिरको दर्शन समेत गरेर मनोकाङ्क्षा पूरा होस् भनि प्रार्थना गर्यौं ।
खाना आएर वरपरका दृश्यहरू नियाल्दै देउरालीतर्फको यात्रा तय गर्यौं । चौरजहारी बेलुका पुग्नु थियो । करिव एक बजी सकेको थियो । छोटो बाटो ओरालोमा सिमसिम पानीको साथ फल्लेगार जहाँ गाडी छोड्का थियौं । करिब ४० मिनेटको आरोलो यात्रापछि तल पुग्यौं । रमाइला किस्सा, गीत गाउँदै, बिचबिचमा नाच्दै, बाल्यकालका स्मृतिहरू सुन्दै र सुनाउँदै पुष्पलाल लोकमार्ग हुँदै हामी राती ९ बजे चौरजहारी पुग्यौं ।
जाऔं कि नजाऔं भन्दै तय गरेको यात्रा निकै रमाइलो र स्मरणीय बन्यो । नियमित कार्यलाई थाँती राखेर गरेको यात्राले नयाँ परिवेशको जानकारी र आनन्द दिलाउन सफल भयो । यात्राका गीत सङ्गीत, नाचका साथै हाँसी मजाक र ठट्टा सहितका रमाइला पलहरू सधैं स्मरणीय हुनेछन् । सबैलाई मीठो सम्झना !